लोकान्तर खोज : भाग- २

उडानको अवसरमा फ्लाइट निर्देशकको मनोमानी, विदेशी पाइलटलाई आयकर कट्टा नगरी पारिश्रमिक भुक्तानी

अजय अनुरागी
अजय अनुरागी

अजय अनुरागी लोकान्तरका लागि खोज, राजनीति र समसामयिक विषयवस्तुमा कलम चलाउँछन् ।

उडानको अवसरमा फ्लाइट निर्देशकको मनोमानी, विदेशी पाइलटलाई आयकर कट्टा नगरी पारिश्रमिक भुक्तानी

पाइलटहरूलाई तालिम दिने संस्था छनोटमा कम शुल्क तोक्नेलाई लत्याउँदै बढी शुल्क तोक्नेलाई टेण्डर दिने वायु सेवा निगममा यसका अलावा पनि अनेक खालका बेथिति पाइएको छ ।


Advertisement

फ्लाइट अपरेशन निर्देशक दीपुराज ज्वार्चनले मनोमानी ढंगले पाइलटहरूलाई उडानको अवसर दिने तथा निगमले विदेशी पाइलटहरूलाई पारिश्रमिक भुक्तानी गर्दा आयकर समेत कट्टा नगर्ने गरेको पाइएको हो ।


Advertisement

वायु सेवा निगमका सम्बन्धमा लोकान्तर खोजको दोस्रो अंकमा यिनै बेथितिहरूबारे विस्तारमा चर्चा गर्दैछौं ।

आयकर ऐनअनुसार कर काटी पारिश्रमिक उपलब्ध गराउनुपर्नेमा सो नगरी आयकर समेत निगमले नै भुक्तानी गर्ने गरेको पाइएको छ ।


Advertisement

कोरोना महामारीको समयमा विमान सञ्चालन नभए पनि विदेशी चालकहरूलाई निगमले तलब/भत्ता दिनुका साथै उनीहरूको आयकर समेत भुक्तानी गरेको थियो ।

सन् २०२० को जनवरीदेखि नोभेम्बरसम्ममा विदेशी चालकहरूलाई कुल १६ करोड ८७ लाख १५ हजार ५८३ रुपैयाँ तलबबापत निगमले पारिश्रमिक दिएको छ।

जसमध्ये ५ करोड ८८ लाख ८१ हजार ५८७ रुपैयाँ करबापतको रकम समेत निगमले नै तिरेको छ । डिसेम्बर महिनापछि १५ मध्ये ८ जना चालकलाई निगमले टर्मिनेट गरेको छ भने १ जनालाई बेतलबी बिदा दिएको छ। बाँकी ६ जना विदेशी चालकलाई कायमै राखिएको छ।

यकरको समबन्धमा सम्बन्धित श्रमिकको पारिश्रमिकबाट कट्टा गरी बाँकी रहेको रकम मात्र भुक्तानी हुनुपर्ने कानूनी व्यवस्थालाई लत्याउँदै निगमले आयकर समेत भुक्तानी गरेको हो ।

निगमको काममा नियुक्त विदेशी श्रमिकहरूलाई नियुक्ति दिँदा आयकरको कुरा स्पष्ट नगरी एकमुष्ट रकम प्रदान गर्ने गरी सम्झौता गरेको पाइएको छ।

'आयकरबापतको रकम वायु सेवाको कोषबाट भुक्तानी भएको देखिँदा विधिसम्मत देखिएन,' राष्ट्रिय शतर्कता केन्द्रले गरेको छानबिन प्रतिवेदनमा उल्लेख छ ।

कानूनले तोकेको प्रावधान लत्याउँदै आफूखुशी पाइलटलाई उडान

निगमको कर्मचारीहरूको सेवा, शर्तसम्बन्धी विनियमावली, २०५८ को विनियम १३३ मा भत्तासम्बन्धी व्यवस्था राखिएको छ। उक्त व्यवस्थाअनुसार निगमका कर्मचारीहरूले अनुसूची १२ मा उल्लेख भएबमोजिम भत्ता पाउने उल्लेख छ। भत्ता वितरणमा पनि ज्वार्चनले काखापाखा गरेको पाइएको छ।

