कात्तिक २४, २०८०
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
सूर्यजी, अभिवादन !
तपाईंसँग प्रत्यक्ष भेट, संवाद, हेल्लो–हाई गर्ने अवसर अहिलेसम्म मिलेको छैन । तपाईंसँग भेट्नुपर्ने महान कारणहरू त खासै छैनन्, तर तपाईंजस्तो एक स्थापित लेखक, पत्रकारसँगको भेट कुनैपनि मूल्यमा अनुत्पादक भने हुँदैन । अभिव्यक्ति कलामा सशक्त हुनुहुन्छ । तपाईंबाट हामीले सिक्नुपर्ने, जान्नुपर्ने चिजहरू धेरै छन् । अब तपाईं समाचार बनाउने हैन, समाचारका लागि आवश्यक पात्र बन्नुभयो । अब त तपाईंको समय पनि मिनेटको आधारमा तय हुनेछ । यसकारण मेरा खुद्रा गुनासालाई लिएर आफ्नै नियमित स्तम्भमार्फत् उपस्थित भएको छु ।
सूर्यजी, पछिल्ला दिनहरूमा यो सूर्य थापा नै हैन कि भन्ने जसरी सामाजिक सञ्जालमा, मिडियामा तपाईंले जनयुद्धका विषयमा संकीर्ण, कुत्सित विचारहरू प्रकट गरेको देख्दा मलाई उदेक लाग्यो । कुनैबेला तत्कालीन शाही सेना प्रमुख रुकमाङ्गद कटुवाल भन्ने गर्थे, 'यी साला माओवादीहरू चोर हुन्, जनयुद्धको नाममा नेपालको पहिचान मेट्ने अपराधीलाई कुनै पनि मूल्यमा जीवित राखिन्न । यो जनयुद्ध हैन, चोरहरूको युद्ध हो ।' तर कटुवालको यो भनाई बाध्यकारी थियो । उनीमाथि शाही दबाब थियो । तत्कालीन माओवादीसँग युद्ध लडिरहेका आफ्ना सैनिकहरूको मनोबल बढाउन त्यस्तो भन्नैपर्थ्यो, तर कमरेड दर्ज्यानी चिह्न भिरेका सूर्यजी तपाईंलाई के बाध्यता आइलाग्यो ? कसको मनोबल बढाउनुपर्यो ?
तत्कालीन सत्ता पक्ष र माओवादी पक्षबीच १२ बुँदे सहमति, विस्तृत शान्ति सम्झौता हुँदै संविधान निर्माणसम्म आइपुग्दा जनयुद्ध के थियो र के थिएन भन्ने कुरा सारा पृथ्वीमा रहेका मनुष्य मात्र हैन जीवजन्तुहरू, वनस्पति, जलचर, थलचर सबैलाई थाहा भैसक्यो कि जनयुद्धले नेपालमा कस्तो परिवर्तन ल्यायो भनेर । तर अचानक सूर्यजीले ट्युसन पढाउन पो थाल्नुभयो । तत्कालीन शाही सेना, नेपाली सेनामा रुपान्तरित भए । प्रचण्ड र कटुवाल केमिस्ट्री मिलाएर लञ्च र डिनरमा एकसाथ देखिन थाले । खेलामा धेरै पानी बग्यो तर नेकपाको प्रचार विभाग उपप्रमुख जस्तो जिम्मेवार व्यक्ति तपाईंलाई के भएको हो ? तपाईंले के पुष्टि गर्न खोज्नुभएको हो ? तपाईं त शाहीशैलीमै जनयुद्धको हुर्मत काढ्न नाइटोदेखिको बल निकालेर लाग्नुभएको छ । रुकमाङ्गद कटुवालको शाहीकालीन बिँडो थामिरहनु भएको त हैन ?
