३२ असार २०८३, बिहीबार

आफैं कार्यरत अस्पतालको लापरवाहीले ज्यान गुमाएका डा. सिंह, न्यायका लागि भौँतारिँदै परिवार

असोज ६, २०७७
आफैं कार्यरत अस्पतालको लापरवाहीले ज्यान गुमाएका डा. सिंह, न्यायका लागि भौँतारिँदै परिवार

आफैं कार्यरत अस्पतालको लापरवाहीको शिकार बनेका डा. सिंह, न्यायका लागि भौँतारिँदै परिवार

२०७६ भदौ १० गते साँझ ९ बजे खाना खाने क्रममा रूपन्देहीको भैरहवाका अर्थोपेडिक सर्जन डा. ज्ञानेश्वरप्रसाद सिंहको घाँटीमा खसीको हड्डी अड्कियो । 

परिवारले डा. ज्ञानेश्वर नै कार्यरत युनिभर्सल मेडिकल कलेज भैरहवामा तुरुन्तै पुर्‍याए । अस्पतालमा पुर्‍याएको रात उनलाई चिकित्सकहरूले केही उपचार गरेनन् ।

‘पेनकिलर’ दिएर राखे । अन्य उपचार गरेनन् । डा. सिंह हाडजोर्नी विशेषज्ञ प्राध्यापक पनि हुन् ।  

पर्सिपल्ट अर्थात् १२ गते बिहान ९ बजे बल्ल उनलाई ओटीमा लगियो । घाँटीमा अड्किएको हड्डी निकाल्न ५ घण्टा अपरेसन गरियो । आधा हड्डी निकालियो ।

आधा हड्डीलाई धकेलेर पेटमा पठाइयो भनेर चिकित्सकहरूले परिवारलाई भने । चिकित्सकले दालको रस र जुस खान दिन हुने भनेर सुझाए । तर, १४ गते बेलुकाबाट डा. ज्ञानेश्वरले वान्ता गर्न थाले ।

परिवारले सिटीस्क्यान गरौं भने, तर अस्पतालले मानिरहेको थिएन । परिवारको दबाबपछि सिटीस्क्यान गर्दा घाँटीमै हड्डी देखियो । परिवारका सदस्य झस्किए । परिवारलाई नभनी उनलाई आईसीयूमा सारियो । 

त्यसपछि अस्पतालले डा. सिंहको सानो अपरेसन गर्नुपर्ने भएकाले काठमाडौं लैजानुपर्छ भन्यो । हेलिकप्टरमार्फत काठमाडौं पठाइयो । 

उनलाई काठमाडौंको ग्राण्डी अस्पतालको छतमा ल्याण्ड गराइयो । तर, ग्राण्डीमा उपचार नगरी उनलाई मनमोहन अस्पताल लगियो । युनिभर्सल अस्पतालले मनमोहन अस्पतालमा सिरियस केस आउँदैछ भनेर पहिल्यै जानकारी गराएका रहेछन् । परिवारलाई तुरुन्त बिरामी भर्ना गर्ने कार्डमा हस्ताक्षर गर्न लगाए । 

त्यहाँ बिरामीको इन्डोस्कोपी गर्दा खाना खाने नली च्यातिएको र त्यसको इन्फेक्सनले गर्दा छातीमा समेत इन्फेक्सन भएको देखियो । मनमोहन अस्पतालले घाँटीको हड्डी निकाल्ने र धकेल्ने क्रममा अस्पतालको लापरवाही भएको बतायो । त्यही कारण खाना नली हुँदै संक्रमण छातीसम्म पुगेर संक्रमण भएको पुष्टि भयो । मनमोहन अस्पतालमा उनको हड्डी निकालियो । तर, उनको स्वास्थ्यमा कुनै सुधार भएन ।