उक्त कानूनी व्यवस्था हेर्दा पाइलटहरूलाई महिनामा कम्तिमा ४५ घण्टा उडान समयको प्रत्याभूत गरेको र सोबापत सुविधा दिने कुरा उल्लेख छ। अपरेसन विभागको निर्देशकले कुनै भेदभाव विना सकेसम्मको उडान गर्न दिने र प्रत्येक महिना २ वा सोभन्दा बढी पाइलटहरूको १५ घण्टाभन्दा बढीको उडान घण्टाको फरक परेमा त्यसको जस्टिफिकेसन् दिनुपर्ने बाध्यात्मक व्यवस्था गरी  पाइलटहरूको सेवा सुविधा प्रत्याभूत गरेको छ।

तर नेपाल वायु सेवा निगमका फ्लाइट अपरेशन विभाग निर्देशक दीपुराज ज्वार्चनले भने कानूनले गरेको बाध्यात्मक व्यवस्थालाई नजरअन्दाज गर्दै आफूखुशी कुनै पाइलटलाई १ सय घण्टा उडान गर्न लगाएका छन् भने कसैलाई १ घण्टा पनि उडान भर्न दिएका छैनन्। यस्तो उडान घण्टा फरक परेको कुरालाई पुष्ट्याइँसहित कार्यालय प्रमुखलाई जानकारी गराउनु पर्ने कुरालाई समेत ज्वार्चनले पालना गरेका छैनन्।

त्यसैगरी १ वर्षको उडान घण्टा हेर्दा स्वदेशी पाइलटहरूबीच ४ सय घण्टासम्म फरक परेको देखिन्छ। कुनै पाइलटलाई शुन्य घण्टा उडान दिएर अन्याय गरिएको छ भने विदेशी पाइलटहरूलाई उडानै नगरी वा अत्यन्त न्यून उडान गरेको भरमा करोडौं भुक्तानी गरेको पाइएको छ ।

'अपरेशन विभागले मनोमानी ढंगबाट आफूखुशी उडान तालिका बनाई कानूनले तोकेको प्रावधान समेत पालना नगरी तोकिएको जिम्मेवारी पूरा नगरी नियमविपरीत कार्य गरी पाइलटहरूलाई अन्याय गरेको देखिएको छ,' राष्ट्रिय सतर्कता केन्द्रले गरेको छानबिन प्रतिवेदनको सुझावमा लेखिएको छ।

यस कार्यमा संलग्न जिम्मेवार पदाधिकारीलाई कानूनबमोजिमको कारवाही समेत गरी उडानमा समान सहभागिता एवं समान पहुँचको व्यवस्था मिलाउन निर्देशन दिने मनासिव हुने तथा त्यसको अनुगमन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सुझाव केन्द्रले दिएको छ ।

राजीनामा दिएका पाइलटलाई राजीनामा फिर्ता गराएर तालिम, तालिमबापतको ३० लाख रकम असुल गर्न निर्देशन  

निगमले २०७५ फागुन २८ गतेबाट निगममा कार्यरत प्रशिक्षक पाइलट क्याप्टेन गोपालसिंह विष्टको उमेर ५८ वर्ष पूरा हुने भएकाले निगमको सेवाबाट अनिवार्य अवकाश हुने व्यहोरा सहितको अग्रिम जानकारीको पत्र निगमले २०७५ माघ २८ गते पठाएको थियो।

निगमका कर्मचारी सेवा, शर्तविनियमावली, २०५८ को विनियम ६३ अनुरुप उमेर हदको कारण निगमको सेवाबाट अनिवार्य अवकाश हुने व्यहोरासहितको पत्र उनलाई अवकाश पाउने मितिभन्दा एक महिना पहिले नै निगमले दिएको थियो ।

