माघ २७, २०८०
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
नेपालमा सडक बालबालिकाको अवस्था दयनीय छ । सडक बालबालिकालाई सहयोग गर्ने प्रयासमा सरकार लागे पनि सफल हुन सकेको छैन ।
यस्तै दयनीय अवस्थाबीच हेटौंडाका अर्पण पराजुली ‘मामा’ले मामाघर चलाइरहेका छन् । उनी बकैयाँ गाउँपालिका–४ जुरेलीका वासिन्दा हुन् ।
अर्पण पराजुली हेटौंडामा ‘मामा’ उपनामले परिचित छन् । सडक बालबालिकाले मामा भन्न थालेपछि अहिले उनी सबैका मामा बनेका छन् ।
उनी सडक बालबालिकासँग जोडिनुका पछाडि छुट्टै घटना छ । गाउँबाट अध्ययन गर्न भन्दै शहर झरेका पराजुली आफ्नो अध्ययनका साथसाथै हेटौंडा क्याम्पसमा अध्यापन पनि गर्थे । यसैक्रममा पीएचडीको तयारी गर्न भन्दै उनी काठमाडौं जान आवश्यक पर्ने सामानहरू भmोलामा भिरेर साँझको समयमा हेटौंडा बसपार्कमा पुगे ।
बसपार्कमा बसको पखाईमा बसेका पराजुलीको आँखा नजिकै ठेलामा बेच्न राखिएको मःम भएको स्थानतिर गयो । ‘ठेलामा मःम खानेहरूको भीड थियो । छेउमा सडक बालबालिकाहरू अरुले खाएको हेर्दै थिए । कोही बालबालिका अरुले खाइसकेर राखेको टपरी चाट्दै थिए । कोही खाएर फालिएको डस्टबिनबाट हड्डीका टुक्राहरू झिक्दै त्यसमा बाँकी रहेको मासु खाइरहेका थिए । कोही मःम किनिदिन भनिरहेका देखिए,’ उनले भने, ‘त्यो दृश्यले मेरो मन भक्कानिएर आयो, मेरा आखाँहरू रसाए । पीएचडीको तयारी गर्न अध्ययनका लागि काठमाडौं जान हिँडेको थिएँ तर त्यो दृश्य देखेपछि काठमाडौं नगई फर्किएँ ।’
काठमाडौं नगई घर फर्किएपछि उनी रातभर निदाउन सकेनन् । उनको मनमा ‘कोही मान्छेहरू छानीछानी, मिठोमिठो खाइरहेका छन् तर कोही जुठो पनि खान पाएको छैनन्’ भन्ने लाग्यो । उनी त्यस रात बिहानीको व्यग्र पर्खाइमा रहे ।
भोलिपल्ट सबेरै उठेर उनी सडक बालबालिका भएको स्थानमा पुगे । त्यहाँ पुगेर उनले सडकपेटीमा रात काटेर बसेका सडक बालबालिकालाई आफूतिर बोलाए तर कोही आउँदैनन् । सडक बालबालिकालाई कसैले वास्ता नगर्ने भएकाले उनीहरूले खासै चासो दिएनन् । पटक–पटक बोलाउँदा सडक बालबालिकाले ‘अर्कै लोकबाट आएको मान्छे’ जस्तो गरी हेरेको उनी सुनाउँछन् ।
यत्तिकैमा उनले सडक बालबालिकालाई मःम खान आउन अनुरोध गरे तर मःम खान पनि कोही नआएका पराजुलीले बताए । केही समयपछि एक प्लेट मःम मागेर होटल बाहिरै खाँदै उनले नजिकै रहेका बालकलाई दिन थाले । थप मःम मगाएर उनले ती बालकलाई दिए, त्यसपछि अरुले पनि आएर मःम खाए । मःम खुवाएर उनी घर फर्के ।
त्यो क्रमले निरन्तरता पाइरह्यो । उनी सडक बालबालिकासँग नजिक हुँदै गए । यसरी सडक बालबालिकाले उनीबाट आशा गर्न थाले, उनको बाटो हेर्दै कुरेरै बस्न थाले । उनलाई देख्नासाथ सडक बालबालिकाले ‘मःम खुवाउने अंकल आउनुभयो’ भन्ने गरेका उनी सम्झिन्छन् ।
