दाङको थारू संग्रहालय अवलोकन गर्नेको संख्यामा वृद्धि भएको छ ।
थारूको परम्परालाई हेर्न माघीको अवसरमा संग्रहालय पुग्नेको भीडभाड बढेको हो ।
दङ्गीशरण गाउँपालिका–३ चखौरास्थित संग्राहलय पुग्नेको संख्या थामी नसक्नु रहेको महतवा महासंघका केन्द्रीय अध्यक्ष तथा संग्रहालय निर्माणका पहलकर्ता डिल्लीबहादुर चौधरीले बताए ।
लुम्बिनी प्रदेशसभा सदस्य समेत रहेका चौधरीले भने, ‘हामीले थारूको कला, संस्कार, संस्कृति तथा परम्परालाई जोगाउन यो संग्राहलयलाई निर्माण गर्यौं, अहिले कला, संस्कार, संस्कृति बुझ्न माघीको अवसरमा यहाँ आउनेको संख्या निकै धेरै रहेको छ ।’
माघ १ गते करीब ३ हजारको हाराहरीमा संग्रहालय अवलोकन गरेको थियो भने माघ २ गते करीब ५ हजारले अवलोकन गरेका उनले जानकारी दिए । माघीको अवसरमा झनै धेरैले अवलोकन गरेको उनको भनाइ छ ।
थारू समुदाय मात्रै नभई हरेक समुदायले थारू संग्रहालय अवलोकन गर्ने गरेको भन्दै यसले थारूको कला, संस्कृति, परम्परा जीवन्त राख्न मद्दत पुग्ने उनको भनाइ छ । संग्रहालयमा थारू संस्कृति, परम्परा, कलासँग जोडिएका चित्र, मूर्ति, नक्सा, पोशाक, गहना र परम्परागत सामग्री राखिएका छन् ।
थारू जातिका परम्परा, नाचगान, चाडपर्व र सामाजिक जीवन झल्किने चित्र घरको भित्तामा सजिएका छन् । यस्ता सामग्री हेर्नका लागि दिनप्रतिदिन मानिसको घुइँचो लाग्ने गरेको छ ।
थारू गाउँको झल्को दिने परम्परागत घर, कोठा र देउता पनि राखिएको छ । थारू समुदायका पुराना गहना र कपडा पनि संकलन गरिएका छन् । थारू राजाले कसरी राज्य सञ्चालन गरेका थिए भन्ने झल्काउन मूर्ति र नक्सा कोरिएको छ ।
नेपालका सबै थारूको इतिहास संरक्षण हुने गरी संग्रहालय निर्माण गरिएको प्रदेशसभा सदस्य चौधरीले बताए ।
रासस