
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय ६० पुगेको छ । पछिल्लो समय प्रदेशमा १० जना नयाँ संक्रमित थपिएसँगै संक्रमित संख्या १ हजार ३ सय ६० पुगेको हो ।
नयाँ संक्रमितमध्ये कास्कीमा ५ जना थपिएका छन् । पोखरा महानगरपालिकामा वर्ष २३, ३५ र ४० का गरी ३ जना पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको छ ।
यस्तै कास्कीको अन्नपूर्ण गाउँपालिका वर्ष ५२ की महिला र वर्ष ५५ का पुरुषमा कोभिड–१९ संक्रमण देखिएको छ ।
उता, तनहुँको शुक्लागण्डकी नगरपालिकाका वर्ष ४८ का पुरुष, बागलुङ तमानखोलाका २७ वर्षीय पुरुष संक्रमित छन् ।

लमजुङमा थप ३ जना पुरुषमा कोरोना पुष्टि भएको छ । जिल्लाको क्लोहोसोथारका वर्ष २९, बेशीसहरका वर्ष २३ र मध्यनेपाल नगरपालिकाका वर्ष २५ का पुरुषको पीसीआर परीक्षण पोजेटिभ देखिएको हो ।
नयाँ संक्रमित देखिएकाहरुको नमुना पोखरास्थित क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा परीक्षण भएको हो ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रम प्रवक्ता एवं स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माका अनुसार हालसम्म गण्डकीमा १ हजार ९८ जना निको भइ घर फर्केका छन् ।