‘मलाई उनीहरूसँग कुराकानी गर्न धेरै मन थियो, दुःख, पीडा जान्न मन थियो, धेरै दिन भइसकेको थियो मःम खुवाउने गरेको तर कुराकानी भएको थिएन,’ उनले भने, ‘एक दिन मैले कुराकानी गर्न अनुरोध गरें, उनीहरू कुरा गर्न तयार भए ।’
सबै बालबालिकालाई बसपार्ककै बीचमा रहेको पार्कमा लगेर गोलो घेरा बनाउन लगाएर परिचय दिएको उनले बताए । ‘मैले म अर्पण पराजुली, मःम खुवाउन आएको भनें । सबै गललल हाँसे । उनीहरू किन हाँसे ? मैले बुझिनँ,’ उनले भने ।
पराजुली भन्छन्, ‘त्यो समयमा हेटौंडाका सडक बालबालिकाका ३ वटा ‘ग्याङ’ रहेछन् – कोब्रा, भ्यान्टे र बिच्छु । ३ वटा ग्याङका सदस्यबीच वर्षको एकपल्ट फाइट चल्दो रहेछ । जसले धेरै मान्छे पिट्न सक्यो, त्यो वर्ष त्यही सडक बालक ३ वटै ग्याङको डन हुँदो रहेछ । ग्याङहरूको पनि आफ्नो–आफ्नै नियम रहेछ । बिच्छु ग्याङको भागमा स्कूल रोड क्षेत्र, भ्यान्टे ग्याङको भागमा बसपार्क क्षेत्र, कोब्रा ग्याङलाई पल्पसा हल क्षेत्र रहेछ । एउटाले अर्को ग्याङको क्षेत्रमा माग्न, चोर्न, कवाडी टिप्न वा केही गर्न नपाउने नियम रहेछ । जाडो महिनामा चाहिँ सुत्नलाई एकै ठाउँमा भेला हुदाँ रहेछन् । मैले जाडो समयमा सबैलाई एकैठाउँमा भेट्ने अवसर पाएँ ।’
‘मैले परिचय दिँदा सबै गललल किन हाँसे भन्ने सोचिरहें, त्यसपछि उनीहरूले नै बताए । त्यो बेलाको डन प्रशान्त ढकाल रहेछन् । प्रशान्तले आफ्नो ग्याङलाई पराजुली मेरो मामा हो भनेका रहेछन् अनि उनले आफू पराजुली भएको बताउँदा उनीहरू गललल हाँसेका रहेछन् । त्यो बुझेपछि मैले प्रशान्तलाई ‘मलाई मामा भन्छौ’ भनेर सोधे । त्यो सुन्ने बित्तिकै प्रशान्त जुरुक्क उठरे, चोर औंला ठड्याएर मतिर देखाउँदै मामा भन्न सबैलाई आदेश दिए ।’ त्यसैदिनबाट अर्पण पराजुली सबै सडक बालबालिकाको मामा भएका हुन् ।
डनको आदेश मान्नुपर्ने नियम रहेछ । सबैले डनको आदेशको पालना गरे । त्यसैदिनबाट सबै सडक बालबालिकाले मामा भन्न थालेका हुन् ।
३ महिना सडक बालबालिकाजस्तै गरी बसे पराजुली
सडक बालबालिकाका मामा बनेको पराजुलीलाई सबैले मामा–मामा भनेर सम्बोधन गर्न थाले । ‘त्यो सुनेर झनै आत्मीयता पनि बढ्यो अनि मैले केही गर्नुपर्छ भन्ने सोचें,’ उनले भने ।
सडक बालबालिकासँग घुलमिल भएपछि उनले सडक बालबालिकाकै विषयमा पीएचडी गर्ने निर्णय गरे र केही प्रश्नहरु बनाए । भोलिपल्टै हेटौंडा पालिकाको कार्यालय गएर भने, ‘म सडक बालबालिकाबारे एउटा अनुसन्धान गर्न चाहन्छु, मौखिक अनुमति दिन अनुरोध गरें ।’
पालिकापछि उनले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र महिला तथा बालबालिका कार्यालयमा सम्पर्क गरे । सबैबाट उनले कुराकानी गर्ने अनुमति पाए ।
त्यसपछि उनले कोठामा आएर आफूले लगाएको सफा कपडा फुकालेर राखे भने पुरानो सर्ट–पाइन्ट, पुरानो जुत्ता लगाए । अलिकति पैसा र प्रश्नपत्रहरू बोकेर उनी हेटौंडाको सडकमा पुगे । उनी ३ महिना सडक बालक बनेर उनीहरूसँगै बाटोमै बसे, बाटौमै सुते, बाटोमै खाए ।
