
मकवानपुरको पूर्वी क्षेत्रलाई सिन्धुली जिल्लासँग जोड्ने बागमती नदीमाथिको पुल निर्माण हुने भनेर २०६७ सालतिर निकै चर्चा चल्यो ।
नभन्दै २०६८ असार २९ गते स्वच्छन्द भैरव निर्माण सेवा निर्माण कम्पनीले २३ करोड ५३ लाख ९ हजार रुपैयाँ लागतमा पुल निर्माणको ठेक्का लियो ।
नेपाल सरकारको लागतमा बागमती गाउँपालिकामा बन्ने पुल ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी कम्पनीले ठेक्का सम्झौता गरेको थियो । त्यसैले सिन्धुली र मकवानपुरको सीमा क्षेत्रका वासिन्दा निकै खुशी थिए ।
पुल नहुँदा बर्खाको समयमा ज्यान जोखिममा राखेर खोला वारपार गर्नुपर्ने बाध्यताबीच पुल निर्माणले सामाजिक, आर्थिक र अन्य विकासमा समेत फड्को मार्ने स्थानीयको विश्वास थियो तर त्यो खुशी लामो समय टिक्न सकेन । निर्माण अवधि समाप्त हुँदासम्म पनि पुल नबनेपछि स्थानीय निराश भए ।
५ वर्षको अवधिसम्म पनि पुल बन्न नसकेपछि स्थानीयले पुल बन्ने आशा नै मारिसकेका थिए ।
पक्की पुल बन्ला र सहज होला भन्ने आशामा वर्षौं बिताएका स्थानीयले ८ वर्षसम्म पुलको पिल्लर मात्र हेरेर चित्त बुझाउनुपर्यो । निर्माण सम्झौता भएको लामो समय ठेकदार कम्पनीले काम नै अघि बढाएन ।
संघीय सरकारको राष्ट्रिय गौरवको आयोजना सूचीमा समेत रहेको मदन भण्डारी राजमार्ग (हेटौंडा–सिन्धुली–चतरा) सडकखण्डमा पर्ने सिन्धुली र मकवानपुर जोड्ने पुलको लम्बाइ ४०३ मिटर छ ।
लामो समयसम्म कम्पनीको ढिलासुस्तीको कारण पुल निर्माणको काम हुनै नसकेको स्थानीय वासिन्दा श्यामकुमार श्रेष्ठले बताए ।
उनले भने, ‘शुरूआती चरणमा निर्माण कम्पनीले निर्माणको काम क्यानन गौतम जेभी नामक कम्पनीलाई पेटी ठेक्कामा दिँदा समयमै पुल निर्माण हुन नसकेको हो ।
ठेकेदारबाट तहगत पेटी ठेकेदारसम्म पुल निर्माणको काम बाँडिदा पुल निर्माणको काम अघि बढ्न सकेन । यसबीच स्थानीय मिलेर पुल निर्माणका लागि विभिन्न तहमा हारगुहार गर्दा समेत सुनुवाइ भएन ।’
२०७४ सालपछि पुल निर्माणमा मकवानपुर र सिन्धुलीका स्थानीय तहले चासो दिए पनि कामले गति लिनै सकेन ।
त्यसलगत्तै पुल निर्माणमा बागमती प्रदेश सरकारले पनि चासो देखायो तर ठेकेदार कम्पनी नै सम्पर्कमै नआएपछि प्रदेश सरकार सधैं आलोचनामा परिरह्यो ।
स्थानीय बासिन्दाको विरोध बढ्दै गएपछि प्रदेश सरकारले कम्पनीलाई कारवाहीको चेतावनी दियो । चेतावनीपछि निर्माण कम्पनीका प्रतिनिधि सम्पर्कमा आए ।
निर्माण कम्पनीका सञ्चालक जयराम लामिछानेले पुल निर्माणका लागि पुनः म्याद थप गर्न माग गरेअनुसार म्याद दिइयो र पुल निर्माणले तीव्रता पायो ।
पछिल्लो समय पुल निर्माण सम्पन्न गर्नुपर्ने म्याद २०७८ असारसम्म थपिएको थियो तर कोरोना संकटका कारण समयमै काम हुन सकेन ।
काम पूरा नभएपछि पुनः पुल निर्माणका लागि २०७८ चैत ३० गतेसम्मको म्याद थप गरिएको छ ।
१ दशकपछि बल्ल बागमती खोलामा पुल निर्माण सम्पन्न हुने भएको छ । यसबीच १ दशक लामो प्रतीक्षापछि पुल निर्माण सम्पन्न हुने भएपछि स्थानीय बासिन्दाको मुहारमा खुशी छाएको छ ।
स्थानीय जोनिशा बोहराले उनले भनिन्, ‘पुल नहुँदा खोलाबाटै ट्युबको भरमा वारपार गर्नुपर्थ्यो, भनेको समयमा ट्युबमा वारपार गर्ने मान्छे पनि पाइँदैन्थ्यो । धेरै गाह्रो थियो । अब पुलबाटै हिँड्न मिलेको छ, खुशी छु ।’
स्थानीय प्रदीप धर्नालले पुल नबन्दा विगतमा स्थानीयले निकै सास्ती भोग्नुपरेको र वर्षाको समयमा खोलाले बगाएर केही व्यक्तिले ज्यान समेत गुमाएका उनले बताए ।
स्थानीय बुद्ध लामाले भने, ‘बिरामी हुँदा पनि खोलाबाट लैजानुपर्थ्यो । केही काम परेर बजार जानु परे पनि हिउँद–बर्खा सधैं खोलै तर्नु पर्थ्यो । अब हिँड्न मिल्ने पुल भयो खुशी छु ।’
निर्माणका लागि ठेक्का सम्झौता भएर विगत १० वर्ष ८ महिनासम्म सम्पन्न हुन नसकेको पुल अझै पूर्ण रूपमा तयार भइसकेको छैन ।
निर्माणको काम लगभग अन्तिम चरणमा पुगेको छ । आगामी चैत मसान्तसम्ममा पुल निर्माण सम्पन्न गरेर वैशाख १५ गते पुलको उद्घाटन गर्ने तयारी रहेको कम्पनीका सञ्चालक लामिछानेले बताए ।
बागमती पुल निर्माण सम्पन्न भएसँगै मकवानपुरसँग सिमाना जोडिएका छिमेकी जिल्ला पूर्वमा सिन्धुली, उत्तरमा ललितपुर र काभ्रे, दक्षिणमा रौतहट जिल्लाका सर्वसाधारणहरू लाभान्वित हुनेछन् ।