०२ साउन २०८३, शनिबार

यातायात कार्यालयमा कोरोनालाई गिज्याउने लाइन– सरकारलाई राजस्व बुझाउन पनि यस्तो हैरानी ?

असोज १५, २०७७
यातायात कार्यालयमा कोरोनालाई गिज्याउने लाइन– सरकारलाई राजस्व बुझाउन पनि यस्तो हैरानी ?

‘दुई तिहाइको सरकार छ भन्छन्, पोहोर पनि यस्तै भीड थियो, अहिले पनि यस्तै छ, के गर्छन् होला तिनीहरूले,’ मलिन अनुहार लिएर सडक छेउमा बसिरहेका एक व्यक्ति भन्दै थिए, ‘कोरोनाभाइरसले सबैतिर सखाप पारिसक्यो, हामीलाई पनि लाग्ने पो हो कि !’

सवारी साधनको राजस्व तिर्नका लागि बिहानैदेखि लाइनमा लाग्नेहरूको पीडा हो यो । 

उनीमात्रै हैनन्, काठमाडौं धुम्बाराहीका शेरबहादुरको पनि गुनासो र मनमा त्रास उस्तै थियो । भोको पेटमै बिहान ७ बजे सातदोबाटो आएर लाइनमा बसेका उनले साढे १ बजेसम्म पनि पालो पाएका थिएनन् । 

‘बिहान ७ बजेतिर आइपुगेको थिएँ, महालक्ष्मी थानसम्म लाइन थियो । भोकै छु, खाना पनि खाएको छैन, भोक लागिसक्यो सर...’ लोकान्तरकर्मीसँग उनले भने, ‘म त छिट्टै आएँ जस्तो लाग्थो, सबैभन्दा लास्टमा परेछु ।’

यो त भयो शुरूआती लाइनमै बसिरहेकाहरूको पीडा । यता यातायात कार्यालयको सिस्टममा समस्या देखिएको भन्दै टोकन पालोमा परेपनि राजस्व तिर्न नपाउनेहरूको पनि लाम बाक्लै छ । 

गोदावरीबाट आएका एक युवकले भने, ‘टोकनको पालो त आयो, तर कर प्रिन्ट निस्किएको छैन । सिस्टममा खराबी आएको भन्छन्, कतिञ्जेल बस्नु खै ।’ 

‘३/४ घन्टा लाइनमा बसेपछि टोकनको पालो आयो । तर सिस्टम बिग्रिएको भन्दै कर प्रिन्टका लागि भोलिलाई बोलाएका छन्,’ उनले भने ।

कोरोना महामारीका कारण सरकारले चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको थियो । साउन मसान्तसम्म कर तिर्ने समय भएपनि लकडाउन तथा निषेधाज्ञाका कारण सेवाग्राहीहरू कर तिर्नका लागि जान सकेनन् । 

महामारीलाई ध्यानमा राखेको भन्दै यातायात व्यवस्था विभागले त्यसपछि अर्को निर्णय नभएसम्मका लागि भन्दै सम्पूर्ण सेवा स्थगित गर्‍यो । 

असोज १ गतेदेखि लकडाउन र निषेधाज्ञा पूर्ण रूपमा अन्त्य गरेपश्चात अहिले यातायात कार्यालय सातदोबाटोमा सवारी साधनको राजस्व तिर्न दैनिकजसो भीड लाग्ने गरेको छ । 

बिहानैदेखि लाइनमा बस्दै कतिपयले दिउँसोसम्ममा कर तिरेर फर्कन्छन् भने कतिपय भोलिपल्ट दोहोर्‍याएर आउन बाध्य छन् । 

पछिल्ला दिनमा निकै व्यस्त रहने यातायात कार्यालयमा सामाजिक दूरी अथवा भौतिक दूरीको पनि पालना छैन । कर तिर्न गएकाहरू कोरोनाभाइरस (कोभिड– १९) सर्ने त्रासमा घर फर्कन बाध्य छन् ।

यातायात कार्यालय भन्छ– सबै काम नर्मल भइरहेका छन् 

यातायात व्यवस्था कार्यालय एकान्तकुनाका सूचना अधिकारी लेखनाथ खतिवडा राजस्व संकलनको काम सामान्य गतिमा नै भइरहेको बताउँछन् ।

