०७ साउन २०८३, बिहीबार

सिलिगुडीमा भारतीय सेनाको युद्धाभ्यास, चीनलाई सन्देश ? (भिडियो)

चैत १३, २०७८
सिलिगुडीमा भारतीय सेनाको युद्धाभ्यास, चीनलाई सन्देश ? (भिडियो)

चीनका परराष्ट्रमन्त्री वाङ यीले भारत भ्रमण गरेकै बेलामा भारतीय सेनाका प्याराट्रूपरहरूले सिलिगुडीमा अभ्यास गरेका छन् । 

चीनलाई लक्षित गरी भारतीय सेनाले यो अभ्यास गरेको भारतीय सञ्चारमाध्यमहरूले लेखेका छन् । 

सेनाको एयरबोर्न र्‍यापिड रेस्पोन्स टीमका लगभग ६०० प्याराट्रूपरहरूले भिन्न भिन्न एयरबेसबाट सिलिगुडी पुगेर ड्रप्स अभ्यास गरेका हुन् । 

अभ्यासमा उन्नत हवाई प्रविष्टि प्रविधि अर्थात् सैनिकहरूलाई एयरड्रप गर्ने, निगारनी गर्ने र टार्गेट प्राक्टिस गर्ने गतिविधि भएका छन् । 

रणनीतिक रूपमा महत्त्वपूर्ण यस क्षेत्रमा विगत तीन सातामा भएको यो दोस्रो अभ्यास हो । त्यसअघि मार्च ४ मा पनि भारतीय सैनिकहरूले आकाशबाट हाम्फाल्ने, निगरानी गर्ने र लक्ष्य भेदन गर्ने अभ्यास गरेका थिए । 

सिलिगुडी कोरिडोर अर्थात् चिकेन नेक भारतको मुख्यभूमिलाई पूर्वोत्तरका सात राज्यहरूसँग जोड्ने एक मात्र स्थलमार्ग हो । नेपाल, भुटान र बंगलादेशको सीमाबाट यो कोरिडोर नजिकै पर्छ । सामारिक दृष्टिकोणले यो अत्यन्तै महत्त्वपूर्ण छ ।

चीनले भारत सीमा नजिक सडक र एयरस्ट्रिपहरू बनाइरहँदा भारतले चिकेन नेक खतरामा परेको अनुभव गरेको छ । 

त्यसैले भारतले यस क्षेत्रमा तैनाथी बढाएको छ र सैन्य आधारभू संरचना पनि निर्माण गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्