१६ असार २०८३, मंगलबार
कोरोना बिमाको ५ महिना

७ लाख ३८ हजारले गराए कोरोना बीमा, ४१ करोडभन्दा बढी प्रिमियम संकलन

७ लाख ३८ हजारले गराए कोरोना बीमा, ४१ करोडभन्दा बढी प्रिमियम संकलन

करीब ५ महिनाको अवधिमा कोरोना भाइरस (कोभिड– १९)को बीमा गराउनेको संख्या ७ लाख ३८ हजारभन्दा बढी नाघेको छ ।

बीमा कम्पनीहरूको नियामक निकाय बीमा समितिको तथ्यांकअनुसार बुधवार (भाद्र ३ गते) सम्ममा ७ लाख ३८ हजार ४ सय ५८ जनाको कोरोना बीमा भएको छ । 

कोरोना बीमालेख बिक्रीमार्फत बीमा कम्पनीहरूले हालसम्म ४१ करोडभन्दा बढीको प्रिमियम (बीमा शुल्क) संकलन गरेका छन् ।  

बुधवारसम्मको तथ्यांकमा ७८ हजार ८ सय ७१ बीमालेख बिक्री भएका छन्, जसबाट ४१ करोड ६२ लाख ७० हजार ९ सय ८२ रुपैयाँ संकलन भएको छ ।  

अन्तर्राष्ट्रिय मुलुकमा समेत प्रचलनमा नरहेको महामारीविरुद्धको यस्तो बीमा नेपालमा वैशाख ७ गतेदेखि शुरू भएको थियो । 

महामारीको चपेटामा पर्दा कोरोना भाइरस संक्रमितलाई आर्थिक चपेटाबाट माथि उकास्न सामाजिक उत्तरदायित्व स्वरूप बीमा समितिले कोरोना बीमालेख जारी गरेको समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले लोकान्तरलाई बताए ।

उनी भन्छन्, ‘हामीले पहिलोपटक नवीनतम अभ्यास गरेका हौं, संक्रमित र संक्रमितको परिवारलाई आर्थिक कारणले तनाव सिर्जना नहोस् भन्ने उद्देश्यले बीमालेख जारी गरिएको हो ।’

बीमा कम्पनीहरूसँगको परामर्शमा समितिले बीमा लेख जारी गरेको थियो ।

शुरूआती चरणमा कोरोना बीमा लेख शहरी क्षेत्रमा बढी प्रयोग भयो । बिस्तारै यसले ग्रामिण भेगमा पनि बीमाको पहुँच विस्तार भयो । 

‘शुरूमा काठमाडौं उपत्यकामा बढी मात्रामा कोरोना बीमा गरियो, अहिले यसको क्षेत्र फराकिलो बनेको छ,’ उनले भने । 

सरकारको साथ

कोरोना बीमालाई सरकारले पनि महत्त्वका साथ अगाडि बढाएको छ । आर्थिक वर्ष २०७७/७८ को बजेटमा पनि कोरोना बीमालाई समेटिएको छ । 

बजेटमार्फत सरकारले कोरोना बीमामा आमनागरिकलाई ५० प्रतिशत सहुलियत दिएको छ । राष्ट्रसेवक कर्मचारीहरूको कोरोना बीमा निःशुल्क गरिएको छ भने संस्थागत बीमामा पनि सहुलियत छ । 

कोरोना बीमालाई राज्यले साथ दिएको भन्दै साउनयता बीमा गर्नेको संख्या बढेको पौडेलको भनाइ छ । उनी भन्छन्, ‘सरकारले सहुलियत दिँदा कोरोना बीमा धेरैको माझमा पुग्यो ।’
 

घरघरमा पुग्यो पहुँच 

केही समय अगाडिसम्म बीमा क्षेत्रलाई हेर्ने दृष्टिकोण फरक थियो । जीवन बीमालाई बचतको हिस्सा सम्झन थाले पनि निर्जीवन बीमाको भने अवस्था सुध्रिएको थिएन ।

अहिले कोरोना बीमा लेख जारी भएसँगै निर्जीवन बीमा पनि घरघरमा पुगेको कार्यकारी निर्देशक पौडेल बताउँछन् ।

उनी भन्छन्, ‘कोरोना बीमा घरघरमा पुग्दा निर्जीवन बीमा पनि घरघरमा पुगेको छ, यसले दायरा फराकिलो बनाएको छ ।’

दाबी गरेको २४ घण्टामै भुक्तानी

बीमा समितिका अनुसार, संक्रमित बढेसँगै पछिल्लो समय कोरोना बीमाको दाबी भुक्तानी पनि बढ्दै गएको छ । कोरोना भाइरसको पीसीआर परीक्षण गर्दा संक्रमित देखिएमा दाबी भुक्तानी पाइन्छ । 

कोरोना बीमाको दाबी भुक्तानी पछिल्लो समय बढ्दै गएको छ । पौडेल भन्छन्, ‘परीक्षण रिपोर्ट पोजेटिभ आउनेबित्तिकै दाबी गर्नुस्, दाबी गरेको २४ घण्टा भित्रमा भुक्तानी हुन्छ ।’ समितिका अनुसार हालसम्म करीब ६ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी भएको छ । 

महामारीमा सबै निकाय एकजुट

कोरोनाभाइरसको बीमा शुरू गर्दा बीमा कम्पनीहरू र बीमा समिति मात्र एक थिए । पछिल्लो समय सरकारले पनि यसलाई साथ दिएको छ । ‘सरकारले साथ दिँदा महामारी थेग्न सक्ने क्षमता छ, पौडेल भन्छन्, ‘पहिले कम्पनी र हामी मात्र थियौं, महामारी बढ्दै जाँदा क्षमताले धान्दैन कि भन्ने थियो, अहिले त्यस्तो छैन ।’

‘बीमा कम्पनीहरू आफैंमा सक्षम छन्,’ उनी भन्छन्, ‘यसमा पनि हामीलाई पुनर्बीमाको साथ छ, सरकारको पनि साथ छ ।’

salt training

कमेन्ट गर्नुहोस्