जनस्वास्थ्यमा नोवल कोरोनाको चुनौती, सङ्क्रमणबाट जोगिन यसो गरौं

इ.सं. २०१९ डिसेम्बर ३१ मा छिमेकी मित्रराष्ट्र चीनमा पत्ता लागेको नोवल कोरोना भाइरस, कोरोना समूहको नयाँ प्रजाति हो ।

नोवल कोरोना भाइरस एक प्रकारको भाइरस (विषाणुहरूको समूह) हो । जुन मानिस, पशु र पन्छीमा पाइन्छ । यो कोरोना भाइरस सन् १९६० मा पत्ता लागेको हो । यसका धेरै प्रकारमध्ये हालसम्म मानिसमा सात प्रकारका कोरोना भाइरसको सङ्क्रमण देखिएको छ जस्तैः सार्स, मर्स र भर्खरै पत्ता लागेको नोवल कोरोना भाइरस ।


Advertisement

यी भाइरसले मूलतः श्वासप्रश्वास प्रणालीमा सङ्क्रमण गरी रुघाखोकी र निमोनिया गराउँछन् । यी सबै भाइरस पशुपन्छीबाट मानिसमा सरेर मानिसलाई सङ्क्रमित गराउँछन् । हाल पत्ता लागेको कोरोना भाइरस पनि पशुबाट मानिसमा र मानिसबाट मानिसमा सरेको पुष्टि भएको छ ।

छोटो समयमै मानिसबाट मानिसमा सङ्क्रमण भएर समुदायलाई नै असर गरेको सङ्क्रमित व्यक्तिहरूमा ज्यानै जानेसक्ने गम्भीर समस्या देखापर्ने, लक्षण देखिनुभन्दा अगाडि नै एक व्यक्तिबाट अर्को व्यक्तिमा सङ्क्रमण फैलिने भएकाले यो जनस्वास्थ्यको गम्भीर चासोको विषय बनेको छ । सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन भन्ने अमेरिकी संस्थाले यस अवस्थालाई जनस्वास्थ्यका लागि अत्यन्तै गम्भीर चुनौती भनेको छ । माघ १३ गतेको साँझसम्म सी.एन.एन.का अनुसार चीनमा ८० जनाको मृत्यु भइसकेको र २७ सयभन्दा बढी सङ्क्रमित भएको प्रमाणित भइसकेको छ । चीनको हुबेई प्रान्टको वुहान सहरमा देखिएको सङ्क्रमण छोटो अवधिमै संसारका धेरै मुलुकमा फैलिइसकेको छ । विश्व स्वास्थ्य सङ्गठनले चीन धेरै उच्च, क्षेत्रीय स्तरमा उच्च र विश्वस्तरमा मध्यम तहको जोखिममा रहेको भनी जोखिमलाई वर्गीकरण गरेको छ ।


Advertisement

अहिले चीन सरकारले यो भाइरस सङ्क्रमण नियन्त्रण र सङ्क्रमितको उपचारका लागि अलग्गै अस्पताल खोल्ने, अनावश्यक रूपमा घरबाहिर निस्कने र खानपान नगर्ने । लामो दूरीका सार्वजनिक यातायातमा समेत नियन्त्रण गर्नेलगायतका उपाय अवलम्बन गर्नुका साथै वसन्त पर्वको बिदा भए पनि गुणस्तरीय मास्क उत्पादनमा वृद्धि गराउन जनशक्ति परिचालित गरेको छ ।

नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि गरिसकेको छ र सङ्क्रमण नियन्त्रण तथा सतर्कताका लागि आह्वान गरिसकेको छ । कोरोना भाइरसको सङ्क्रमण पछाडि मानिसमा सुरुमा श्वासप्रश्वास प्रणालीसँग सम्बन्धित लक्षणहरू जस्तैः रुघाखोकी, ज्वरो, घाँटी दुख्ने, टाउको दुख्ने जस्ता लक्षण देखिन्छन् ।

रोग बढ्दै जाने क्रममा सास फेर्न कठिनाइ हुने, छिटो छिटो सास फेर्नुपर्ने, जटिल निमोनिया (फोक्सोको सङ्क्रमण) हुने, मिर्गौला र कलेजोले काम गर्न नसकेर मृत्युसमेत हुनसक्छ । प्रारम्भिक तथ्याङ्कले के देखिएको छ भने ७५ प्रतिशतलाई सामान्य रुघाखोकी देखिन्छ, करिब २०–२५ प्रतिशतलाई गम्भीर स्वास्थ्य समस्या देखिन सक्छ । खासगरी वृद्धवृद्धा, बालबालिका, दीर्घ रोगीहरूमा र दुई – तीन प्रतिशतको मृत्युसमेत हुनसक्ने देखिएको छ ।

