०१ साउन २०८३, शुक्रबार

मन्त्रिपरिषद्काे निर्णयकाे पाँच दिन बित्याे, बागलुङमा र्‍यापिड टेष्ट शुरु नै भएन

चैत २६, २०७६
मन्त्रिपरिषद्काे निर्णयकाे पाँच दिन बित्याे, बागलुङमा र्‍यापिड टेष्ट शुरु नै भएन

कोरोना भाइरसको उच्च जोखिम रहेको भनिएको बागलुङमा र्‍यापिड टेष्टमा ढिलाइ भएको छ। संघ सरकारको मन्त्रिपरिषद्को शनिबारको बैठकले बागलुङसहित कैलाली र कञ्चनपुरमा सो टेष्ट गर्ने निर्णय गरे पनि निर्णयको ५ दिन बितिसक्दा पनि टोली बागलुङ पुगेको छैन। 

२ जना संक्रमित फेला परेको बागलुङमा ढिलाइ हुँदा कोरोना जोखिमको सम्भावना बढ्दै गएको छ।  

बागलुङमा जिल्ला स्वास्थ्य प्रमुख सुरज गुरौले सरकारले मंगलबार आवश्यक सामग्रीसहित ३ सदस्यीय टोली काठमाडौंबाट पठाएको भनिए पनि साँझसम्म नआएको जानकारी दिए। टोली आएपछि मात्र यहाँस्थित ल्याब टेक्निसियनहरुलाई आवश्यक अभिमुखीकरण गराई काम थालिने योजना छ।  उनका अनुसार जिल्ला स्वास्थ्य कार्यालयका १ जना र धौलागिरि अञ्चल अस्पतालका ११ जना तालिमप्राप्त टेक्निसियन छन्। 

‘काठमाडौंबाट हिँडेको सुनेको छु, अझैसम्म आएको छैन,’ गुरौले भने, ‘आएपछि मात्र टेक्नियिसनलाई ओरेन्टेसनमा सहभागी गराई केन्द्रको टोलीले भनेअनुसार काम गर्ने हो। टोलीले के कसरी गर्छ हामीहरुलाई थाहा छैन।’ 

सरकारले यसअघि जनाएअनुसार बागलुङमा कोरोना संक्रमितको बासस्थान वरपर रहेका तथा चैत महिनाभर विदेशबाट आएका व्यक्तिहरुको परीक्षण र्‍यापिड डाइग्नोस्टिक टेष्टमा गरिनेछ।

जिल्लामा चैतयता ८ सय २३ जना मानिस विदेशबाट आएको तथ्यांक संकलन गरिएको गुरौले जनाए। उनका अनुसार मंगलबार पनि जिल्लाको बरेगाउँ गाउँपालिकाबाट ८ जना पुरुषको स्वाब कलेक्सन गरी पोखरा पठाइएको छ । तीमध्ये ४ जना पश्चिमको गौरीफन्टा नाकाबाट भित्रिएका छन्। उनीहरु सबैजना स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा बस्दै आएका छन । 

 गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले बागलुङमा टेष्टका लागि सामाजिक विकास मन्त्रालय र आपूर्तिको टिम आवश्यक सहजीकरणका लागि मंगलबार त्यहाँ गइसकेको जानकारी दिए। उनले नयाँ किट भएकोले सुरुवातमा ल्याबका कर्मचारीलाई आवश्यक अभिमुखीकरणपछि काम थालनी हुने विश्वास व्यक्त गरे।

salt training

कमेन्ट गर्नुहोस्