
चीनबाट सामान लिएर काठमाडौं आउन लागेका कन्टेनरहरू लामो समयदेखि नाकामा रोकिँदा व्यवसायी मारमा परेका छन् ।
कोरोनाभाइरस (कोभिड– १९)को महामारी रोक्नका लागि गत माघदेखि चीनले सीमा क्षेत्रमा कडाइ गर्दा कन्टेनरहरू उतै रोकिएका हुन् ।
तातोपानी र केरुङ नाकामा सामान रोकिँदा कतिपय सामानहरू सडेर नष्ट भएका छन् भने बाँकी रहेका सामान पनि अलपत्र छन् ।
माघको पहिलो साता सामान लिन चीनमा पुगेका कन्टेनरहरू उतै रोकिएका हुन् । सामान उतै रोकिँदा तयारी पोशाक, कपडा, अन्य सामानहरू अलपत्र परेका छन् ।

राजस्व प्रभावित
कोरोना महामारीका कारण चीनले सीमामा कडाई गरेसँगै सामान आयात रोकिएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले लोकान्तरलाई बताए ।
शुरूमा आयात पूर्ण रूपमा रोकिए पनि असार २२ गतेपछि एकतर्फी सञ्चालन गर्ने निर्णय भएको थियो ।
यद्यपि तातोपानी नाकामा पहिरो गएको र अन्य क्षेत्रमा पनि पहिरोको कारण देखाउँदै हालसम्म आयात रोकिएको छ ।
आयात रोकिँदा राजस्व संकलन पनि लक्ष्यभन्दा कममा नै सिमित भएको छ ।
प्रमुख भन्सार अधिकृत खड्का भन्छन्, ‘आर्थिक वर्ष २०७६/७७ मा ८५ प्रतिशत मात्रै राजस्व संकलन गर्न सक्यौं, आयात रोकिँदा लक्ष्यअनुरूप राजस्व संकलन गर्न सकिएन ।’
उनका अनुसार, गत आर्थिक वर्षमा ९ अर्ब ५० करोड राजस्व संकलन गर्नुपर्नेमा ८ अर्बमात्रै संकलन भएको छ । साउन महिनामा पनि करीब ३५ प्रतिशत मात्रै राजस्व संकलन भएको छ ।

चाडपर्वका समयमा बढी मात्रामा फलफूल र लत्ताकपडा आयात हुन्छन्, तर अहिले त्यो सबै आयात रोकिएको छ । उनका अनुसार, नाकामा करीब १ हजार २ सयभन्दा बढी कन्टेनरहरू रोकिएका छन् ।
नाकामा रोकिएका कन्टेनरहरू कतिपय बिग्रिसकेका छन् भने कतिपयको पाटपूर्जा चोरी समेत हुन थालेको छ ।
नेपाल सिल्क ट्रान्सपोर्ट प्रालिका अध्यक्ष रमेश शेर्पाले सामानहरू अलपत्र पर्दा व्यवसायीलाई आर्थिक भार परेको लोकान्तरलाई बताए । उनका अनुसार खासा र तातोपानीमा सामानहरू रोकिएको छ । उनी भन्छन्, ‘स्याउ कन्टेनरमै कुहियो, अब के गर्ने ? यस्तै हो ।’
केही गार्मेन्ट, तयारी पोशाक लगायतका सामानहरू सिल्क ट्रान्सपोर्टको मात्रै ३ सय कन्टेनरहरू नाकामा रोकिएको छ । उनी भन्छन्, नेपालको सडकको कारण पनि चीनले सामान नपठाएको हो ।’
आयात रोकिँदा नेपालको जलविद्युत् आयोजनाहरूको काम पनि रोकिएको छ । स्वतन्त्र ऊर्जा उत्पादक संंघका अध्यक्ष कृष्ण आचार्य अधिकांश सामानहरू नाकामा रोकिएको बताउँछन् ।
अहिले दिनको ३/४ कन्टेनर सामान मितेरी पुलसम्म आइरहेको नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष बच्चु पौडेल लोकान्तरलाई बताउँछन् । बीचमा केही समयअघिदेखि सामान अलिअलि आएको थियो ।
उनले भने, ‘दिनको ३/४ कन्टेनर मितेरी पुलसम्म आइरहेको उनको भनाइ छ । यसैअनुरूप पुरानो सामान पूरा आयात हुन ६ महिना लाग्ने देखिन्छ ।’
उनले नाका खुलाउनका लागि सरकारसँग पहल भइरहेको बताए । उनले भने, ‘हामीले सरकारसँग नाका खुलाई आयात सहज बनाउन ज्ञापनपत्र बुझाउँदै आएका छौं ।’

गाडीको किस्ता र घरभाडाको तनाव
नेपाल ट्रक कन्टेनर व्यवसायी संघका अध्यक्ष अर्जुन सापकोटा माघदेखि आयात रोकिँदा घर खर्च चलाउनसमेत गाह्रो भएको बताउँछन् । उनी भन्छन्, ‘सबै मजदूर कामविहीन भएका छन् । दैनिक खर्च चलाउन पनि गाह्रो छ ।’
उनले नयाँ गाडीको ७० देखि ८० हजार किस्ता तिर्नुपर्ने भएको बताए । उनले भने, ‘बैंकमा मासिक रूपमा ७० देखि ८० हजार रुपैयाँ किस्ता तिर्नुपर्छ, त्यो तिर्न नसक्दा समस्या भएको छ ।’
उनी भन्छन्, ‘एकातिर घरबेटीले घरभाडा माग्छन्, अर्कातिर बैंकले किस्ता, हामी तनावमा छौं ।’
नेपाल ट्रक यातायात व्यवसायी महासंघका महासचिव राजेन्द्र बानियाँ पनि किस्ता र घरभाडामा समस्या भएको बताउँछन् ।
‘मासिक ८० हजार किस्ता बुझाउनुपर्छ, कन्टेनरका पाटपुर्जाहरू पनि उता ध्वस्त छन्, सबैकुरा डामाडोल छ,’ उनले भने ।
उनले आफूहरूले सरकारी निकायमा समस्याबारे ध्यानाकर्षण गराए पनि समस्या समाधान हुन नसकेको गुनासो गरे ।
सरकार भन्छ- '५ दिनभित्रमा समस्या समाधान हुन्छ'
अहिले सीमा नाका खुलाइ आयात सहज बनाउन नेपाल र चीन सरकारबीच छलफल भइरहेको छ । सचिवस्तरीय बैठक बसिरहेको र एक दुई दिनमै त्यसको प्रगति विवरण आउने उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले लोकान्तरलाई बताए ।
‘सचिवस्तरीय बैठकले बुधवार नै प्रगति विवरण दिने तयारी गरेको जानकारी आएको छ,’ उनले भने । उनले भने, ‘आयात नहुँदा राज्यलाई नोक्सान भइरहेको कुरामा हामी जानकार छौं, हामीले सीमा खुलाउन पहल गरिरहेका छौं, चीन सरकार पनि सकारात्मक छ ।’