सूर्यजी, बाँदर धेरै बाठो भयो भने के हुन्छ भन्ने कुरा त तपाईंलाई पनि थाहा नै छ । जनयुद्ध जनताको जगमा उठेको महान सामाजिक, सांस्कृतिक तथा राजनीतिक क्रान्ति थियो । तपाईंले एकदम बाठो बनेर ट्युसन पढाइरहनु पर्दैन । जसको नुन खएको छ उसैको गुन तिर्नुपर्ने बाध्यता केही सुण्ड–मुसुण्डहरूलाई छ तर सूर्य थापाजीलाई के त्यस्तो गुन फत्ते गर्नुपर्ने भवितव्य आइलाग्यो ? तपाईं त ढाकरमै नुन बोकेर हिँड्नुभएको प्रतित हुन्छ । नेकपाको उदयीमान नेता सूर्यजीको मुखबाट जनयुद्धका बारेमा अपमानजनक शब्दहरू सुन्नुपर्दा भित्रैबाट लाज लाग्ने रहेछ । सरकार सञ्चालन गरिरहेको नेकपाको प्रधानमन्त्रीका प्रेस सल्लाहकारको चिन्तन यसप्रकारको घोर प्रतिगामी, दक्षिणपन्थी होला भनेर पूर्वराजा ज्ञानेन्द्र शाहले पनि शायदै सोचेका थिए होलान् ।
यही फानुन १ गते जनयुद्ध दिवस । जनयुद्ध दिवस मनाउन प्रधानमन्त्री केपी शर्मा ओली हल्ला गरिएजस्तो धुम्बाराही जान सक्नुभएन । प्रधानमन्त्री आउने कुराले त्यहाँ कार्यकर्तामा एकप्रकारको उत्साह जागेको थियो । त्यो उत्साह धेरै टिकेन ।
पार्टीका नेता–कार्यकर्ता जनयुद्ध दिवसको हर्षोल्लासमा रहेको समयमा सूर्यजी तपाईं एक निजी टेलिभिजनमा मण्डले लबजमा अन्तर्वार्ता दिएर जनयुद्धको हुर्मत काड्दै हुनुहुन्थ्यो । समग्रमा प्रधानमन्त्री केपी ओली र तपाईंले बालुवाटारको सरकारी कोटरीलाई जनयुद्धको विरोधी मोर्चकारूपमा प्रयोग गर्नुभयो । यस्तो लाग्थ्यो, मुलुकमा कमल थापाको कामचलाउ सरकार छ, र भरेभोलिमा केही हुँदैछ !
सूर्यजी, त्यसो भए संघीय लोकतान्त्रिक गणतन्त्र के असिना बर्सिएजस्तो आकाशबाट बर्सिएको हो त ? देशमा जुन खालका राजनीतिक परिवर्तन देखा परे, समाजमा जुन स्तरका राजनीतिक चेतनाहरू प्रकट भए ती सबै फर्जी हुन् त ? पक्कै पनि हैनन् । शायद जनयुद्ध नभएको भए जनताकी छोरी विद्यादेवी भण्डारी राष्ट्रपति हुने थिइनन् । शायद जनयुद्ध नभएको भए तपाईंजस्ता युवा राजनीतिकर्मीहरू राजपरिषद् सदस्यको टीका लगाएर दौरा सुरूवालको लबेदा हल्लाउँदै निरीह, निरर्थक जीवन व्यतित गर्नुपर्थ्यो होला । हो जनयुद्धले घरघरमा सुनको थाल ल्याइदिन त सकेन तर प्रत्येकको घरमा सुनभन्दा हजारौं गुणा महंगो चेतना ल्याइदिएको छ, त्यो हामी सबैले स्वीकार गर्नुपर्छ ।
जनयुद्ध सही थियो कि गलत त्यो हाजिरजवाफमा खोजिने उत्तरजस्तो अकाट्य हैन र अर्को कुरा जनयुद्धलाई प्रमाणित गरिदिने वा जनयुद्धलाई संसारमा कतै नभएको एकदमै नौलो राजनीतिक आन्दोलन भनेर वैधानिकता प्रदान गर्नका लागि सूर्य थापाजी गिनिज बुक अफ दि वर्ल्ड रेकर्डको सञ्चालक पनि हैन । न सूर्य थापाले जनयुद्ध सही थियो भनेर सही मान्यता स्थापित हुन्छ । न गलत थियो भनेर गलत मान्यता स्थापित हुने नै हो । तपाईंले धेरै गर्न सके जनयुद्धको अपमान वा कुप्रचार मात्र हो । यस्ता काला छिर्केमिर्के कुप्रचार सुन्न त माइतीघर मण्डलातिर गए भैहाल्यो नि ! युट्युबतिर पनि धेरै नेता जन्मिएका छन्, तिनैका धारणा सुनेर विचार निर्माण गरे भैहाल्यो नि !
सूर्यजी, के नेकपा प्रचार विभागको काम जनयुद्धबारे कु–प्रचार गर्नु हो ? जनयुद्ध लडेका नेताहरूको हुर्मत काढ्नु हो ? पार्टी एकतालाई भाँड्ने गरी गतिविधि गर्नु हो ?
