
कुनै जमानामा कालिजको शिकार गर्नेहरूको बिगबिगी थियो । कालिजको मासु खान निकै कठिनाइ पनि थियो ।
जंगलमा चोरीशिकारी गरेर ल्याएको कालिज निकै महंगोमा बिक्री हुन्थ्यो । तर अहिले कालिजका यावत् परिकार शहरका रेस्टुरेन्टमा सहज रूपमा मेनु हेरेर खान सकिन्छ ।
कालिजको परिकार पस्कने रेस्टुरेन्टहरू राजधानी काठमाडौंमा दर्जनौं खुलेका छन् । पछिल्लो समय त राजधानी बाहिर पनि कालिजका परिकार पस्कने होटल रेस्टुरेन्टहरू उल्लेख्य वृद्धि भएका छन् । कालिजको मात्र परिकार पस्कन खोलिएको राजधानीस्थित कपन गुम्बाको वृक्षालय रिसोर्ट एन्ड कालिज फार्मलाई स्थानीयले जति मन पराएका छन्, त्योभन्दा ज्यादा विदेशीको घुइँचो लाग्ने गर्छ ।
रिसोर्टका सीईओ सन्तोष कुँवर भन्छन्, ‘हामीले यहाँ कोदो फापरको ढिडो कालिजको झोल मासु सेट पस्कन्छौं र कालिजका अन्य परिकार पनि ।’ उनले आफ्नै रिसोर्टभित्र दर्जनौं कालिज पालेका छन् । पार्टनरमा कालिज विशेषज्ञ साथी वासु बस्नेतलाई पनि आफ्नो व्यवसायमा सामेल गराएका छन् ।
कुँवरले कालिजका परिकार रिसोर्टमा मात्र बिक्री नगरेर फूड ट्रकमा पनि आफ्नो व्यवसाय फिजाएका छन् । कालिजका विभिन्न परिकार तयार गरेर ट्रकमा हाली ठाउँठाउँमा बिक्री गर्दैगर्दा कालिजका परिकार चाख्नेहरूको भीड नै लागेको हुन्छ ।
विदेशी भूमिमा होटल रेस्टुरेन्टमा १६ वर्ष काम गरेको अनुभव नौलो रूपमा प्रयोग गर्न कालिज फार्ममा लागेको कुँवर बताउँछन् । कुँवरजस्तै अन्य व्यवसायी पनि कालिजप्रति आकर्षित भएका छन् । राजधानीका ठाउँठाउँमा कालिजपालन सँगसँगै रेस्टुरेन्ट पेशा सफल हुँदै गएको छ ।
नेपाल कसरी शुरू भयो कालिज व्यवसाय ?
नेपालमा कालिज शिकार गर्न र बेचबिखन गर्न कानूनी बन्देज हुँदा बेल्जिम, जर्मनी र युरोपका अन्य देशबाट अण्डा झिकाएर ह्याचरी गरी चल्ला उत्पादन गरेर हुर्काइएका हुन् । जुन व्यावसायिक रूपमा नेपालभर फिजिएको छ ।
नेपालमा नौलो व्यवसाय भएका कारण धेरै युवाहरू विदेशबाट फर्केर कालिजपालन र यसका परिकार बेच्ने पेशामा लागेका छन् । कालिजका लागि पहाडी हावापानी राम्रो हुने भए तापनि जोखिम मोलेर यसको व्यवसाय तराई भेगमा पनि शुरू गरिएको छ ।
कालिजलाई ६ महिना पाल्नासाथ खानको लागि तयार हुन्छ र यसको साइज औसतमा भाले डेढ किलोग्राम र पोथी एक किलो हुन्छ । स्वास्थ्यका हिसाबले निकै पोषिलो मानिने कालिजको मासु अन्य कुखुरा–हाँसभन्दा तिख्खर र स्वादिलो हुन्छ । नेपालमा करीब १५० जति कालिजका फार्महरू रजिस्टर भएको पाइन्छ । खानमा स्वादिलो मासु र बोसो कम हुने भएकाले यसको मासु बजारमा अत्यधिक रुचाइने गरिन्छ । यसको महत्त्व मासु मात्र नभएर अहिले कृषि पर्यटनसँग जोडेर हेर्न थालिएको छ ।