उनले भने, ‘जसको बारेमा रिसर्च गर्न खोज्दै थिएँ, उनीहरू किन सडकपेटीमा आउन बाध्य हुन्छन् ? कुन उमेर समूहको धेरै हुन्छन् ? उनीहरूले कसरी गुजारा चलाउँछन् ? यावत कुराहरू जान्न–बुझ्न मलाई उनीहरू जस्तै बन्नुपर्ने थियो । मैले सहज रूपमा चलिरहेको जिन्दगीलाई उनीहरू जस्तै गरी ढालें ।’
सडक बालबालिकाका जस्तै गरी उनी सडकपेटीमा ३ महिना बसे । उनले ३ महिनामा ५२ दिन हेटौंडाको सडकपेटी र अरु दिन देशका विभिन्न ठाउँमा सडक बालबालिकाजस्तै गरी बिताएको सुनाए । ३ महिना सडक बालबालिकासँग बिताएपछि उनीहरूको दिनचर्या, पारिवारिक पुष्ठभूमि, भविष्यप्रतिको सोच, मानसिकता जस्ता कुरा थाहा पाएको उनले बताए । उनले सडकमा भोगिरहेका समस्या, समुदाय र उनीहरू बीचको सम्बन्ध लगायत कुरा पत्ता लगाए । सडकपेटीमा बस्दा पनि सडक बालबालिकाको आनीबानीमा परिवर्तन ल्याउन प्रयत्न गरिरहेको उनले बताए ।
सडक बालबालिकाको सहारा बन्यो मामाघर नेपाल
सडक बालबालिकासँग ३ महिना बसेर उनले आफ्नो ठाउँ फर्किएर रिपोर्ट तयार गरे । ‘त्यो रिपोर्ट तत्कालीन समयको हेटौंडा नगरपलिकाका प्रमुख टेकनाथ निरौलालाई बुझाएँ अनि मकवानपुरका तत्कालीन सीडीओ दिनेश भट्टराई र जिल्ला प्रहरी कार्यालय, महिला विकास कार्यालयमा पनि बुझाएँ,’ उनले भने ।
पराजुलीले रिपोर्ट दिँदा सबैबाट अध्ययन प्रस्तुत गर्नुपर्ने सुझाव आएपछि उनले विभिन्न सरकारी, गैरसरकारी संस्था लगायतलाई राखेर प्रस्तुतीकरण गरे । उनले ३ महिने अध्ययनको रिपोर्ट प्रस्तुतीकरणमा भने, ‘सडक बालबालिकाको कुनै ठूलो लक्ष्य नै छैन, कुनै ठूलो चाहनै छैन । माग्ने, चोर्ने, कवाडी टिप्ने, जे–जे गरे पनि एउटै उद्देश्य भनेको खाना खानु नै हो ।’
सडक बालबालिकाले जे–जे गरे पनि खानैका लागि गर्ने भएकाले ‘खाते’ भन्ने गरिएको उनले बताए । ‘त्योबाहेक ठूलो घर बनाउँछु, राम्रो गाडी चढ्छु, ठूलो पदमा पुग्छु भन्ने चाहानै छैन,’ उनले भने । सडक बालबालिकाले गर्ने हरेक गतिविधि खानासँग सम्बन्धित रहने हुनाले सरकारी तथा गैरसरकारी संस्थाले व्यवस्थापन गर्नुपर्ने तर्क उनले राखे ।
प्रस्तुतीकरण गरेको भोलिपल्ट नगरपालिकाले उनलाई बोलायो । उनीसँगको छलफलमा सीडीओ, नगर प्रमुख थिए । नगरपालिकाले अलिकति पैसा दिने र त्यस पैसाले घरभाडा, भाँडाकुँडा र लत्ताकपडा किनेर सडक बालबालिकाको व्यवस्थापनमा लाग्न अनुरोध गरेको उनले सम्झिए । उनले भने, ‘जिल्लाका सीडीओले पनि सकेको सहयोग गर्ने वचन गरे । सीडीओ र नगर प्रमुखले यो परियोजनाको नाम मामाघर राख्नुपर्ने प्रस्ताव गर्नुभयो । सबै सडक बालबालिकाले तपाईंलाई मामा भन्दा रहेछन्, भनेपछि संस्थाको नाम मामाघर जुर्न गयो भन्नुभयो ।’