सूर्यजी, मलाई तपाईं एकदमै क्रान्तिकारी नेता होला भन्ने आभाष कतिखेर परेको थियो भने जतिखेर तपाईं कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार- २०७६ बाट सम्मानित हुनुभएको थियो । तपाईंले जनयुद्ध अस्वीकार गर्ने स्थिति थियो भने कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार पनि अस्वीकार गर्ने साहस प्रकट गर्नुपर्थ्यो, किनभने कृष्णसेनको थिए र उनको हत्या किन, कसरी र कसले गर्यो भन्नेबारे तपाईं जानकार हुनुहुन्छ होला नै । यता कृष्णसेन इच्छुकको सम्मान गरेर उनकै नामको पुरस्कार पनि थाप्ने उता जनयुद्धको अपमान गरेर कृष्णसेन इच्छुककै अपमान गर्ने ? नेकपाको प्रचार विभाग उपप्रमुख अनि प्रधानमन्त्रीको प्रेस सलाहकार भएर मण्डले खेमामा उभिएजस्तो गरी महान जनयुद्धको अपमान गर्ने आँट कसरी गर्नुभयो ?
लेखक खगेन्द्र संग्रौलाले तपाईंका बारेमा ट्वीट गर्दै भनेका थिए, ''ओली सर साह्रै बाठा ! आफूलाई भन्न मन लागेको कुरो आज्ञाकारी सल्लाहकार सूर्य थापाका मुखबाट प्वाक्क भनाउँछन् । भर्खरै भनाएछन्- 'प्रचण्डले पार्टी होइन,गुट चलाए ।' कुरा सही हो । अनि ओली सर आफूफूचाहिँ के चलाउँदै होलान् ? जुवाको खाल ?'' संग्रौलाले शंका गरेको पाटो त एउटा भयो, अर्को धेरैले तपाईंलाई पार्टी एकताविरोधी भन्ने गर्छन् । त्यो कुरा तपाईंले पनि सुन्नुभएको होला, पढ्नु पनि भएको होला । विगतमा तपाईंले पार्टीका नेताहरूको विषयमा जथाभावी बेल्दा प्रधानमन्त्री केपी ओलीले तपाईंलाई सम्झाउनेभन्दा पनि ईश्वर पोखरेललाई बोलाएर सम्झाएका थिए भन्ने सुनिन्छ । तपाईंले भीम रावलदेखि प्रचण्डसम्मलाई तथानाम गाली गर्नुहुन्छ ।
सूर्यजी, तपाईंले सामाजिक सञ्जालमा, मिडियामा चित्तै नबुझ्ने विचारहरू अन्टसन्ट बोल्दा यो मान्छे 'एटेन्सन सिकर' रहेछ कि भन्ने प्रतित हुन्छ । तर तपाईंजस्तो मिडियाको पृष्ठभूमि भएको मानिसलाई प्रचारका लागि यस्ता घटिया स्टन्टहरूको सहरा किन लिनुपर्यो । लोक गायिका विष्णु माझी फेसबूक नचलाएरै हिट छिन्, अन्तर्वार्ता नदिएरै हिट छिन् । हिट हुने कुरा मिडियामा तपाईंको नाम मात्रै आएर, फोटो मात्रै छापिएर हुने हैन । हिट हुने त कर्म गर्नुपर्यो । बरु तपाईंले प्रचार गर्नुपर्ने विषय धेरै छन् । तपाईं सरकार सञ्चालन गर्ने पार्टी नेकपाको प्रचार विभाग उप-प्रमुख हुनुहुन्छ । तपाईं प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकार समेत हुनुहुन्छ । यसर्थ तपाईंले के-के प्रचार गर्नुपर्छ भनेर कसैले भनिरहनु, सिकाइरहनु पर्दैन ।
तपाईंको प्रमुख काम सरकारले गरेका राम्रा कामहरूको प्रचार गर्नु वा हुनुपर्थ्यो । भर्खरै एकतामा आएका पूर्व माओवादी र पूर्व एमालेका दुवैथरी कार्यकर्तालाई गोलबन्द गरेर तिनको भावनाअनुरूप पार्टीलाई बलियो बनाउन प्रभावकारी सूचनाहरू सम्प्रेसण गर्नुपर्ने हो जस्तो लाग्छ । तर खै किन हो, कुन सतीले सराप दिएर हो तपाईं ठीक उल्टो–उल्टो काम गर्दै हिँड्नुभएको छ । तत्कालीन माओवादीको नेतृत्वमा भएको जनयुद्ध 'जनयुद्ध नै थिएन' भन्ने कुराको पुष्टि गर्न सामान्य वकिलले जस्तो कम्मर कसेर लाग्नुभएको छ । विश्वले जनयुद्ध मानिसकेको कुरा, प्रमाणित भइसकेको कुरालाई तपाईंले हैन, हुँदै हैन ! भन्दै प्रचारबाजी गर्नुभएको छ । यसरी असनको साँडेजस्तो त नबन्नुहोस् न ।
