०५ साउन २०८३, मंगलबार
नयाँ वर्षको चहलपहल

नयाँ वर्षले पर्यटन क्षेत्रमा उत्साह : आन्तरिक पर्यटकले भरिभराउ भए होटल तथा रेस्टुरेन्ट

बैशाख १, २०७९
नयाँ वर्षले पर्यटन क्षेत्रमा उत्साह : आन्तरिक पर्यटकले भरिभराउ भए होटल तथा रेस्टुरेन्ट
फाइल तस्वीर : सौराहा

कोभिड महामारीले २ वर्षदेखि थलिएको पर्यटन क्षेत्रमा नयाँ वर्षले उमंग ल्याइदिएको छ । नयाँ वर्ष २०७९ को अघिल्लो दिनदेखि नै उपत्यका वरपरका पर्यटकीय क्षेत्र आन्तरिक पर्यटकले भरिभराउ छन् । विभिन्न पर्यटकीय गतिविधि गर्न रुचाउने, नयाँ वर्षमा घुम्न चाहने र पारिवारसहित रमाउनेको संख्या बढेकै कारण पर्यटकीय क्षेत्र आन्तरिक पर्यटकले खचाखच भएका हुन् ।

कोरोनाका कारण दुई वर्ष खुम्चिएर बसेका नेपाली यो वर्ष भने खुलेरै घुम्न निस्किएका छन्, जसका कारण हिजो बिहीवार र आज शुक्रवारका लागि कोठा उपलब्ध गराउनै मुस्किल भएको धुलिखेल लजका अध्यक्ष प्रेम श्रेष्ठले बताए । 

‘नयाँ वर्षको अघिल्लो दिन बिहीवारदेखि यहाँका होटल तथा रेस्टुरेन्ट खचाखच छन्,’ श्रेष्ठले लोकान्तरसँग भने । धुलिखेलका होटलहरू भरिभराउ भएपनि आन्तरिक पर्यटकले गर्ने खर्च विदेशीको तुलनामा निकै कम हुने गरेको श्रेष्ठको भनाइ छ ।

अहिले कोरोना महामारीका कारण विदेश जाने आउट बाउन्ड टूरको माहोल छैन् । यो बेला आन्तरिक पर्यटकीय गन्तव्यमा नै डुल्न रुचाउने नेपालीको संख्या उल्लेख्य छ । 

पछिल्लो समय थपिएका पर्यटकीय पूर्वाधार तथा गतिविधिका कारण आन्तरिक पर्यटकलाई देशभित्र भुलाउन केही हदसम्म सहयोग पुगेको छ । धुलिखेलको जीपलाइन, पोखराको प्याराग्लाइडिङ, विभिन्न स्थानमा रहेका बञ्जी तथा एकदिने ट्रेकिङसहितका प्याकेजमा आन्तरिक पर्यटकको चाप देखिन्छ ।

आन्तरिक पर्यटकले महामारीपछि पर्यटन धानेको हुँदा अहिले पनि यिनैलाई प्राथमिकतामा राखेर होटलहरूले प्याकेज दिइरहेका छन् । नयाँ वर्षका दिन घुम्न निस्किनेहरूको संख्या उल्लेख्य रहने गरेको छ ।

त्यसैलाई दृष्टिगत गरेर नेपालीकै पहुँचमा हुने पर्यटकीय स्थलका होटलले प्याकेज बनाउने गरेको पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनञ्जय रेग्मीले बताए । 

उनका अनुसार पर्यटन गन्तव्यमा आन्तरिक पर्यटकको वर्चश्व छ । पोखरा, चितवन लगायतका क्षेत्रमा भने केही भारतीयसहितका विदेशी पर्यटक पनि पुगेका छन् । बाँकी पर्यटकीय गन्तव्यमा करीब शत प्रतिशत नै आन्तरिक पर्यटकले भरिएको रेग्मीले बताए ।

पर्यटन बोर्डले समेत आन्तरिक पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिएको छ । पछिल्लो समय नेपालीहरू पनि खर्चालु हुँदै गएकाले होटल तथा रेस्टुरेन्ट व्यवसायीहरू उत्साही देखिन्छन् ।

अहिले जहाँ पुग्यो त्यहीँका होटल तथा रेस्टुरेन्ट भरिभराउ छन् । 

थाइल्यान्ड, मलेसिया, सिंगापुरसहितका गन्तव्यमा जान नपाएकाहरू मध्यमवर्गीय नेपालीहरू अहिले नेपालमै घुमघाममा व्यस्त रहेको सीईओ रेग्मीको भनाइ छ ।

विदेश घुम्ने बानी परेकाहरूले खर्च पनि बढी गर्ने गरेका छन् ।

नेपालीको खर्चालु गन्तव्यमध्येको एक पोखरा क्षेत्रमा भने फेवा महोत्सवले पनि आन्तरिक पर्यटनको माहोल बढाएको छ । 

