
काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एएसएटी परीक्षणका क्रममा उपग्रहलाई खसाउन भारतले सफलता पाएको घोषणा बुधवार गरेका छन् । यसअघि यो उपलब्धि रुस, अमेरिका र चीनले मात्र प्राप्त गरेको उनको भनाइ छ ।
यस परीक्षणपछि भारतले संसारभरि आफ्नो रणनीतिक क्षमता देखाएको बताइएको छ ।
अन्तरिक्षको क्षेत्रमा यस उपलब्धिका साथै भारतले अन्तरिक्षमा शत्रुलाई तारो बनाउन सक्ने भएको छ ।
भारतले चीनलाई अन्तरिक्षमा प्रतिस्पर्धा गर्ने क्षमता राखेको यसबाट देखिएको छ । भारतले लो अर्बिटमा एएसएटीको सहायतामा उपग्रहलाई खसाएको हो । उक्त क्षेत्रमा पृथ्वीको सर्वेक्षण गर्ने धेरैजसो भूउपग्रहले काम गर्छन् । नेभिगेसन र जासूसीका लागि तैनाथ भूउपग्रह त्यहीँ छन् ।
यस क्षमतासँगै भारतले अन्तरिक्षमा शत्रु देशका सञ्चार र जासूसी भूउपग्रहलाई नष्ट गरेर उनीहरूलाई पंगु बनाउन सक्छ ।
जापानको होकाइडो विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक तथा अन्तरिक्ष सुरक्षा विशेषज्ञ काजुतो सुजुकीले न्युयोर्क टाइम्ससँगको कुराकानीमा भने, ‘भारतको परीक्षण स्पष्ट रूपमा चीनविरुद्धको शक्तिप्रदर्शन थियो । यो प्रविधिको थप विस्तार हुँदा अन्तरिक्षमा अस्थिरता उत्पन्न हुन्छ ।’
त्यसो त भूउपग्रहलाई खसाउन त्यति सहज छैन । भारतले खसाएको भूउपग्रह पृथ्वीनजिक १७ हजार माइल प्रतिघन्टाको गतिले फन्को लगाइरहेको वैज्ञानिकहरूको अनुमान छ ।
एयर फोर्स स्पेस कमान्डका भाइस कमान्डर जनरल टम्सनले भने, ‘भारतले परीक्षणकका क्रममा टार्गेटमा निशाना लगायो र भूउपग्रहको २७० टुक्रा भयो । अहिले अन्तर्राष्ट्रिय स्पेस स्टेसनलाई कुनै खतरा छैन ।’
एजेन्सी