१० असार २०८३, बुधबार
कृषिमा भविष्य

बंगुरपालनमा भविष्य देख्दै हेटौंडाका युवा

फागुन ७, २०७८
बंगुरपालनमा भविष्य देख्दै हेटौंडाका युवा

नेपाललाई कृषि प्रधान देश भनिन्छ तर रेमिट्यान्सले धानेको छ ।
 
देश कृषि प्रधानबाट ‘रेमिट्यान्स प्रधान’ हुने बाटोमा अग्रसर छ । अधिकांश युवा रोजगारीका लागि विदेशतिर धाइरहेको बेला हेटौंडाका २ युवा भने उदाहरणीय बनेका छन् ।

ती युवा कृषि क्षेत्रमा भविष्य खोज्दै जुर्मुराएका छन् । हेटौंडका सुन्दर श्रेष्ठ र सूर्यबहादुर थिङ्गले स्वदेशमै कृषि र पशुपालन कर्मलाई रोजेका छन् ।

हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित सिमलटारका ३४ वर्षीय सुन्दर श्रेष्ठ यतिखेर बंगुरपालनमा रमाइरहेका छन् । सुन्दरले पशुपन्छी फार्म दर्ता गरी ९० वटा साना–ठूला बंगुर पालेका छन् ।

यति मात्र होइन, फार्मभित्र एउटा पानी पोखरी निर्माण गरेर करीब २ हजार माहुर जातका माछा हुर्काइरहेका छन् । उनले १ परिवारलाई बाँस सहितको रोजगारी समेत प्रदान गरेका छन् ।

थानाभर्‍याङमा विक्रम संवत् २०६१ सालमा उनले होटल व्यवसाय गरेका थिए । होटल व्यवसाय गर्दैगर्दा उनकी आमा अष्टमाया श्रेष्ठले छिमेकी विकास बैंकबाट ऋण लिएर ३ वटा बंगुर खरिद गरी बंगुरपालन व्यवसाय शुरू गरेकी थिइन् ।

सुन्दरले होटल छाडेर गाडी चलाउने काम गरे । गाडी चलाउँदा पनि राम्रो प्रगति नभएपछि उनी वैदेशिक रोजगारीका लागि कतार गए ।

सुन्दर कतारमै हुँदा उनका बुवाको निधन भयो । बुवाको निधन भएको पीडादायी खबर सुनेका सुन्दर तत्कालै घर आउन चाहन्थे तर उनी काम गरिरहेको कम्पनीले घर फर्किनका लागि उनलाई अनुमति दिएन । २ वर्षको कार्यअवधि पूरा गरेपछि उनी नेपाल फर्किए ।

घर आएका सुन्दरले आमाले गरिरहेको बंगुरपालनमा आफ्नो भविष्य देख्न थाले र उनले लगानी गरी बंगुपालन शुरू गरे । सुन्दरको बंगुर फार्ममा यतिबेला ९० बंगुर छन् । बंगुरपालन गर्दा केही असजिला पाटाहरू भए पनि पेशालाई इमान्दारिपूर्वक गरिरहेको उनले बताए । 

बंगुर ६ हजार रुपैयाँमा बिक्रीबाट सुन्दरले महिनामा एकदेखि डेढ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका उनले बताए । त्यसमध्ये दाना, औषधि, कामदारलाई तलब दिएर ५०–६० हजार रुपैयाँ मासिक आम्दानी भइरहेको श्रेप्ठले बताए ।

सुन्दर श्रेष्ठ

कुनै बेला विविध समस्याका कारण सोचेजस्तो आम्दानी हुन नसके पनि उनले बंगुरपालनबाट आफ्नो आर्थिक अवस्था मजबुत बनाउँदै लगेका छन् । आमा, पत्नी, २ छोरी र आफूसहित ५ जनाको परिवार चलाउन र सम्पत्ति जोड्नका लागि पशुपालनले उनलाई साथ दिइरहेको छ । बंगुरपालन व्यवसाय घरमै बसेर गर्न पाउँदा खुशी लागेको उनले बताए । 

