
हेटौँडा सिमेन्ट उद्योगका लागि चुन ढुंगा ल्याउन २०२० सालमा स्थापना भएको रोपवेको जीर्ण संरचनाका कारण हेटौँडा उपमहानगरपालिका ९ स्थित त्रिवेणी आधारभूत विद्यालयका विद्यार्थी र शिक्षक जोखिममा छन् ।
२०५६ सालदेखि बन्द रहेको यो रोपवेका जीर्ण संरचना उद्योगले २२ वर्षसम्म पनि हटाएको छैन । रोपवेका डिब्बाभित्र अहिले पनि चुन ढुंगा छन् ।

लठ्ठा र खम्बाहरूमा खिया लागिसकेको छ । जुनसुकै बेला तार चुँडिएर ठूलो दुर्घटना हुन सक्ने भन्दै शिक्षक, विद्यार्थी र स्थानीयले चिन्ता व्यक्त गरिरहेका छन् ।
विद्यालयकी प्रधानाध्यापक सुशीला पौडेलले विद्यालयका ३ सय विद्यार्थी त्रासमै अध्ययन गर्न र शिक्षक त्रासैत्रासमा शैक्षिक क्रियाकलाप अघि बढाउन बाध्य भएको बताइन् ।
रोपवेका लठ्ठामा बाँदर झुन्डिएर आउँदा टिनको छानामाथि खस्ने गरेका छन्, जसले पठनपाठन समेत प्रभावित हुँदै आएको छ ।
‘कक्षामा पढाइरहेको समयमा टिनको छानामा बाँदर हाम्फाल्दा लठ्ठा चुँड्यो कि भनेर विद्यार्थीहरू त्रर्सिन्छन्, धेरै समयदेखि हामी त्रासमै छौं,’ उनले भनिन् ।
१ देखि ८ कक्षासम्म मात्र पढाइ हुने विद्यालयमा विद्यार्थीहरू स–साना रहेकाले पनि उनीहरू बढी जोखिममा रहेको विद्यालयका अर्का शिक्षक प्रकाश राईले बताए ।
भविष्यमा हुनसक्ने धनजनको क्षतिप्रति सम्बन्धित निकायको ध्यान नगएको उनको गुनासो छ ।
वि.सं. २०३३ सालमा स्थापना भएको हेटौंडा सिमेन्ट उद्योगले सामग्री ओसारपसारका लागि भन्दै २०२० सालबाट रोपवे सञ्चालनमा ल्याएको थियो ।
तर २०३३ सालदेखि मर्मत अभावमा पूर्ण क्षमतामा सञ्चालन हुन छोडेको रोपवे सेवाले २०५६ सालदेखि भने पूर्ण रूपमा विश्राम लियो ।

रोपवे चल्न छाडेको २२ वर्ष पूरा भइसक्यो, तर त्यसको व्यवस्थापनमा हालसम्म पनि उद्योगले खासै चासो दिएको छैन ।
रोपवेका ८ वटा टर्मिनल, ७ वटा स्टेसन र ३ सय ५३ वटा टावर थिए । ३ सय ६० वटा डब्बाबाट चुन ढुंगा आयात हुन्थ्यो । अहिले पनि रोपवेका जीर्ण लठ्ठा र डब्बाहरूमा चुन ढुंगा झुन्डिरहेका छन् ।
भैँसेदेखि हेटौँडा उपमहानगरको १, ९ र १० नम्बर वडाका स्थानीयहरू बढी जोखिममा रहेको भन्दै उद्योग प्रशासनलाई रोपवे हटाउन पटक–पटक पत्राचार गरिएपनि त्यसको सुनाई नभएको हेटौंडा १ का वडाध्यक्ष सविन न्यौपानेले बताए ।
राज्य संघीय संरचनामा गैसक्यो । सम्बन्धित उद्योगले नहटाएमा यसलाई हटाउन प्रदेश तथा स्थानीय सरकारको पनि ध्यान जानु आवश्यक रहेको स्थानीय बताउँछन् ।
वडाध्यक्ष न्यौपाने आफूहरूले पटक–पटक ताकेता गरे पनि उद्योगले चासो नदिएको गुनासो गर्छन् ।

यता हेटौंडा सिमेन्ट उद्योगका कामु प्रबन्धक (अर्थ) रामबाबु शाहले भने जीर्ण संरचना हटाउन ३ पटक टेन्डर सूचना निकालिसकिएको जानकारी दिए । थोरै मूल्यमा टेन्डर निकालेको भन्दै उद्योग मन्त्रालयले लिलामी प्रक्रिया रोकेको शाहले बताए ।
उनका अनुसार ४ करोड २२ लाख रुपैयाँमा १५ सय ६३ टन मेट्रिकटन फलामे सामग्री लिलाम गर्न उद्योगले १ वर्षअघि प्रक्रिया अघि बढाउन उद्योग मन्त्रालयसँग सहमति मागेको थियो । तर मन्त्रालयले अझै सहमति दिएको छैन ।
सरकार र उद्योगको हानथापका बीच स्थानीय भने जोखिम मोलेरै बस्न बाध्य छन् ।