३० जेठ २०८३, शनिबार
भूकम्पपछिको जीवन

उद्धार गरेर काठमाडौं ल्याइएकी वृद्धाको बयान– १ घण्टा थिचिँदासमेत बाचेँ, नातिनीलाई पनि बचाएँ

कात्तिक १८, २०८०
काठमाडौं
उद्धार गरेर काठमाडौं ल्याइएकी वृद्धाको बयान– १ घण्टा थिचिँदासमेत बाचेँ, नातिनीलाई पनि बचाएँ

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू छोरीको घरमा रहेको बेला सो घटना भएको जानकारी दिइन् । 

सानीभेरी गाउँपालिका–०४ घर भएकी बुढाथोकीले सो क्रममा आफूले नातिनीलाई पनि जोगाएको बताइन् । 

‘म छोरीको घरमा थिए । नातिनी र छोरी पनि सँगै थिए,’ उनले भनिन्, ‘राति  एक्कासी भूकम्प आएपछि हामी घरभित्रै थुनियौं ।’ भूकम्प गएको एक घण्टापछि छोरो आएर आफूलाई घरबाट निकालेको उनले बताइन् । 

‘हामीलाई छोरो आएर ननिकालेको भए हामी जिउँदो रहने थिएनौं,’ बुढाथोकी भन्छिन्, ‘बाहिर निस्किन सक्ने अवस्था थिएन । छोराले जसोतसो तीनै जनालाई जोगायो ।’ 

उनले आफू बसेको घर पुर्णरुपमा क्षति भएको बताइन् । ‘हाम्रा घरहरू सबै भत्किएका छन्, बल्ल ज्यान भने जोगियो,’ उनले आफ्ना छिमेकीको अवस्था जानकारी दिँदै भनिन्, ‘वल्लोपल्लो घरका धेरै बिते, नसोचेको घटना भोग्नु पर्यो ।’

भूकम्पबाट बाँच्न सफल भएकी बुढाथोकीका शरीरका विभिन्न भागमा भने चोट लागेको पाइएको छ ।

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर शुक्रवार राति ६.४ म्याग्निच्युटको भूकम्प गएको थियो । अहिलेसम्म जाजरकोट र पश्चिम रुकुममा गरी १५७ जनाको निधन भइसकेको छ भने कम्तीमा १९७ घाइते भएका छन् । 

 हेरौं भिडियोः 
 

  


 

salt training

कमेन्ट गर्नुहोस्