कालिजको अण्डाको बजार मूल्य ठाउँ अनुसार ७०० देखि ७५० रुपैयाँ छ । एउटा वयस्क कालिजको अहिलेको बजार मुल्य २ हजार ५०० देखि ३ हजार ५०० रुपैयाँसम्म छ । कालिज नरभक्षी चरा भएकाले यसले अरु कमजोर चल्लालाई आक्रमण गर्छ । एकदिन देखि ४५ दिनसम्म यो कुराको विशेष ध्यान दिनुपर्छ, किनकि यो बेलामा चल्लाले आफ्नो सुरक्षा गर्न सक्दैनन् ।
यसबाट बचाउन पहिलो पटक चल्लालाई १ हप्ताको उमेरमा २०% चुच्चो डाम्ने गरिन्छ । करीब ७–८ हप्तामा पनि कालिजलाई फेरि दोस्रो पटक चुच्चो डाम्ने वा काट्ने गरिन्छ । यसको लागि नजिकैको एग्रो भेटमा वा विज्ञसँग सम्पर्क गर्नुपर्ने हुन्छ । चुच्चो काट्न सम्भव नभएमा मास्कको पनि प्रयोग गर्न सकिन्छ ।
नियमित कालिजको मासु खाँदा हुने स्वास्थ्य सम्बन्धी फाइदा
– कालिज एक प्राकृतिक आहार भएकाले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ ।
– कोल्स्टरको समस्या हुनेका लागि उत्तम मासु ।
– वजन घटाउन चाहनेहरूका लागि कालिजको मासु राम्रो मानिन्छ ।
– कालिजमा बोसोको मात्र कम हुने हुँदा कुखुरा जस्तो बोसिलो हुन्न ।
– कडा व्यायाम गर्नेहरूका लागि कालिजको मासु उत्तम आहार मानिन्छ, जसले मसल टाइट बनाउन मद्दत गर्छ ।
– कालिजको मासुलाई उच्च प्रोटिन प्राप्त हुने मासुमा गणना गरिन्छ ।
– आइरनको मात्रा पनि कालिजको मासुमा उच्च मात्रामा प्राप्त हुन्छ ।
– पोटासियम पर्याप्त हुने हुँदा कार्डियोभास्कुलर स्वास्थ्यमा सहयोगी सावित ।
– भिटामिन्स र मिनरल्सको पर्याप्त स्रोत मानिन्छ ।
– बुढादेखि बच्चासम्म सबैलाई फाइदा हुने हुँदा पारिवारिक संयुक्त भोजनका लागि राम्रो शिकार ।
के–के परिकार बन्छ कालिजको मासुबाट ?
कालिजलाई युरोपतिर सिङ्गै रोस्ट बनाएर खाने चलन भए तापनि नेपालमा भने यसका दर्जनौं परिकार तयार गरिन्छ । काठमाडौंको कालिज रेस्टुरेन्टमा पुग्नुभयो भने तपाईंले कालिजका यावत् परिकारको छुट्टै मेनु पाउनुहुन्छ, जसमा कालिज चिल्ली, कालिज छोइला, कालिज सादेको, कालिजको सुकुटी, कालिजको सुप, कालिज खाना सेट, कालिज ढिडो सेट, कालिज सेकुवा, कालिज फ्राइ जस्ता छन् ।
वृक्षालय रिसोर्टका सञ्चालक सन्तोष कुँवरको भनाइमा नेपालीहरूले सबैभन्दा बढी मन पराउने कालिजको परिकारमा झोल हालेर नेपाली शैलीमा बनाएको हो ।