२६ असार २०८३, शुक्रबार

यसकारणले बढे काठमाडौं उपत्यकामा डेंगुका बिरामी, अस्पताल भरिँदै

यसकारणले बढे काठमाडौं उपत्यकामा डेंगुका बिरामी, अस्पताल भरिँदै

काठमाडौं‌ उपत्यकामा डेंगु ज्वरोका बिरामी दैनिक बढेको पाइएको छ । नेपालमा अहिले मुख्यगरी काठमाडौं, ललितपुर र रुपन्देही जिल्लामा सबभन्दा बढी डेंगुका बिरामी पाइएको छ । ती जिल्लाका अस्पतालमा डेंगुको उपचारका लागि  बिरामीको चाप पनि बढेको छ ।

विशेषगरी साँझ–बिहानको समयमा सक्रिय हुनेमौसममा सफा र जमेको पानीमा बस्ने ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेंगु रोग लाग्ने गर्दछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.सन्जयकुमार ठाकुरले साउनदेखि केही शहरमा डेंगुका बिरामी बढेको बताए । उनका अनुसार  ललितपुर, काठमाडौं र रुपन्देहीमा डेंगुका बिरामी बढी रहेका छन् । ललितपुरमा एक हजार ५६, रुपन्देहीमा ३७७ र काठमाडौंमा ३३२ जना डेंगुका बिरामी भेटिएका छन् । 

अव्यवस्थित शहरीकरणका कारण डेंगुका बिरामी बढेको उनी बताउँछन् । ‘अव्यवस्थित शहरले गर्दा घरवरपर खाल्डाखुल्डी तथा पानी जम्ने ठाउँ रहेका हुन्छन्’ प्रवक्ता ठाकुरले भने, ‘ती ठाउँबाट नै डेंगु रोग सार्ने जातको लामखुट्टेको विकास हुने गर्दछ ।’

उनले पानी ट्यांकी, गाडीको टायर, गमला, घर नजिकको खाल्डाखुल्डीमा पानी जम्न दिन नहुने बताए । एसिबाट निस्केको पानी जमेपछि त्यही जमेको पानीमा लामखुट्टेले फुल पार्ने गरेको छ । मन्त्रालयका प्रवक्ता डा.ठाकुरले डेंगु रोगको रोकथाम तथा नियन्त्रण गर्न सरकार भन्दा पनि व्यक्तिगत रूपमा लाग्नुपर्ने बताए ।

व्यक्तिगतरुपमा आ–आफ्नो घरमा सरसफाइ गरेर पानी जम्न नदिने र घर वा बाहिर बस्दा शरिर पूरा ढाकिएको कपडा लगाउनुपर्ने उनको भनाइ छ । उनले डेंगु लागेपछि धेरै मानिसलाई लक्षण नदेखेर नै निको हुने बताउँछन् । ‘अहिले गम्भीर बिरामीमा भने सेतो रगत कम हुने गर्दछ’, उनले भने, ‘धेरैजसोलाई सिटामोल नै खाएर निको पार्न सकिन्छ ।’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कल्सन्टेन्ट फिजिसियन डा विमल चालिसेका अनुसार अस्पतालमा डेंगु संक्रमित बढिरहेका छन् । डा चालिसेका अनुसार अस्पतालमा दैनिक ३० देखि ३५ जना भर्ना भएर उपचार गर्ने खालका र आकस्मिक सेवामा दैनिक ६० देखि ७० जना बिरामी आइरहेका छन् । 

‘धेरैजसो बिरामी धेरै ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, खान मन नलाग्ने, बान्ता हुने, पखाला लाग्नेजस्ता लक्षण भएका बिरामी आउने गरेका छन्’, उनी भन्छन्, ‘उपचार गर्नका लागि अस्पतालमा आएका बिरामीलाई फर्काउने गरेका छैनौँ । अहिलेसम्म शैय्याको व्यवस्था गरेका छौँ । तर अहिलेको भन्दा बढी भएपछि समस्या हुनेछ ।’