पर्यटन प्रवर्द्धनमा सामाजिक सञ्जालको भूमिका

पछिल्लो समय समाजिक सञ्जालले पनि पर्यटकीय गन्तव्य पहिचान गराइरहेको छ । कोही व्यक्ति कुनै ठाउँमा पुग्दा त्यहाँ खाएको, घुमेको, रमाइलो गरेको फोटो तथा भिडियो सामाजिक सञ्जालमा राख्ने गर्छन्, जसका कारण अन्यलाई पनि त्यहाँ पुग्न प्रोत्साहन मिल्ने गरेको छ ।

‘सामाजिक सञ्जालमै तस्वीर तथा भिडियो पोस्ट्याएर हामी पनि घुम्छौं नि भन्ने सन्देश दिन पनि नेपाली घुम्ने गरेका छन् । एउटा जिल्लाबाट अर्को जिल्लामा जाने, एक शहरबाट अर्को शहरमा जाने, पदयात्रा, साइक्लिङ, पर्यटकीय गन्तव्यमा गएर रात बिताउने कल्चर पनि बढेको छ,’ पर्यटन बोर्डका सीईओ रेग्मीले भने ।

आन्तरिक गन्तव्यमा बढेको पर्यटकको चापले होमस्टेदेखि होटल रेस्टुरेन्टसम्मको व्यापार बढाएको छ । 

आन्तरिक पर्यटकले खुलेर घुम्ने वातावरण बन्योः हान

होटल संघ नेपालका प्रथम उपाध्यक्ष विनायक शाह यो वर्ष कोरोना संक्रमण घटेको र अब जोखिम हुँदैन भन्ने विश्वास पलाएकाले आन्तरिक पर्यटकको चाप बढेको बताउँछन् । अधिकांश नेपालीले खोप लगाइसकेकाले कोरोनासँगको डर केही कम भएको उनको बुझाइ छ ।

नयाँ वर्षको बिदाको सदुपयोग र रिफ्रेसमेन्टका लागि पनि घुम्ने वातावरण शाहले बताए । आन्तरिक पर्यटकका कारण होटल व्यवसायलाई पनि राहत मिलेको उनको भनाइ छ ।

आन्तरिक पर्यटकलाई थप व्यवस्थित गर्ने हो भने अझै माहोल बढाउन सकिने तर्क उनले गरे ।

दुई वर्षदेखि घरभित्रै खुम्चिएका नेपालीको कन्फिडेन्स बढेको छ ।

उकुसमुकुसबाट बाहिर निस्किएर रमाउनेको संख्या पनि बढेकाले सबै पर्यटकीय क्षेत्र खचाखच भएको होटल संघ नेपाल (हान)का महासचिव साजन शाक्यले बताए ।

उनले भने, ‘चितवन, पोखरा, नगरकोट, धुलिखेलसहितका परिचित गन्तव्यमा बढी चाप छ । अन्य गन्तव्यमा जाने र आफ्नै सवारी हुनेहरू शहरबाट अलि परसम्म पनि गएका छन् ।’ 

अहिले पर्वतीय पर्यटनको मौसम शुरू हुन लागेकाले विदेशी पर्यटकको सिजन पनि हो । साहसिक पर्यटन रुचाउने विदेशी कारण अहिले पनि उपत्यकामा ५० प्रतिशत अकुपेन्सी छ । उपत्यका बाहिर भने नेपालीकै कारण होटलको अकुपेन्सी ९० प्रतिशतभन्दा माथि पुगेको छ ।

व्यवस्थित घुमघामका लागि प्याकेज टूर प्रभावकारी

पछिल्लो समय परिवार लिएर घुम्न निस्कने र साथीभाइसँग घुम्ने प्रवृत्ति बढेको छ । घुम्न जाँदा व्यक्तिगत रूपमै आफैं बुझ्ने, डिजिटल पे गर्ने, एपबाटै जानकारी लिनेसहित प्रविधिको प्रयोगले पनि सहजता थपेको छ ।

सहज सेवा पाउनु र प्रविधिको प्रयोग हुनु राम्रो भएपनि ट्राभल एजेन्सीबाट प्याकेज लिएर घुम्दा तुलनात्मक रूपमा सस्तो हुने नेपाल एशोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष रमेश थापाको भनाइ छ । प्याकेज टूरमार्फत व्यवस्थित घुमाइ हुने उनको दाबी छ ।

थापाका अनुसार सहज पहुँच नभएका र धार्मिक गन्तव्यमा जाने तथा समूहमा जानेले मात्रै एजेन्सीबाट प्याकेज लिन्छन् । सहज हुने र पहुँच भएका ठाउँसम्म आफैं घुम्न निस्कने नेपालीको बानी छ । समूहगत रूपमा र प्याकेज लिएर गरिने घुमाइ व्यक्तिगतभन्दा सहज, सस्तो र व्यवस्थित हुने उनले दोहोर्‍याए ।

आन्तरिक पर्यटकको चहलपहलको लाभ सडकमा गुड्ने सार्वजनिक यातायातका साधन तथा आन्तरिक हवाइ सेवा प्रदायकले पनि उठाएका छन् ।

विस्तारै लयमा फर्किँदै गरेको पर्यटनलाई नयाँ वर्षले एकैपटक चलायमान बनाइदिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्