व्यक्तिगत लगानी तथा प्रयासबाट स्वरोजगार बनेका भए पनि सरकारका तर्फबाट आवश्यक अनुदान लगायतका सहयोग नपाएकोमा उनले गुनासो गरे । ‘सरकारले हामीले गरिरहेको काम हेरेर अनुदान अथवा आवश्यक सहयोग गरे हुन्थ्यो भन्ने लाग्छ तर अहिलेसम्म सरकारले हामीलाई केही सहयोग गरेको छैन,’ सुन्दरले गुनासो पोखे ।

गर्न सके देशमै केही हुन सकिने भए पनि सरकारले खासै चासो नदिएको उनले बताए । सरकारले किसानकै लागि भनेर वार्षिक करौडौं रकम बजेटमा विनियोजन गरे पनि टाठोबाठोले मात्र हात पार्ने गरेको श्रेप्ठले बताए । 

सीप ज्ञान भए पनि वैदेशिक रोजगारमा नेपालीलाई हेर्ने र गर्ने व्यवहार फरक रहेको बताउँदै उनले सरकारले वैदेशिक रोजगारमा जान लागेका युवालाई स्वदेशमै उद्यमी र व्यवसायी बनाउन विशेष कार्यक्रम ल्याउनुपर्ने बताए ।

... ... ...

हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित सिमलटारकै ३३ वर्षीय युवा सूर्यबहादुर थिङ्ग पनि उद्यमी बनेका छन् । उनले २०७२ सालदेखि एलिना बंगुर फार्म दर्ता गरी बंगुरपालन पाल्दै आएका छन् ।

१५ हजार रुपैयाँमा ३ वटा बंगुरबाट शुरू गरेको उनको फार्ममा अहिले ६२ वटा साना–ठूला बंगुर रहेका छन् । उनले शुरूका दिनमा आफ्नै सानो फनिर्चर उद्योग खोलेर काम शुरू गरे पनि कमाइ नभएपछि फेरि ‘ब्लक’ उद्योग खोले तर ब्लक उद्योगमा पनि भविष्य रामो नदेखेपछि थिङ्ग बंगुरपालनमा लागेका हुन् ।

बंगुरपालक किसान अहिले व्यवसायी भएका छन् । उनको चिनारी बनेको उनले बताए । उनले व्यवसायका लागि बजारको समस्या नरहेको बताए । 

मासुका लागिभन्दा पनि बंगुरका पाठापाठी बिक्रीबाट मसिक १ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उनले बताए । उनले फार्ममा १ जनालाई रोजगारी समेत दिएका छन् । उनले भने, ‘कर्मचारीलाई तलब, बंगुरलाई दाना, औषधि गरेर मासिक ५० हजार जति घरमै बसेर कमाइ हुन्छ ।’

शुरूमा बंगुर पाल्ने आवश्यक ज्ञान नहुँदा २०७३/०७४ सालतिर बंगुरले पाएको सबै पाठापाठी मर्ने गरेका र घाटा व्यहोरेको समेत उनले सम्झिए । पछि बंगुरपालन सम्बन्धी तालिम लिएपछि सहज भएको उनले बताए ।

उनको परिवारमा पत्नी, २ छोरी र आफूसहित ४ जना रहेका छन् । उनको घर खर्च यसैबाट चल्ने गरेको छ । उनले हालसम्म कुनै सरकारी निकायबाट अनुदान र सहयोग पाएका छैनन् ।

सरकारले अनुदान दिए हेटौंडालाई हबको रूपमा विकास गर्ने सुनाउँदै उनले ५०० भन्दा बढी बंगुर पाल्ने योजना रहेको बताए ।  

स्थानीयले बंगुरपालनको विकास र प्रवद्र्धनका लागि सिमलटारमा हातेमालो बंगुरपालक किसान समूह बनाएका छन् । समूहमा १८ जना सदस्य छन् भने ५००–६०० बंगुर पालेका छन् । श्रेप्ठ समूहका अध्यक्ष छन् भने थिङ्ग व्यवस्थापन समितिका सदस्यमा छन् । 

salt training

कमेन्ट गर्नुहोस्