२२ असार २०८३, सोमबार

सुत्नुअघि नातिनीको गीत सुन्न छुटाउँदैनन् प्रचण्ड, सोध्छन् – कति भ्यू भयो ?

कात्तिक १४, २०७७
सुत्नुअघि नातिनीको गीत सुन्न छुटाउँदैनन् प्रचण्ड, सोध्छन् – कति भ्यू भयो ?

परिवारका सबैजसो सदस्य राजनीतिक क्षेत्रमा क्रियाशील भइरहेका बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी स्मिता दाहाल संगीत क्षेत्रमा लागिरहेकी छन् ।

पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष प्रचण्डकी नातिनी स्मिताले छोटो समयमै संगीत उद्योगमा निकै फड्को मारेकी छन् ।

स्मिताको लोभलाग्दो क्रेज देखेर परिवारका सबै सदस्य अचम्मित छन् । ‘मेरा गीत सुनेर सबै मख्ख छन्, खुशी हुन्छन्,’ स्मिताले भनिन्, ‘मलाई सबैले हौसला दिन्छन् ।’

पछिल्लो समय गायन क्षेत्रमा चम्किएका थोरै कलाकारमध्ये पर्छिन् स्मिता । एकपछि अर्को गीत बजारमा ल्याइरहेकी स्मिताले अब यसै क्षेत्रमा भविष्य स्थापित गर्ने निर्णय गरेकी छन् । 

पारिवारिक पृष्ठभूमि राजनीति भए पनि स्मितालाई कहिल्यै राजनीतिमा ‘करिअर’ बनाउने सोच आएन । बिहान उठेर देशको राजनीति क्षेत्रबारे चासो राख्ने, सरकारको कामबारे सोधपुछ गर्ने, विभिन्न मिटिङमा व्यस्त हुने उनका परिवारका अन्य सदस्य जस्तो उनको दिनचर्या छैन । स्मिताको दिनचर्यामा बिहानदेखि साँझसम्म संगीत छुट्दैन । राजनीतिमा धेरै व्यस्त रहने उनका हजुरबुवा प्रचण्डले स्मिताको दिनचर्याबारे चासो राख्छन् ।

हालै लोकान्तरसँगको कुराकानीमा स्मिताले आफ्ना हजुरबुवाबारे एउटा अचम्मको रहस्य खोलेकी छन् । ‘हरेक हजुरबुवाले आफ्ना नातिनातिनीलाई माया गर्छन् तर मेरो हजुरबुवाले अति माया गर्नुहुन्छ,’ स्मिता भन्छिन्, ‘अब कस्ता खालका गीत ल्याउँदैछौं । दर्शकले कस्तो खालका गीतको अपेक्षा गरेका छन् । कहाँ जाँदैछौं । के गर्दैछौं । जस्ता हरेक कुराको चासो राखिरहनुहुन्छ ।’ 

हजुरबुबाले भ्याएसम्म आफ्नो संगीत क्षेत्रबारे सधैजसो चासो राख्ने गरेको उनले बताइन् । ‘मेरा अहिलेसम्मका सबै गीत उहाँले सुन्नुभएको छ । साँझ खाना खाने बेलामा राजनीतिभन्दा धेरै मेरै गीतबारे घरमा कुराकानी हुन्छ,’ उनी थप्छिन्, ‘कहिलेकाहीँ एकदमै व्यस्त भए फरक कुरा हो, नत्र हजुरबुवा मेरो गीत सुन्दै राति निदाउनुहुन्छ ।’ 

आफ्ना गीतका भिडियोमा कति भ्युज आएका छन्, कति शेयर भएका छन् जस्ता स–साना कुरामा समेत चासो राख्ने गरेका स्मिताले बताइन् । 

त्यसो भए प्रचण्डले स्मिताको सबैभन्दा मन पराउने गीत कुन हो त ? उनले भनिन्, ‘नयाँ गीत आएपछि त्यो सुनिहाल्नुहुन्छ । तर मैले महसूस गरेअनुसार ‘बिगार्दैन कसैको केही’ अन्य गीतको तुलनामा धेरै मन पराएको गीत हो ।’ यो गीत स्मिता १४ वर्षको हुँदा बजारमा आएको हो, जसको भिडियो भने निर्माण भएको छैन ।

salt training

कमेन्ट गर्नुहोस्