
बुटवल- बुटवल उपमहानगरपालिकाले नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न अनुगमन समिति बनाएको छ । वातावरणीय प्रभाव मूल्यांकनका आधारमा मात्रै नदीजन्य वस्तु उत्खनन् गर्नेगरी बुटवलले समुदायसमेतको सहभागिताको अनुगमन समिति बनाएको हो ।
बुटवलका तिनाउ र दानव नदीमा वातावरणीय प्रभाव मूल्यांकन गरिएका ठाउँको उत्खननका लागि पनि उक्त अनुगमन समितिले नियमित अनुगमन र निगरानी गर्नेछ । अवैज्ञानिक दोहन, जथाभावी उत्खनन् तथा चोरी निकासी रोक्नका लागि विज्ञसहितको सर्वपक्षीय अनुगमन समिति बनाइएको बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।
बुटवलका तिनाउ र दानव नदीमा ठाउँ तोकेर मात्रै खोलामा ढुङ्गा, गिट्टी उत्खननका लागि अनुमति दिइएको र त्यस अनुरुप काम भए नभएको बारेमा प्रभावकारी अनुगमनका लागि समिति बनाइएको प्रमुख सुवेदीले बताए ।
अवैध उत्खनन् नरोकिएको गुनासो आइरहेको बेलामा बुटवलमा भने समुदाय समेतको सहभागितामा विज्ञ र सुरक्षा निकायहरु रहेको अनुगमन समिति निर्माण गरिएको उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए ।
उपमहानगरले यसलाई प्रभावकारी बनाउन कार्यपालिकामार्फत अनुगमन समिति गठन तथा कार्यशर्त निर्धारण सम्बन्धी निर्देशन–२०७५ समेत बनाएर लागू गरिसकेको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताए ।
शर्मा हालै मात्र बुटवलमा समायोजन भइ आएका हुन् । उनलाई वातावरण तथा विपद् व्यवस्थापन विज्ञका रुपमा पनि लिइन्छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा उपसचिव पदमा रहेका बेलामा शर्माले नै हाल कार्यान्वयनमा रहेको वातावरणमैत्री स्थानीय शासन प्रारूप–२०७० बनाउने कामको नेतृत्व गरेका थिए ।