२०७५ फागुन २२ गते निगमको टिप्पणीमा निगमको अपरेशन विभागमा उड्डयन सेवाअन्तर्गतको वरिष्ठ कप्तान पदमा कार्यरत विष्टको अवकाश पत्रको जानकारी गराएपनि उनलाई ३ वर्ष सेवा अवधि थप्ने निर्णय समेत भयो।  विनियम ६३ को अनिवार्य अवकाश (क) ककपिट क्रु (विमान चालक) तर्फको सेवा निगमलाई अत्यावश्यक भई लिनु परेमा सेवाअवधि थप्न सकिने प्रावधान समेत छ।

उमेरको व्यवस्थाअनुसार र तोकिएको मापदण्डअनुसार मेडिकल स्तर कायम भएको र क्यानबाट रेटिङ लाइसेन्स भ्यालिड राखेका साथै सन्तोषजनक एवं स्तरीय सेवा प्रदान गर्दै आएका विमान चालकहरूलाई व्यवस्थापनको सिफारिशमा समितिको स्वीकृतिमा ६५ वर्षको उमेरसम्म निरन्तरता दिँदै जाने प्रावधान छ। 

५८ वर्ष पश्चात पटक/पटक गरी सेवा अवधि थप्न सकिने व्यवस्था भएअनुरूप विष्टलाई ३ वर्षका लागि म्याद थप गरिएको थियो। २०७५ फागुन २८ गतेदेखि लागू हुने गरी २०७८ फागुन २७ गते सम्मका लागि उनको सेवा अवधिको म्याद थप गरिएको थियो।

२०७२ असोज २९ गते निगमको सञ्चालक समितिको बैठकले तत्कालीन कार्यकारी प्रमुख सुगारत्न कंसकारलाई प्रत्यायोजन गरिएको अधिकार तत्कालीन कार्यकारी अध्यक्ष मदन खरेलले बहन गर्ने निर्णय गरेको आधारमा खरेलले विष्टको म्याद थप गर्ने निर्णय गरेको थियो।

उक्त निर्णय गर्नका लागि निगमको अपरेशन विभागले सिफारिश गरेको थियो।

त्यसपछि निगमले क्याप्टेन विष्ट र क्याप्टेन प्रसन्न राणालाई बहराइनमा ५७ दिनको तालिमका लागि खटाएको थियो।  ए३३० पी२ इनिसियल टाइप रेटिङका लागि तालिममा खटाइएको थियो।

निगमको विनियमावली,२०५८ को परिच्छेद १३ मा अध्ययन, तालिम तथा सेमिनारसम्बन्धी व्यवस्था गरिएको छ। कति दिनको तालिम लिएपछि कति दिनसम्म सेवा गर्नुपर्ने प्रावधानबारे उल्लेख गरिएको छ। जसअनुसार २ हप्तासम्म तालिम लिएकाले न्युनतम १ वर्षसम्म सेवा गर्नुपर्ने हुन्छ।

२ हप्तादेखि १ महिनासम्मको तालिम लिएपछि २ वर्षसम्म, १ महिनादेखि ३ महिनासम्मको तालिम लिएपछि ३ वर्ष सम्म, ३ महिनादेखि ६ महिनासम्मको तालिम लिएपछि ४ वर्षसम्म र ६ महिना देखि माथिको तालिम लिएपछि न्युनतम ५ वर्षसम्म सेवा गर्नुपर्ने हुन्छ।

त्यसैगरी ककपिट क्रु र प्राविधिक सेवाका इञ्जिनियरको तालिममा मनोनयन भई जाने कर्मचारीले पनि तालिम पूरा गरी फर्केपछि सेवा प्रदान गर्नुपर्ने उल्लेख छ। सेवा पुरा नगरेको खण्डमा उक्त कर्मचारीले निगमलाई रकम फिर्ता गर्नु पर्ने प्रावधान छ।

उक्त प्रावधान अनुसार आधारभूत वेडा तालिम लिएपछि ६ वर्ष सेवा गर्नु पर्ने, उक्त सेवा पूरा नगरे ३० लाख रुपैयाँ फिर्ता गर्नुपर्ने हुन्छ। त्यसैगरी कुनै पनि वेडामा पी-१ अपग्रेड तालिम लिएपछि ६ वर्ष सेवा दिनुपर्ने, सेवा पूरा नगरे ३० लाख रुपैयाँ तिर्नुपर्ने उल्लेख छ।

त्यसैगरी अन्य तालिमको पनि त्यस्तै प्रावधान छ। तालिम लिएपछि सेवा दिनैपर्ने र सेवा पूरा नगरे ३० लाख रुपैयाँ फिर्ता गर्नु पर्ने प्रावधान छ ।

तर, क्याप्टेन विष्टको हकमा सेवा अवधि कुल ३ वर्ष मात्र थपिएको छ। २०७८ फागुन २८ गतेदेखि उनको कार्यकालको म्याद सकिन्छ। उक्त अवस्थामा उनले ५७ दिनको तालिम लिएबापत ६ वर्षसम्म सेवा दिनसक्ने अवस्था छैन। त्यसमा पनि विष्टले लिएको तालिम नै उमेरको आधारमा लिन नमिल्ने उल्लेख छ।

अप्रेसन म्यानुअलको प्रावधानअनुसार विष्टको जागिर अवधि ६ वर्ष हुनुपर्ने तथा क्याप्टेनको रूपमा वायु सेवा प्रवेश गरेको व्यक्तिको उमेर ५५ वर्षभन्दा माथि रहेको अवस्थामा 'फ्लिट प्रोग्रेसन अपरच्युनिटी टू जेट फ्लीट' मा हुन नसक्ने प्रावधान छ। तर पनि विष्टलाई उक्त कानूनी प्रावधानविपरीत तालिम दिलाइएको छ।

उक्त घटनाको राष्ट्रिय सतर्कता केन्द्रले गरेको छानबिनबाट समेत विष्टलाई तालिममा पठाउने जिम्मेवार पदाधिकारीलाई कानूनबमोजिम कारवाही गर्न भनेको छ।

'वायुसेवाले निजलाई तालिममा अपनाउने कार्य विधिसम्मत देखिएन, तसर्थ यस्तो प्रकारको कानूनको उल्लङ्घन गर्ने कार्य गैरकानूनी देखिएको छ,' केन्द्रको छानबिन प्रतिवेदनमा उल्लेख छ।

उक्त कार्यमा संलग्न तथा सोको समर्थन गर्ने नागरिक उड्डयन प्राधिकरणका जिम्मेवार पदाधिकारीलाई कानूनबमोजिम कारवाही गरी उक्त तालिममा लागेको खर्च समेत असुलउपर गर्न सम्बन्धित निकायलाई निर्देशन दिन उपयुक्त देखिने प्रतिवेदनमा सुझाव दिइएको छ।

कोरोना महामारीमा उद्धार कर्मचारीको क्वारेन्टीनमा ३ करोड २१ लाख खर्च

गत वर्ष कोरोना महामारीका समयमा विभिन्न देशमा फसेका नेपालीहरूलाई स्वदेश फिर्ता ल्याउनका लागि निगमले उद्धार उडान गरेको थियो ।

उक्त उद्धार उडानमा खटिएका कर्मचारीहरूलाई उडान अवधिभर साथै उनीहरूको पीसीआर परीक्षणको नतिजा नेगेटिभ नआएसम्म व्यवस्थित तरिकाले गर्न काठमाडौंको पाँचतारे होटल सोल्टीमा राखिएको थियो।

उक्त होटलसँग सम्झौता गरी पाइलटहरूलाई क्वारेन्टीनमा राखिएको थियो। त्यसबापत निगमले सोल्टी होटललाई ३ करोड २१ लाख ९२ हजार २५० रुपैयाँ भुक्तानी गरेको थियो ।

पढ्नुहोस्, भाग १पाइलटलाई तालिम दिने संस्था छनोटमा गडबडी: कम शुल्कको प्रस्ताव लत्याउँदै बढी तोक्नेलाई टेण्डर'

अजय अनुरागी
अजय अनुरागी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्