माघ १८, २०८०
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
असोज १२, २०७७
हिन्दी फिल्म उद्योगका कलाकार सुशान्त सिंह राजपुतको असामयिक निधन भएको साढे तीन महिना बितिसकेको छ र अहिलेसम्म पनि यो तात्तातो बहसको विषय बनिरहेको छ ।
सुशान्तको मृत्युपछि बलिउडमा व्याप्त नातावादको विषय उठ्यो अनि मृत्युको अनुसन्धानको विषयमा बिस्तारै क्षेत्रीय तथा जातीय राजनीति हावी हुँदै गयो । अहिले आएर बलिउडमा लागूऔषध दुर्व्यसनको मुद्दा समेत यसमा जोडिन आएको छ ।
गत जुन महिनाको १४ तारिखमा मुम्बईस्थित आफ्नो अपार्टमेन्टमा सुशान्त मृत अवस्थामा भेटिएका थिए । मुम्बई प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धानमा यो आत्महत्याको केस भनी घोषणा गरेको थियो । तर मानिसहरूले यसलाई नपत्याएर यसमा थप अनुसन्धान गर्नुपर्ने र सीबीआईलाई यसको जिम्मेवारी दिनुपर्ने माग गरे ।
सुशान्त बिहारबाट कलाकार बन्न मुम्बई पुगेका र बाहिरिया भएका कारण जम्नका लागि कठोर संघर्ष गरिरहेका थिए, त्यसैले उनको मृत्युले बिहारीहरूलाई निकै विचलित बनायो र केन्द्रीय निकायबाट जाँच हुनुपर्ने भनी उनीहरूले आवाज उठाए । यसैलाई बिहारमा सक्रिय दलहरूले भजाउने प्रयास गरे ।
बिहार विधानसभा निर्वाचन आउन लागेको सन्दर्भमा विपक्षी पार्टी राष्ट्रिय जनता दलका नेता तेजस्वी यादवले सुशान्तको मृत्युको केन्द्रीय निकायबाट अनुसन्धान गर्नुपर्ने भनी शुरूमा माग राखेका थिए । उनी पटनामा बस्ने सुशान्तका पितालाई भेट्न निवासस्थानमै पुगेका थिए ।
त्यसपछि सत्तारूढ भारतीय जनता पार्टी र जनता दल (युनाइटेड) पनि पछि परिने डरले सुशान्तका लागि न्यायको माग गर्दै जोडतोडले आवाज उठाउन थाले ।
बिहारका मुख्यमन्त्री नीतीश कुमारले सुशान्तको मृत्युमा मुम्बई प्रहरीको अनुसन्धानमा चित्त नबुझाएर पटना शहरका एसपी विनय तिवारीको नेतृत्वमा प्रहरीको एक टोलीलाई मुम्बई पठाए ।
उता महाराष्ट्रमा विपक्षी दल भाजपाले सुशान्तको मृत्यु अनुसन्धानमा उचित प्रक्रिया नअपनाइएको भनी सरकारको आलोचना गर्यो ।
बिहारकै अर्को दल लोक जनसत्ता पार्टीले पनि सुशान्तको मृत्युमा सीबीआई अनुसन्धानको माग गर्दै राजनीति चम्काउने कोशिश गर्यो ।
भाजपाको सांस्कृतिक विभागले सुशान्तको तस्वीर र पार्टीको चिह्न सहितको स्टिकर बनाएर ‘भुलेका छैनौं, भुल्न दिने छैनौं’ लेखिएको सन्देश कारमा टाँस्नका लागि बाँडेको छ । सुशान्तको नाम लेखिएका मास्कहरू पनि उसले बाँडेको छ ।
अनि उसले पटनामा सुशान्तको घर भएको राजीव नगर चोकको नाम सुशान्त सिंह राजपुत चोक राख्न तथा समेत माग गरेको छ ।
अर्को एक सानो दल हिन्दुस्तान अवाम मोर्चाले सुशान्तका लागि मरणोत्तर पद्मश्री पुरस्कारको माग गरेको छ ।
सुशान्तको मृत्युमाथिको अनुसन्धान चल्दै गर्दा एकअर्काबीच आरोपप्रत्यारोप पनि बढिरहेका छन् । कांग्रेस र आम आदमी पार्टीले उनको मृत्युका विषयमा भाजपाले ‘नीच’ राजनीति गरेको आरोप लगाएका छन् ।
