
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि युवा उद्यमी विजय कँडेलले काठमाडौं क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । उनले सोमवार बिहान सामाजिकसन्जाल मार्फत उम्मेदवारी घोषणा गरेका हुन् । उम्मेदवारी घोषणा गर्दै कँडेलले देशमा ब्याप्त विकृति अन्त्य गर्न, देश र जनताको अवस्था परिवर्तन गर्न र उपलब्ध साधन, स्रोत एवं प्रविधिको उच्चतम प्रयोग गरी देश विकास गर्न आफूले उम्मेदवारी दिएको बताएका छन् ।
उनले समग्र युवाहरूको प्रतिनिधित्व गर्दै उम्मेदवारी घोषणा गरेको पनि प्रष्ट पारेका छन् । ‘राजनीतिक परिवर्तनमा हामीले अग्रगामी छलाङ मार्यौ, तर नागरिकको जीवनस्तर जहाको त्यही रह्यो,’ कँडेलले सामाजिक सन्जाल फेसबुकमा लेखेका छन, ‘लोकतन्त्र आयो, तर भुँइमान्छेहरूले त्यसको महसुस कहिल्यै गर्न पाएनन् ।’ यस्तो अवस्था अन्त्यका लागि आफू नेतृत्व लिन अघि सरेको कँडेलको भनाइ छ ।
करिब चार दशक लामो जीवनमा देश–विदेश घुम्ने, काम गर्ने र सिक्ने अवसर मिलेको बताउँदै कँडेलले आफ्नो अनुभव र सीपका आधारमा राष्ट्र निर्माणमा लाग्न तत्पर रहेको बताए ।
बालुवाटार निवासी कँडेल विभिन्न सामाजिक गतिविधि र ब्यापार व्यवसायमा संलग्न छन् । उनको हाइजेनिक मिट सेन्टर, समाधान सेवा नेपाल, एचएम्सी फुड्स, हाइजेनिक एग्रो टुरिजम फार्मलगायतका व्यवसाय सञ्चालनमा छन् ।
यसअघि उनले काठमाडौंलाई धुलोरहित बनाउन ‘जाग्यो नेपाल’ अभियानको नेतृत्व गरेका थिए ।