३ महिना अस्पतालको आईसीयूमा राखियो । तीन महिनापछि बल्ल च्यातिएको नलीको शल्यक्रिया गर्न सकिने अस्पतालले बतायो । तर, आईसीयूमै राखिएका डा. सिंहको २०७६ माघ २ गते निधन भयो । उनी ५६ वर्षीय थिए । उनको उपचारमा लागि मात्रै परिवारले ६० लाख रूपैयाँ खर्चिएको छ । 

मृतक डा. सिंहका छोरो प्रज्ज्वल सिंह सहित परिवारले अस्पतालको गम्भीर लापरवाहीले मृत्यु भएको भन्दै २०७७ साउन ९ गते क्षतिपूर्ति र सुविधाबापतको रकम माग गर्दै युनिभर्सल कलेजमा परिवारले निवेदन दिए । आफूहरूको निवेदनको सुनुवाइ नभएको भन्दै भदौ गृह र स्वास्थ्य मन्त्रालयमा पनि पुनः निवेदन दिएका छन् । 

प्रज्ज्वलले भने, ‘हाम्रो निवेदनको कुुनै सुनुवाइ गर्दैनन् । फोन पनि रिसिभ गर्दैनन् । बुवाले त्यहाँ १० वर्ष काम गर्नुभयो । त्यहीँका चिकित्सकको लापरवाहीले गर्दा बुवाको मृत्यु भयो । अस्पतालको यो हदसम्मको लापरवाहीमा मिडियाका साथीहरूले साथ दिनुभयो, अस्पतालले हामीलाई कुनै वास्ता गरेन ।’ 

डा. ज्ञानेश्वरप्रसाद सिंहको उपचारमा लापरवाही गरेको भन्दै नेपाल मेडिकल काउन्सिलले युनिभर्सल कलेजका उपचारमा संलग्न चिकित्सकलाई कारवाही गरेको छ ।

काउन्सिलले डा. सिंहको उपचारमा संलग्न चिकित्सक डा. विश्व तुलाचनलाई एक वर्षसम्म ‘इसोफिजिएल इन्डोस्कोपी’ गर्न नपाउने कारवाही गरेको प्रज्ज्वलले जानकारी दिए । त्यस्तै अर्का डा. लक्ष्मी पाठकलाई पनि छानबिन चलेको छ । उनी अहिले भारतको दिल्लीमा रहेको बताइएको छ । 

अस्पतालका डाइरेक्टर खुमा अर्यालले डा. ज्ञानेश्वरप्रसाद सिंहलाई बचाउनका लागि अस्पतालले ठूलो धनराशि खर्च गरेकाले अन्य सहयोग परिवारलाई गर्न नसकिने बताए । 

अर्यालले भने, ‘उहाँलाई बचाउन हामीले सक्दो सहयोग गरेको हो । अस्पतालले आफ्नै खर्चमा काठमाडौंसम्म हेलिकप्टर मगाएर पठायौं । तर, उहाँको परिवारले अस्पतालविरुद्ध धावा बोल्न थाले । अस्पतालले अब कुनै सहयोग गर्न सक्दैन ।’ 

प्रज्ज्वल र उनकी बहिनी प्रज्ञा सिंह बंगलादेशमा एमबीबीएस अध्ययनरत छन् । 

कोरोना महामारीले गर्दा पढाइ बन्द भएपछि उनीहरू अहिले नेपाल आएका छन् ।  प्रज्ज्वल भन्छन्, ‘हामीलाई पढाउन बुवाले घर जमिन बैंकमा राखेर डाक्टर पढाउनुभएको हो । परिवारको मुख्य व्यक्ति नै मृत्यु भएपछि हामी अहिले विचल्लीमा छौं ।’ 

सिंह परिवारको स्थायी घर जनकपुर उपमहानगरपालिका वडा नम्बर ९ धनुषा हो । 

हेर्नुहोस्, सम्बन्धित कागजातहरू :

salt training

कमेन्ट गर्नुहोस्