लोकान्तरसँग उनले भने, ‘बिहान १० बजेदेखि बैंक खुल्ने समयसम्म काम हुने हो, हामीले काम गरिरहेका नै छौं ।’

उनले छिटो कर तिर्ने आशामा बिहानै आउनेहरूको बाक्लो भीड कार्यालय हातामा रहेको बताउँदै यसमा उनीहरूले नै ध्यान दिनुपर्ने बताए । 

कोरोना महामारीका बीचमा पनि काम गर्नुपर्दा केही अव्यवस्थित जस्तो लागेपनि काम निरन्तर भइरहेको उनी बताउँछन् । उनले भने, ‘काम निरन्तर भइरहेका छन्, बाहिर भीड मात्रै बढेको हो ।’

उनले कोरोनाको महामारीका बीचमा कार्यालय बन्द गर्नुपरेको र अहिले खोल्दा सेवाग्राहीको भीड बढ्नु स्वाभाविक भएको बताए ।  

‘शुरूका केही दिनमा जोरबिजोर तथा टोकन राखेर सेवा दिँदा सेवाग्राहीले ‘सिन्डकेट’ लगाएको भन्दै गाली गरेपछि हामीले आएका जतिलाई सेवा दिन थालेका हौं, यसो हुँदा भीड त बढ्छ,’ उनले भने, ‘यसको व्यवस्थापनमा आजको भोलि केही गर्न सकिने अवस्था छैन ।’

अनलाइनमा समस्या, काममा हैरानी   

टोकन अनुसार राजस्व बुझाउने पालोमा पुगिसकेका सेवाग्राही भीआरएस (भेहिकल रजिस्ट्रेसन सिस्टम) सर्भरमा समस्या आएको भन्दै त्यहाँ रोकिन्छन् । कर प्रिन्टको काम रोकिँदा उनीहरू लामो समयसम्म पालो कुरेर बसिसक्दा पनि त्यसै घर फर्कन बाध्य छन् । 

कार्यालयले भने आफूहरू युजरमात्रै भएको भन्दै सिस्टमको ह्यान्डलिङ सबै नियामक निकाय यातायात व्यवस्था विभाग मीनभवनले गर्दै आएको बताउँछ ।  

यसबारे, विभागका सूचना अधिकारी लोकनाथ भुसाल विना तयारी परीक्षणका लागि सानो गोरेटो बनाउँदा समस्या आएको बताउँछन् । 

लोकान्तरसँग उनले भने, ‘हामीले परीक्षणका क्रममा सानो गोरेटोजस्तो सर्भर विकास गरेका थियौं, त्यो गोरेटोमा सानाठूला गाडी पसाएजस्तै धेरै काम गर्न खोज्दा समस्या आयो ।’

यसलाई सुधार गर्नका लागि काम शुरू भइसकेको र अन्तिम चरणमा पुगेको उनले बताए । 

उनले भने, ‘तत्कालै सम्भव हुँदैन, सरकारी प्रक्रिया हो, खल्तीको पैसा खर्च गर्ने होइन, अर्को पटकबाट यो समस्या हट्छ भन्ने विश्वास छ ।’

महामारीका बेलामा सामाजिक दूरीसमेत कायम नगरी भीडभाड गरेको र काममा समस्या आएको गुनासो आएसँगै विभागले आइतवार उपयुक्त प्रविधिको प्रयोग गरी सहज व्यवस्थापन गर्न प्रदेश मातहत रहेका सबै यातायात कार्यालयलाई निर्देशन दिएको बताए । 

उनले भने, ‘कर्मचारीले पनि आलोपालो काम गर्नुपर्दा काममा केही ढिलाइ र चाप बढेको देखियो ।’

अनलाइन पेमेन्ट कहिले ? 

महामारी बढ्दै जाँदा सबैजसो सरकारी तथा गैर सरकारी निकायहरू अनलाइन प्रणालीमार्फत् भुक्तानी गर्दै आइरहेका छन् । तर यातायात क्षेत्रमा भने यसो हुन सकेको छैन । 

तत्कालै अनलाइन प्रणालीमार्फत भुक्तानी गर्न सम्भव नभएको भन्दै प्रक्रिया थाल्न प्रदेश सरकारलाई निर्देशन दिइसकेको विभागका सूचना अधिकारी भुसाल बताउँछन् । 

salt training

कमेन्ट गर्नुहोस्