सूर्यजी, तपाईंले जनयुद्धको विरोध गर्नतिर समय खर्च गर्नुहुन्छ । सरकारी पद र सरकारकै ढुकुटीबाट तलब/भत्ता खाएर राजनीति धेरै गर्नुहुन्छ, तर आफ्नो काम के भैरहेको छ पत्तै छैन । हालसालै प्रधानमन्त्री ओलीको आधिकारिक वेभपोर्टल ह्याक भएको कुरा तपाईंले लुकाएर लुक्ने होइन । तपाईं प्रधानमन्त्रीको प्रेस सल्लाहकार हो । यसको नैतिक जिम्मेवारी तपाईंकै हुन्छ र हुनुपर्छ । यति मात्र हैन कारवाहीको भागिदार पनि तपाईं हुनुपर्छ । यसमा सम्माननीय प्रधानमन्त्रीज्यूको कुनै दोष छैन । तपाईं आफ्नो काममा ध्यान दिनुहुन्न, आफ्नो गच्छेले नभ्याउमे काममा धेरै ध्यान दिनुहुन्छ । डाइनोसर, हिम मानव यती खोजेर ल्याउनेजस्तो कुरा गर्नुहुन्छ ।
केही समय अगाडि प्रधानमन्त्रीज्यूको ट्विटर ह्याण्डिलबाट सोनिया गान्धीको भिडियो रि–ट्वीट भयो । कति धेरै बदनाम भयो, तर तपाईं झन् कुतर्क गरेर बस्नुभयो । मिडियासँग बाझाबाझ गर्नुभयो । तपाईं सूर्य थापा एक व्यक्ति मात्र हैन, प्रधानमन्त्रीको प्रेस सल्लाहकार हो । तपाईं व्यक्ति होइन, संस्थाको प्रतिनिधि हो । अन्टसन्ट कुरा गरेर धम्क्याएर, थर्काएर जनयुद्धको औचित्य समाप्त पार्छु, परिवर्तनकारी नेतृत्व कमजोर पार्छु भन्ने भ्रम पाल्नुभएको छ भने त्यो भ्रमबाट मुक्त हुनुस् । यस्तो खालको बाल्यकालीन गतिविधि बन्द गर्नुहोस् । यो गणतन्त्र, यो संविधान, यो परिवर्तन ल्याउन हजारौं महान योद्धाहरूको रगत बगेको छ । हजारौंले जेलनेल र यातना भोगेका छन् ।
सूर्यजी, महान जनयुद्धबाट प्राप्त उपलब्धि संघीयता, धर्मनिरपेक्षता, समावेशिता, समानुपातिक समावेशी, नयाँ संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको सम्मान गर्दैगर्दा जनयुद्धको अपमान नगरौं । यी राजनीतिक परिवर्तनहरू र जनयुद्ध एकै सिक्काका दुईपाटा हुन् । यहाँ प्रश्न के मात्रै हो भने जनयुद्धले हासिल गरेका उपलब्धिको स्वाद पटक- पटक लिइरहने, त्यही जनयुद्धले स्थापित गरिदिएको हक र समानुपातिक अधिकारलाई प्रयोग गरेर सारा राज्यको बागडोर सम्हाल्ने तर जनयुद्ध र जनयुद्धका योद्दाहरूको बारम्बार अपमान गर्ने, तिनको योगदानको कदर नगर्ने, खिस्सी गर्ने ? अरू त अरू नेकपाको प्रधानमन्त्रीको प्रेस सल्लाहकारजस्तो गरिमामय पदमा बसेर सूर्य थापाजत्तिको मान्छेले भुइँफुट्टा कुरा गर्ने ? यो किमार्थ स्वीकार गर्न सकिने विषय हैन ।
सूर्यजी, तपाईंलाई प्रचण्ड मन नपर्ला, अरूलाई केहीलाई पनि मन नपर्ला, तर प्रचण्ड मानिस मात्र हैनन्, विचार हुन्, त्यो पनि क्रान्तिकारी विचार । प्रचण्डसँग विचार मिलेन भन्दैमा जनयुद्धको सार्वजनिक अपमान गरेर हजारौं शहीदको अपमान गर्न पाउनुहुन्न । तपाईंले नेपालको मौलिक क्रान्तिको अपमान गर्न सक्नुहुन्न । जनयुद्धको विषयमा विषबमन गर्ने काम बन्द गर्नुपर्यो । यदि तपाईंलाई जनयुद्धसँग समस्या नै छ भने संघीय लोकतान्त्रिक गणतन्त्रसँग पनि समस्या हुन सक्छ, अनि शंका गर्नुपर्ने विषय अरू पनि हुन सक्छन् ।
अहिलेलाई बिदा पाऊँ, नमस्कार !
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...