
भद्रपुर विमानस्थलबाट उत्तर साढे तीन किलोमिटरको दूरीमा ऐतिहासिक एवं पुरातात्विक महत्वको चन्द्रगढ पर्यटकीयस्थल रहेको छ । जुन क्षेत्रको पर्याप्त विकास हुन नसक्दा वार्षिक रु पाँच करोडभन्दा बढीको आम्दानी गुम्नुका साथै ओझेलसमेत परेको छ ।
भद्रपुर नगरपालिका–१० स्थित चन्द्रगढी सामुदायिक वनभित्र रहेको यस स्थानमा राणाशासन कालमा चन्द्र शमशेर आएर सैनिक किल्ला कायम गरेको स्वतन्त्र विश्वकोष विकिपिडियामा उल्लेख छ तर, सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दुर्गा भट्टराईले यसको इतिहासबारे अन्योल रहेको बताए ।
उनका अनुसार सो क्षेत्रमा पानी नभएको दुईवटा पोखरी, थुम्की र इनार भग्नावशेषको रुपमा पाइन्छ । चार सय ३० हेक्टर क्षेत्रमा रहेको सामुदायिक वनभित्र रहेको चन्द्रगढमा विसं २०५५÷०५६ तिर पुरातत्व विभागले उत्खननसमेत गरेको उनको भनाइ छ ।
वन क्षेत्रको ४२ हेक्टर जमिनमा फैलिएको चन्द्रगढलाई पर्यटकीयस्थलमा विकास गर्नका लागि विसं २०६१÷०६२ मा तत्कालीन मोरङ बहुमुखी क्याम्पसका प्रा डा सोमप्रसाद खतिवडा र इटहरीका चित्रकार विक्रम श्रीलगायतको विज्ञको टोलीले अवधारणा पत्रसमेत बनाएको थियो तर, सोअनुरुप बजेट अभावमा भने काम हुन नसकेको अध्यक्ष भट्टराईको भनाइ छ ।
करिब दुई हजार दुई सय वर्ष पुरानो अवशेष रहेको यस क्षेत्रमा प्राकृतिकरुपमा १६ वटा थुम्की, दुई वटा पोखरीलगायतको सुन्दर हरियाली जमिन रहेको छ । पूर्वपश्चिम राजमार्गको चारआली बजारबाट करिब तीन किलोमिटर दक्षिण क्षेत्रमा रहेको वन क्षेत्र पुग्न कालोपत्रे सडक निर्माण भइसकेको छ ।