स्वास्थ्य संस्थामा सुत्केरी गराउने बढे

भदौ ७, २०७६

दमौली – सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराउन महिलाको आकर्षण बढेको छ । 

सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराउनेलाई सरकारले यातायात खर्चस्वरुप राहत रकम उपलब्ध गराएपछि स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलाको आकर्षण बढेको हो ।


ADVERTISEMENT

तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्थित आँबुखैरेनी स्वास्थ्य चौकीमा सुरक्षित सुत्केरी गराउनेको संख्या गत वर्षको तुलनामा वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७४/७५ मा ८६ जनाले सुरक्षित सुत्केरी गराउएको उक्त स्वास्थ्य चौकीमा आर्थिक वर्ष ०७५/७६ मा १ सय ५ जनाले सुरक्षित सुत्केरी गराएको स्वास्थ्य चौकीका इन्चार्ज सिनियर अहेब अगमराज उपाध्यायले जानकारी दिए ।

सरकारी स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी गराउनेलाई संघीय सरकारले यातायात खर्चस्वरुप २ हजार रुपैयाँ उपलब्ध गराउँदै आएकामा आँबुखैरेनी गाउँपालिकाले गत आर्थिक वर्षदेखि थप १ हजार रुपैयाँ उपलब्ध गराएपछि स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलाको आकर्षण बढेको उपाध्यायले बताए ।

त्यसबाहेक सरकारी स्वास्थ्य संस्थामा नियमित ४ पटक गर्भवती जाँच गराउनेलाई थप ८ सय रुपैयाँ र नवजात बच्चाआमा दुवैलाई २/२ जोर कपडा उपलब्ध गराइएको छ ।

उपाध्यायका अनुसार सरकारी स्वास्थ्य संस्थामा सुरक्षित रुपमा सुत्केरी गराउँदा हुने सुरक्षाका बारेमा सचेतना बढेका कारण पनि स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिला बढेका हुन् ।

पृथ्वी राजमार्गसँगै जोडिएको स्वास्थ्यचौकीमा चौबिसै घण्टा सुत्केरी सेवा सञ्चालन गरिएको छ । जुनसुकै समयमा आएपनि सेवा दिने भएका कारण गाउँपालिका बाहेक गोरखाका केही महिलाले समेत यहाँबाट सेवा लिने गरेका छन् । ठूलो बजार क्षेत्र ओगटेको उक्त स्वास्थ्य चौकीमा कोठा र उपकरणको अभाव भएको छ ।

भदौ ७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस