
तोकिएको समयमा मल नल्याउने २ ठेकदार कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले असार २२ गते ती कम्पनीहरूलाई कालोसूचीमा राखेको हो ।
विभिन्न प्रक्रियागत अनुसन्धानपछि उनीहरूलाई कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।
‘अघिल्लो वर्षको पहिलो लटमा सैलुङलाई एक वर्ष कालोसूचीमा हालिएको थियो, अहिले यो त्यतिखेरको दोस्रो लटमा पनि मल ल्याउन नसकेकाले कालोसूचीमा राखिएको हो,’ खरिद अनुगमन कार्यालयका निर्देशक राजेश कुमार थापाले लोकान्तरलाई सँग भने ।
कम्पनीले सिफारिश गरेको मितिले ६ महिनाभित्रमा प्रक्रिया पूरा गरेर कालोसूचीमा राख्नुपर्छ, त्यसै प्रक्रिया अनुरूप कालोसूचीमा राखिएको उनले बताए ।
कार्यालयले सैलुङ कम्पनीलाई २०८० साउन ७ गतेसम्मका लागि कालोसूचीमा राखेको हो ।
कार्यालयले भनेको छ, ‘सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सूचना प्रकाशन भएको मितिदेखि लागू हुने गरी तपशीलका निर्माण व्यवसायी र आपूर्तिकर्ताहरूलाई देहायको अवधिसम्म कालोसूचीमा राखिएकाले उक्त निर्माण व्यवसायी र आपूर्तिकर्ताले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनैपनि खरिद कारवाहीमा भाग लिन नसक्ने बेहोरा सम्बन्धित सबै सार्वजनिक निकायहरूलाई जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’
सैलुङको मुख्य व्यक्ति निकेश अधिकारी रहेका छन् । कृषि सामाग्री कम्पनी लिमिटेडको सिफारिसमा सैलुङ कालोसूचीमा परेको हो ।
यस्तै कार्यालयले गैरीधारामा रहेको मुक्तिनाथ कृषि कम्पनी लिमिटेडलाई पनि २०८० साउन ८ गतेसम्मका लागि कालोसूचीमा राखेको छ ।
कार्यालयका अनुसार, मुक्तिनाथका मुख्य व्यक्ति भरतराज ढकाल हुन् ।
कृषि सामाग्री कम्पनी लिमिटेडकै सिफारिशमा यस कम्पनीलाई कालोसूचीमा राखेको हो ।
यस्तो छ मल ल्याउन नसकेको कहानी
नयाँ आर्थिक वर्ष २०७७/७८ को पहिलो सिजनका लागि रासायनिक मल व्यवस्थापन गर्नुपर्ने थियो ।
सरकारले अनुदानमा दिने रासायनिक मल व्यवस्थापनका लागि कृषि सामग्री कम्पनी लिमिटेडले २०७७ असार पहिलो साता ठेक्का आह्वान गर्यो ।
ठेक्का आह्वान गरेको केही दिनपछि मल व्यवस्थापनका लागि सैलुङ इन्टरप्राइजेज कम्पनीले ठेक्का पायो ।
४ महिनामा मल ल्याउने गरी सैलुङ र कृषि सामाग्री कम्पनीबीच असार १८ गते सम्झौता भयो ।
सम्झौताअनुसार सैलुङले कात्तिक ८ गतेसम्ममा मल ल्याउनुपर्ने थियो ।
यसैबीच कम्पनीले फेरि दोस्रो ठेक्का आह्वान गर्यो । मल ल्याउनका लागि आह्वान गरिएको दोस्रो ठेक्का पनि सैलुङले नै पायो ।
कार्तिक ८ गतेसम्ममा मल ल्याइपुर्याउने गरी कम्पनी र सैलुङबीच साउन ४ गते सम्झौता भयो ।
पहिलो सम्झौता अनुसार सैलुङले ९३ लाख ४५ हजार डलर रकम बराबरको ३० हजार मेट्रिक टन युरिया मल ल्याउनुपर्ने थियो ।
यस्तै दोस्रो सम्झौता अनुसार २५ हजार युरिया मलका लागि ८० लाख ४९ हजार ७५० डलर बराबरमा सम्झौता भएको थियो ।