त्यसलगत्तै २–४ जना साथीभाइ मिलेर हेटौंडा–४ जीएस चोकमा ५ कोठाको घरभाडामा लिएर २०६८ कात्तिक २७ गतेबाट मामाघर परियोजना शुरू भएको उनले बताए । पहिलो दिन १ जना भान्जा अर्थात् सडक बालक मात्र राखिएकोमा दोस्रो दिन १४ जना भान्जाहरू हेटौंडाका विभिन्न स्थानबाट ल्याएर राखेको उनले बताए । १ वर्षमा सडक बालबालिकाको संख्या बढ्दै गएपछि घर साँघुरो हुन पुग्यो । त्यसपछि मामाघर हेटौंडा–४ कान्तिलोकपथमा १५ कोठा भएको घरमा पुग्यो । मामाघर नेपालले हालसम्म २०१ जना सडक बालक भान्जाहरूको उद्धार, १४० जनालाई पारिवारिक पुनर्मिलन गराएको उनले बताए ।
उनले भने, ‘अहिले मामाघर नेपालमा २३ जना भान्जाहरू छन् भने ४ जना क्याम्पसमा अध्ययनरत छन् ।’ अन्य बाँकी विद्यालयमा अध्ययन गरिरहेका समेत उनले सुनाए । ‘धेरै भान्जाहरूले घरजम गरिसके, कतिपय व्यवसाय गरेर बसेका छन्, कति आफ्नो पौरख गरेर पसिना बगाएर काम गर्ने भएका छन् । मामाघर नेपाल हेटौंडावासीको साझा संस्था हो । यसको आफ्नै कुनै आयस्रोत छैन । मामाघरमा बर्थडे, म्यारिज एनिभर्सरी मनाउन आउने र सहयोग गर्नेहरूका कारण संस्था जीवित छ,’ उनले भने ।
सरकारी तथा गैरसरकारी संस्था, विभिन्न व्यक्ति तथा कम्पनीको सहयोगले मामाघर आजसम्म चलिरहेको उनले बताए । ‘सडक बालबालिका सडकपेटीमा रहँदा पहिले कुनै लक्ष्य नभएको पनि उनीहरू अहिले एउटा लक्ष्य बोकेर हिँडेका छन्, त्यो देख्दा खुशी लाग्छ,’ उनले भने, ‘हेटौंडा–११ का स्थानीय समाजसेवी सिद्धिलाल श्रेष्ठले मामाघर नेपालको भवन निर्माणका लागि २ कठ्ठा १४ धुर जग्गा उपलब्ध गराएका थिए । त्यसपछि १ व्यक्ति १ इँटा अभियानका साथै संस्थागत सहयोग जुटाएर मामाघरको आफ्नै बालमैत्री भवन बनाएका छौं । सडकबाट उद्धार गरिएका बालकहरू राष्ट्रिय खेलाडी समेत बनिसकेका छन् ।’
मामाघर नेपाल स्थापना हुनुपूर्व र अहिले सडक बालबालिकालाई हेर्ने र गर्ने व्यवहारमा पनि परिर्वतन आएको उनले बताए । ‘अहिले हेटौंडाको सडकपेटीमा सडक बालबालिका भेट्न पहिलेको तुलनामा कठिन छ । हाम्रो लक्ष्य सडक बालबालिकामुक्त जिल्ला बनाउनु हो । त्यसका लागि सबैको साथ, सहयोग पाएको छु,’ उनले भने । भावी योजना सुनाउँदै उनले हाल हेटौंडामा मात्र सीमित रहेर काम गरिरहे पनि अन्य जिल्लामा समेत शाखा विस्तार गर्ने बताए ।
उनले ३ महिना सडक बालबालिकासँगै सडकपेटीमा बसेर गरेको अध्ययनले मूर्तरूप लिन थालेको बताए । हाल उनी आफ्नो पुरानो अध्यापन पेशालाई निरन्तरताका साथसाथै मामाघर नेपाल संस्थामार्फत सडक बालबालिकालाई नयाँ जीवन दिन पनि तत्लीन हुँदै आएका छन् भने नेपालमै पहिलो सडक बालबालिका विषयसम्बन्धी पीएचडी गर्ने पहिलो व्यक्ति समेत भएका छन् । उनको पीएचडी अध्ययन अन्तिम चरणमा पुगेको छ ।
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...