यो भाइरसको सङ्क्रमणका विरुद्ध कुनै पनि प्रतिजैविक औषधि पत्ता लागेको छैन । सङ्क्रमण भएमा बिरामीको लक्षण अनुसारको, सहयोगी उपचार मात्रै गर्न सकिन्छ । यसको रोकथामका लागि कुनै पनि खोप पत्ता लागेको छैन । त्यसैले यो रोग वा सङ्क्रमण हुनबाट होसियारी अपनाउनु नै जोगिने प्रमुख उपाय हो ।

सङ्क्रमणबाट जोगिने उपाय
नियमित रूपमा साबुनपानीले हात धुने, खोक्दा वा हाछ्यूँ गर्दा नाक र मुख रुमाल वा पाखुराले छोप्ने, रुघाखोकी लागेका व्यक्तिको सीधा सम्पर्कमा नजाने वा टाढै रहनुपर्छ । मासु वा अण्डालाई राम्रोसँग पकाएर मात्रै खाने, पशुपन्छीको असुरक्षित सम्पर्कबाट टाढै रहनुपर्छ । अनावश्यक हात नमिलाउने बरु नमस्कार गर्ने, सार्वजनिक ठाउँमा कम जाने, थुक र सिँगान जथाभावी नफाल्ने, स्वास्थ्यकर्मीले शङ्कास्पद बिरामी भेट्दा वा जाँच गर्दा उपयुक्त सुरक्षा कवच पहिरिनुपर्छ । आवश्यक पर्दा चिकित्सक वा स्वास्थ्यकर्मीको सरसल्लाह लिने र उपयुक्त सतर्कता अपनाउनुपर्छ । तर अनावश्यक रूपमा नआत्तिने गर्नुपर्छ ।

नेपाल सरकारले नोवल कोरोना भाइरसको सङ्क्रमण नफैलियोस्, सुरुमै पत्ता लगाउन सकियोस् र व्यवस्थापन र उपचार गर्न सकियोस् भनेर केही महìवपूर्ण कदम चालेको छ । त्रिभुवन विमानस्थल, चीनबाट नेपाल प्रवेश गर्ने नाका तातोपानी र रसुवागढीमा स्वास्थ्यकर्मीसहितको स्वास्थ्य डेस्कको स्थापना गरिएको छ । त्रिभुवन विमानस्थलमा ज्वरो आएका बिरामी पत्ता लगाउन सजिलो हुने उपकरण थर्मल स्क्यानर राखिएको छ ।

जहाजमा आउने यात्रुको स्वास्थ्य अवस्थाको विवरण अनिवार्यरूपमा भर्ने व्यवस्था गर्नुपर्छ । नेपालभित्रका मुख्य पर्यटकस्थल पोखरा, चितवन, लुम्बिनीजस्ता स्थानमा हेल्थ डेस्कको स्थापना गर्नुपर्छ । शङ्कास्पद बिरामीका लागि आइसोलेसन (अलग्गै) मा राख्न र बिरामी भएमा उपचार गर्न राजधानीका मुख्य पाँचवटा अस्पताल शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, वीर अस्पताल, सिभिल अस्पताल, पाटन र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जलाई पूर्व तयारी अवस्थामा राखिनुपर्छ ।

शङ्कास्पद व्यक्तिहरूको खकार रगत र परीक्षणका लागि लिइएको नमुना जाँच गर्ने व्यवस्था देशभित्रै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा निःशुल्क परीक्षणको व्यवस्था, जनचेतना जगाउने र सही सूचना सम्प्रेषण गर्ने व्यवस्था गरेको देखिन्छ ।

यो नोवल कोरोना भाइरस नयाँ भएकाले यसका बारेमा वैज्ञानिक अध्ययन र अनुसन्धान गरी नयाँ तथ्य आउन बाँकी नै छ । तर यो विश्वका लागि नयाँ खालको जनस्वास्थ्यको समस्याका रूपमा देखिएकाले यसविरुद्धको सचेतनता र सतर्कता अपनाई जोगिनु र जोगाउनु नै अहिलेको चुनौती हो । यो चुनौतीको सामना गर्न राष्ट्रिय र अन्तर्राष्ट्रिय ऐक्यबद्धता आवश्यक छ ।

(बालस्वास्थ्य तथा खोप सेवा शाखा टेकु, काठमाडौँमा कार्यरत डा. झलक गौतमको यो लेख गोरखापत्र दैनिकबाट साभार गरिएको हो  ।)

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्