कोरोना महामारी रोकथामका लागि भन्दै जारी बन्दाबन्दी तथा निषेधाज्ञाका कारण कम्पनीले छिट्टै नै टेन्डर आह्वान गरेको थियो ।
कृषि सामाग्री कम्पनी लिमिटेडका प्रवक्ता विष्णु पोखरेलले लोकान्तरसँग भने, ‘त्यतिखेर कोरोना महामारीका कारण लकडाउन थियो । सामान्य रूपमा एक महिना ग्यापमा टेण्डर आह्वान गरिन्थ्यो । महामारीका कारण हामीले त्यसलाई अगाडि सार्दैसार्दै ७ दिन, १० दिन, १५ दिनमा झारेका थियौं ।’
टेन्डर छिट्टै आह्वान हुँदा सैलुङले नै पुनः ठेक्का हाल्यो र पर्यो पनि ।
सम्झौता अनुसार दुवै ठेक्कामा उसले मल ल्याउन सकेन ।
पछि सैलुङले तेस्रो पटकमा २५ हजार मेट्रिक टन युरिया ल्याउन ९४ करोड ६ लाख ९३ हजार ७ सय डलर रकम बढीको ठेक्का पाएको थियो ।
तर उसले तेस्रोपटक पनि मल ल्याउन सकेको थिएन ।
****
कृषि सामाग्री कम्पनीले २०७६ चैत २६ गते आह्वान गरेको ठेक्कामा २०७७ साउन १८ गते सम्झौता भयो ।
सम्झौता मुक्तिनाथ कृषि कम्पनी लिमिटेड र कृषि सामाग्री कम्पनीबीच भएको थियो ।
२५ हजार मेट्रिक टन युरिया तथा २० हजार मेट्रिक टन डिएपी मल ल्याउने गरी कृषिले मुक्तिनाथलाई १ करोड ८० लाख डलर बराबरको रकममा ठेक्का दिएको थियो ।
मुक्तिनाथले मंसिर १३ गतेभित्रमा मल ल्याइसक्नुपर्ने थियो । तर मुक्तिनाथले सम्झौता अनुसार मल ल्याउन सकेन ।
दुवै कम्पनीले मल ल्याउन नसकेपछि मुलुकभर रासायनिक मलको हाहाकार भएको थियो । जसको परिणामस्वरुप तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा बंगलादेशबाट रासायनिक मल ल्याइएको थियो ।
कृषि सामाग्री कम्पनीका प्रवक्ता पोखरेल भन्छन्, ‘हामीले विश्वास गरेर उनीहरूलाई मल ल्याउनका लागि ठेक्का दियौँ । तर उनीहरूले मल ल्याउन सकेनन् ।’
उनले मल ल्याउन नसकेपछि कम्पनीले विवरण तयार पारेर कालोसूचीमा राख्न सिफारिश गरिएको समेत बताए ।
मल ल्याउन नसकेपछि उल्टै अदालतमा गुहार !
सैलुङ इन्टरप्राइजेज प्रालि पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी समेत रहेका शारदाप्रसाद अधिकारीको हो ।
ठेक्का गर्ने तथा काम नगर्ने छवि बनाएको यस कम्पनी पटक–पटक विवादित बनिसकेको थियो । यद्यपि मल ल्याउनका लागि ठेक्का पायो ।
ठेक्का पाएपनि मल ल्याउन नसकेपछि कृषि सामाग्री कम्पनीले यस कम्पनीसँगको ठेक्का रद्द गर्दै बैंक ग्यारेन्टी बापतको करीब ४ करोड ८० लाख रुपैयाँ धरौटी जफत गर्ने निर्णय भदौ २१ मा गरेको थियो ।
यस्तै २२ भदौमा नै कृषि सामग्रीले कम्पनीलाई कालोसूचीमा राख्ने सिफारिश गर्ने निर्णय गरेको थियो ।
तर सैलुङले भदौ २८ गते कृषि सामग्रीले गरेको सो निर्णय कार्यान्वयन नगर्नका लागि अन्तरिम आदेश माग गर्दै पाटन उच्च अदालतमा निवेदन दिएको थियो ।
त्यसपछि अदालतले तत्कालका लागि त्यो निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश दिएको थियो ।
अदालतमा अहिले पनि मुद्दा विचाराधीन रहेको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ ।