कश्मीरका विषयमा कूटनीतिक पहल गर्न पाकिस्तानलाई मुस्लिम देशहरूको आग्रह

काठमाडौं – भारत सरकारले जम्मु–कश्मीर सम्बन्धी धारा ३७० हटाएपछि पाकिस्तानले संसारका सबै मुलुकलाई यसको विरोध गर्न आग्रह गरेको छ ।

तर चीनबाहेक कुनै पनि प्रमुख देशले उसको साथ दिएन । अहिले आएर साउदी अरब र संयुक्त अरब अमिरात जस्ता प्रभावशाली मुस्लिम देशहरूले पाकिस्तानलाई भारतसँग कूटनीतिक पहल थाल्न भनेका छन् । अनि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध कडा भाषा प्रयोग नगर्न पनि उनीहरूले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई चेताएका छन् । 


Advertisement

पाकिस्तानी पत्रिका एक्सप्रेस ट्रिब्युनमा छापिएको खबरअनुसार, सेप्टेम्बर ३ मा साउदी अरबका परराष्ट्रमन्त्री आदिल अल जुबैर र यूएईका परराष्ट्रमन्त्री अब्दुल्ला बिन अल नाहयान इस्लामाबाद भ्रमणमा आफ्नो नेतृत्वका अन्य शक्तिशाली देशको तर्फबाट सन्देश लिएर आएका थिए । उनीहरूले पाकिस्तानलाई भारतसँग अनौपचारिक कुराकानी थाल्न भने । एकदिवसीय यात्रामा उनीहरूले इमरान खान, परराष्ट्रमन्त्री महमूद कुरैशी र सेनाप्रमुख जनरल कमर जावेद बाजवाले भेटघाट गरे ।

पत्रिकाका अनुसार, कुराकानी अत्यन्तै गोपनीय थियो र परराष्ट्र मन्त्रालयका शीर्ष अधिकारीलाई मात्र बैठकमा जान दिइएको थियो । साउदी अरब र यूएईका कूटनीतिकर्मीहरूले पाकिस्तान र भारतबीच तनाव कम गर्नका लागि भूमिका निर्वाह गर्न चाहेको बताइएको छ । दुई देशबीच पर्दापछाडि कुराकानी गर्ने प्रस्ताव पनि छ ।

मध्यस्थकर्ताहरूले कश्मीरमा केही नियन्त्रण खुकुलो बनाउनका लागि भारतलाई मनाउन कोशिश गर्न सक्ने तर मोदीमाथिको शाब्दिक आक्रमण बन्द गर्नुपर्ने बताएका छन् । 

पाकिस्तानले उनीहरूको अनुरोध अस्वीकार गरिदियो र भारतसँग कूटनीतिक पहल गर्नका दिल्ली नयाँ दिल्लीले केही शर्त मान्नुपर्ने बतायो । कश्मीरमा कर्फ्यु र अन्य नियन्त्रण हटाउनुपर्ने शर्त पनि यसमा समावेश छ ।

एजेन्सी

कमेन्ट गर्नुहोस्