२२ असार २०८३, सोमबार

एसईईको प्रश्न बाहिरिएको विषय छानबिनको जिम्मा सीआईबीलाई, भोलिको प्रश्न रुजु गरिँदै

एसईईको प्रश्न बाहिरिएको विषय छानबिनको जिम्मा सीआईबीलाई, भोलिको प्रश्न रुजु गरिँदै
परीक्षा रद्द भएपछि वीरगञ्जमा प्रदर्शनमा उत्रिएका विद्यार्थी

काठमाडौं – सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षामा भएका अनियमिताको छानबिन गर्ने जिम्मेवारी नेपाल प्रहरी केन्द्रीय अनुसन्धान विभाग (सीआईबी) लाई दिने निर्णय गरेको छ । 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा मन्त्रालयमा शुक्रवार बसेको एसईई सुरक्षा समितिको बैठकले अहिलेसम्म भएका एसईई परीक्षामा भएको अनियमिताको छानबिन गर्ने जिम्मेवारी सीआईबीलाई दिइएको मन्त्रीका स्वकीय सचिव पुरन केसीले जानकारी दिए ।

सीआईबीले अहिलेसम्म भएका अनियमितता र परीक्षा अगावै प्रश्नपत्र बाहिरिएको सम्बन्धमा छानबिन गर्नेछ ।

राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित एसईई परीक्षाको बिहीबार प्रदेश नं.२ मा अनिवार्य विज्ञान विषयको प्रश्नपत्र बाहिरिएको थियो । 

प्रश्नपत्र बाहिरिएपछि उक्त विषयको परीक्षा यही चैत २२ गते तोकिएको छ । यस्तै बैठकले ७७ जिल्लामा अबदेखि सञ्चालन हुने विषयको अघिल्लो दिन नै मुचुल्का जाँच गर्ने भएको छ । 

शनिबार अनिवार्य स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा, वेदविद्याश्रमतर्फ कर्मकाण्ड- फलित ज्योतिष, संस्कृततर्फ अनिवार्य संस्कृत भाषा, प्राविधिकतर्फ कृषि तथा माछापालन, इलेक्ट्रिकल व्यवस्थापन र उपकरण, कम्प्युटर तथा सर्भे इञ्जिनीयर र म्युजिक अफ नेपाल विषयको परीक्षा हुनेछ । 

शनिबार हुने ती विषयको प्रश्नपत्र ठीक छ वा छैन भनेर आज साँझ ६ बजेसम्म मुचुल्का परीक्षण गर्ने निर्णय गरिएको स्वकीय सचिव केसीले बताए । देशभर यही चैत १० गतेदेखि शुरू भएको परीक्षा २१ गतेसम्म चल्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्