अस्पतालमा ७० शैय्या र २४ सघन उपचार कक्ष (आइसियु) रहेको छ । उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडाैँलाको मासु दुख्ने आदि डेंगुका लक्षण हुन् । डेंगु ज्वरो सञ्चो हुने बेलामा शरीरमा राता दाग पनि देखा पर्छन् ।

गम्भीर प्रकृतिको डेंगु संक्रमण भएका बिरामीमा थकान महसुस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, सास फेर्न गाह्रो हुने, पेट खुट्टा सुनिनेजस्ता लक्षण देखा पर्छन् । यस्ता लक्षण देखिएका बिरामीलाई भने तत्काल अस्पताल भर्ना गराउनुपर्छ । डेंगु रोग चार प्रकारका भए पनि अहिले नेपालमा कुन प्रकारको डेंगु देखिएको छ भन्नेमा अनुसन्धान भइरहेको छ  । 

वीर अस्पतालका उपनिर्देशक डा प्रज्वल श्रेष्ठले अस्पतालमा कोरोना भाइरसका भन्दा डेंगुका बिरामी बढी रहेको बताए । उनका अनुसार अहिले वीरमा २४ जना डेंगुका बिरामी र २२ जना कोरोना भाइरसका बिरामी रहेका छन् । उनले अहिले दैनिक चारदेखि पाँच जना आकस्मिक कक्षमा उपचार गर्न आउने गरेको बताए । 

स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले साउन र भदौ महिनामा लामखुट्टेको संख्या वृद्धि हुने भएकाले काठमाडौं उपत्यकासहित तराईमा डेंगुका बिरामी बढेको बताए । उनले डेंगुलाई नियन्त्रण गर्नका लागि लामखुट्टेको लार्भा खोजेर मार्नुपर्ने बताए । 

उनले डेंगु रोकथाम र नियन्त्रणका लागि काठमाडौं उपत्यका जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहलाई निर्देशन दिइरहेको बताए । उनका अनुसार देशभरिका १३९ स्थानीय तहमा डेंगु रोकथाम र नियन्त्रण गर्न लार्भा नियन्त्रण र जनचेतना जगाउनका लागि बजेट विनियोजन गरिएको छ । उपत्यकामा ललितपुरमा सबभन्दा बढी डेंगुका बिरामी देखिएका छन् । लामखुट्टे धेरै पाइने तराई–मधेश तथा पहाडी क्षेत्रमा डेंगुको संक्रमण बढ्दै गएको छ । विशेष गरी जनघनत्व बढी भएका काठमाडौं उपत्यका, पोखराजस्ता शहरमा डेंगुज्वरोका बिरामी बढिरहेका छन् । 

त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा अहिले ११ जना डेंगुका बिरामीले उपचार गराइसकेका अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिए । उनले अस्पतालमा कोरोना भाइरसका बिरामी घटेसँग डेंगुका बिरामी बढेको बताए । 

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका भेक्टर कन्ट्रोल निरीक्षक उत्तमराज प्याकुरेलका अनुसार अहिलेसम्म २ हजार ८२७ जनामा डेंगुका बिरामी फेला परेका छन् । प्रदेश १ मा २०१ जना, मधेश प्रदेशमा ५८ जना, बागमती प्रदेशमा १ हजार ६९७ जना, गण्डकी प्रदेशमा ७८ जना, लुम्बिनी प्रदेशमा ६६६ जना, कर्णाली प्रदेशमा ३९ जना र सुदूरपश्चिम प्रदेशमा ८८ जनामा डेंगुका बिरामी रहेका छन् । 

डेंगुका बिरामी सबभन्दा बढी १० जिल्लामा रहेका छन् । ललितपुरमा १ हजार ५६, रुपन्देहीमा ३७७ जना, काठमाडौंमा ३३२ जना, तेह्रथुममा ७७ जना, धादिङमा ७६ जना, सिन्धुली ६१ जना, संखुवासभा र भक्तपुरमा समान ५७ जना, अर्घाखाँचीमा ५१ र गुल्मीमा ४९ जना बिरामी भेटिएका छन् । रासस
 

salt training

कमेन्ट गर्नुहोस्