बिहारको चुनावमा बाढीले पुर्याउने गरेको क्षति, कोभिड–१९ का कारण आएको आर्थिक समस्या तथा बेरोजगारी जस्ता मुद्दाले स्थान पाउनु स्वाभाविक हो तर सुशान्तको मृत्युको विषय पनि चुनावको ठूलै मुद्दा बनिरहेको छ । बाढी तथा कोभिड व्यवस्थापनमा चुकेको भन्ने आरोप लागेकाले छवि जोगाउन भए पनि नीतीश कुमारलाई सुशान्तको मुद्दा उठाउने बाध्यता आइलागेको छ ।
विभिन्न दलका नेताहरूले स्थानीय बासिन्दाको भावनामा खेल्नका लागि सुशान्तको मृत्युलाई बिहारी अस्मितासँग जोड्ने गरेका छन् ।
यससँगै जातीय राजनीति पनि जोडिन पुगेको छ । समग्र भारतमा अनि अझ बिहारमा जातभातको राजनीतिले निकै महत्त्व राख्ने गर्छ ।
सुशान्त क्षेत्री राजपुत समुदायका व्यक्ति थिए । बिहारमा राजपुतहरूको संख्या लगभग ४ प्रतिशत मात्र छ तर राजनीतिमा उनीहरूको उपस्थिति बलियो रहेको देखिन्छ । त्यसैले क्षत्री समुदायको मत हासिल गर्न पनि दलहरू लागिपरेका छन् ।
जातीयसँगै क्षेत्रीय राजनीति पनि यसमा जोडिन पुगेको छ । बिहार र महाराष्ट्रका सरकारले सुशान्तको मृत्युका विषयमा आरोपप्रत्यारोप गरिरहँदा सुशान्तकी प्रेमिका रिया चक्रवर्तीको नाममा पनि क्षेत्रीय राजनीति भइरहेको छ ।
याले सुशान्तलाई लागूऔषध दिने गरेको र आफूले पनि लिने गरेको लागूऔषध नियन्त्रण ब्यूरोसमक्ष स्वीकार गरेपछि उनी र उनका भाइ शोभिकलाई पुर्पक्ष चलुञ्जेलका लागि कारागारमा राख्ने आदेश मुम्बईको अदालतले दिएको छ ।
रिया बंगाली ब्राह्मण हुन् । बंगालकी छोरीलाई मिडिया तथा एनसीबीले अनावश्यक रूपमा दुःख दिइरहेको भनी कांग्रेस सांसद अधीर रञ्जन चौधरीले संसदमा बयान नै दिएका छन् । उनको बयानपछि कांग्रेस कार्यकर्ताहरूले कोलकातामा रियाको पक्षमा जुलूस नै निकालेका थिए । अर्को वर्ष पश्चिम बंगालमा हुने विधानसभा निर्वाचनलाई दृष्टिगत गरी यस्तो जुलूस निस्केको हो ।
यसैबीचमा बलिउड अभिनेत्री कंगना रनावतले पनि सुशान्तको मृत्युलाई राजनीतीकरण गरिरहेकी छन् । मुम्बई प्रहरीले उनकै शब्दमा ‘बलिउड माफिया’ सँग मिलेर काम गरिरहेको अनि सुशान्तको मृत्यु अनुसन्धानमा महाराष्ट्र सरकारले उचित कारवाही नगरेको भनी कंगनाले आलोचना गरिन् ।
त्यसपछि महाराष्ट्रका गृहमन्त्री अनिल देशमुखले कंगनालाई मुम्बईमा बस्ने कुनै हक नभएको भन्दै छोडेर जान भने । यो सुनेर तिलमिलाएकी कंगनाले मुम्बईको तुलना पाकिस्तान अधीनस्थ कश्मीरसँग गरिन् । अनि महाराष्ट्रमा सत्तारूढ शिवसेनालाई उनले सोनिया सेना नाम दिँदै कांग्रेसको पुच्छर बनेको भन्दै गिल्ला पनि गरिन् ।
त्यसपछि शिवसेनाका नेता सञ्जय राउत र कंगना रनावतबीच आरोपप्रत्यारोपको सिलसिला चल्यो र त्यसक्रममा अभद्र भाषाको समेत प्रयोग भए । महाराष्ट्रीय मूलका कलाकारहरूले पनि कंगनाको आलोचना गरे र कंगनाले उनीहरूलाई निर्मम जवाफ फर्काइन् ।
