नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कोभिड–१९ को पिसिआर परीक्षण सञ्चालनका लागि स्थापना गरिएको ‘मोलेकुलर परीक्षण एकाइ’ स्थापना गरिएको छ।
प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले उक्त एकाइको उद्घाटन गर्दै उत्कृष्ट कार्य गर्ने आठ जना प्रहरी अधिकृत तथा जवानलाई पुरस्कृत गरे। प्रहरी महानिरीक्षक ज्ञवालीले लकडाउन कार्यान्वयन तथा कोरोना सङ्क्रमण रोकथामको लागि अग्रपङ्क्तिमा खटिएका प्रहरी कर्मचारी सङ्क्रमणको जोखिम उच्च रहेको अवस्थामा नेपाल प्रहरी अस्पतालले सञ्चालन गर्ने गरी एकाइको स्थापना हुनु सुखद् भएको बताए।
उनले पिसिआर ल्यावबाट अधिकभन्दा अधिक प्रहरी कर्मचारी लाभान्वित हुने विश्वास व्यक्त गरे। छोटो समयमा एकाइको स्थापना गर्न देखाएको तदरुकताका लागि नेपाल प्रहरी अस्पताल परिवारप्रति उनले आभार व्यक्त गरे।
नेपाल प्रहरी अस्पताल महाराजगञ्जका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा आशा सिंहले उक्त एकाइसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै प्रहरी अस्पताललाई समयानुकूल स्रोत र साधन सम्पन्न बनाउँदै बिरामीमैत्री सेवा प्रदान गर्न कटिबद्ध रहेको बताए। उक्त एकाइ कुल एक करोड १९ लाख ३९ हजारको लागतमा स्थापना गरिएको र तत्काल सञ्चालनमा आउने जनाइएको छ।
लोकान्तर संवाददाता