कंगनाको मुम्बईस्थित कार्यालयमा अवैध निर्माण गरिएको भन्दै बृहन्मुम्बई म्युनिसिपल कर्पोरेसनले त्यसलाई भत्काएपछि कंगनाले भिडियो सन्देश जारी गर्दै महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेको कठोर आलोचना गरिन् र बाबरका सेनाले अयोध्यास्थित राम मन्दिर भत्काएकोसँग त्यसको तुलना गरिन् ।
कंगनाले खुलेर भारतीय जनता पार्टीको समर्थन गर्दै देवेन्द्र फणनवीस महाराष्ट्रको मुख्यमन्त्री भएको भए यस्तो स्थिति आउने थिएन भनिन् । उनलाई केन्द्रमा सत्तारूढ भाजपाले पूर्ण समर्थन गरेको छ र वाई प्लस स्तरको कडा सुरक्षा समेत उपलब्ध गराएको छ ।
कंगनाको राजनीतिक उदयको टर्निङ पोइन्टका रूपमा रहेको यो प्रकरणमा भारतीय समाजशास्त्रीहरूले जातीय राजनीतिका अनेकौं आयामहरूका विषयमा विश्लेषण गरेका छन् । सुशान्तको पक्षमा कंगना खुलेर आउनुमा बलिउडमा बाहिरियाको संघर्षप्रति कंगनाको सहानुभूतिका साथै जातीय सामीप्य पनि कारण रहेको उनीहरूको मत छ ।
सुशान्त क्षत्री थिए र कंगना पनि त्यसै समुदायकी हुन् । ट्विटरमा आक्रामक तेवर देखाउने क्रममा उनले आफू क्षत्राणी भएको बताउँदै लडाइँ शुरू नगर्ने तर शुरू भएको लडाइँ टुंग्याएरै छाड्ने भनी उद्घोष गरिन् ।
अनि हिन्दी फिल्म उद्योगमा मुम्बईको महत्त्व घटुवा गर्ने उद्देश्यले उत्तर प्रदेशमा फिल्म सिटी बनाउने घोषणा गरेका मुख्यमन्त्री योगी आदित्यनाथ पनि क्षत्री समुदायकै हुन् ।
भारतको राजनीतिमा मुसलमान अल्पसंख्यकहरूलाई पूर्णतः किनारीकृत गरेको भाजपा–आरएसएसले ऐतिहासिक रूपमा हिन्दू धर्मको मूल्यमान्यतालाई अक्षुण्ण राख्ने भनी परिचित क्षत्री समुदायलाई राजनीतिमा अघि बढाउने कोशिश गरिरहेको छ । मोदीका उत्तराधिकारीका रूपमा योगी आदित्यनाथलाई त्यसैअनुरूप सारिँदैछ ।
यससँगै सुशान्तको मृत्यु प्रकरणमा लागूऔषधको मुद्दा जोडिएपछि बलिउडका अनेकौं कलाकार त्यसमा मुछिएका छन् र त्यसक्रममा पनि राजनीति भएको छ । अरूभन्दा बढी दीपिका पादुकोणको खेदो खनिएको छ । उनी एनसीबीले गरेको सोधपुछका क्रममा रोएकी छन् ।
दीपिकाले पोहोर साल दिल्लीको जवाहरलाल नेहरु विश्वविद्यालयमा मोदी सरकारविरुद्ध विद्यार्थीहरूले गरेको प्रदर्शनमा मौन उपस्थिति जनाएकाले अहिले उनलाई तारो बनाइएको भन्ने विश्लेषणहरू आइरहेका छन् ।
मोदी सरकारको समर्थन गर्ने बलिउड कलाकारको संख्या दिनादिनुदिन बढिरहेको छ तर उम्दा तथा प्रभावशाली कलाकार र निर्देशकहरू अझै पनि विरोधी खेमामै देखिन्छन् ।
ती विरोधीहरूलाई पनि आफ्नो खेमामा ल्याउन सरकारले दबाब तथा प्रलोभन दुवैथरी उपायहरू अपनाइरहेको विश्लेषकहरूको मत छ । दीपिका पनि त्यसैको दबाबमा परेकी देखिन्छिन् ।
यसरी सुशान्त सिंह राजपुतको मृत्यु प्रकरण विधिवत अनुसन्धानबाट टुंगिनुपर्नेमा अनेक किसिमका राजनीतिको शिकार बनिरहेको देखिन्छ ।
यस प्रकरणले भारतको राजनीति कुन दिशामा अघि बढ्न खोजिरहेको छ भन्ने संकेत पनि दिएको छ ।
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...