०८ साउन २०८३, शुक्रबार
प्रतिनिधिसभा निर्वाचन

संसदमा कमब्याकको प्रयास : लुम्बिनीका 'हेभीवेट' ब्याटलमा महिला नेत्री

असोज २५, २०७९
संसदमा कमब्याकको प्रयास : लुम्बिनीका 'हेभीवेट' ब्याटलमा महिला नेत्री

ठूला राजनीतिक दलबाट लुम्बिनी प्रदेशमा प्रभावशाली नेतासँग भिड्न आधा दर्जन बढी महिला नेत्री प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् ।

आसन्न मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा प्रदेशअन्तर्गत पर्ने २६ निर्वाचन क्षेत्रमध्ये ६ क्षेत्रमा ‘हेभीवेट’ नेतासँग महिला उम्मेदवार भिड्दैछन् ।

दाङका तीनवटै निर्वाचन क्षेत्रमा प्रमुख पार्टीबाट महिलालाई अगाडि सारिएको छ । दाङ–२ मा एमाले महासचिव शंकर पोखरेलसँग चुनाव लड्न सत्ता गठबन्धनले माओवादीकी रेखा शर्मालाई उम्मेदवार बनाएको छ ।

दाङ– ३ मा कांग्रेस उम्मेदवारसँग एमाले नेत्री कोमल वली प्रतिस्पर्धामा छिन् ।

दाङ– १ मा शहरी विकास मन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीसँग एमाले नेत्री शान्ता चौधरीले प्रतिस्पर्धा गर्दैछिन् ।

गुल्मी–२ मा एमाले सचिव गोकर्ण विष्ट र नेकपा एसकी सचिव रामकुमारी झाँक्रीबीच प्रतिस्पर्धा हुँदैछ । 

अर्घाखाँचीमा एमाले सचिव टोपबहादुर रायमाझी र निवर्तमान उपसभामुख पुष्पा भुसालबीच प्रतिस्पर्धा हुँदैछ ।

पश्चिम नवलपरासी– १ बाट सदाबहार उम्मेदवार हृदयेश त्रिपाठी र कांग्रेस उम्मेदवार उद्योगपति विनोद चौधरीसँग एमालेले नेत्री सिन्धु जलेसालाई उम्मेदवार बनाएको छ ।

त्यस्तै दाङ–१ बाट पार्टीले टिकट नदिएपछि निवर्तमान एमाले सांसद गंगा चौधरी स्वतन्त्र उम्मेदवार बनेकी छिन् । 

प्रदेशबाट प्रतिनिधिसभामा ‘कमब्याक’ गर्न खोजका सबै नेत्रीहरू निवर्तमान सांसद हुन् । धेरै महिला उम्मेदवार एमालेका छन् । 

यसका अलावा प्युठानमा एमाले पोलिटब्युरो सदस्य सूर्य थापा र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल आमनेसामने हुँदैछन् । सूर्य थापाले चुनावी मैदानमा डेब्यु गरेका हुन् भने दुर्गा पौडेल निवर्तमान सांसद हुन् ।

महासचिव पोखरेल र माओवादी नेत्री शर्माको रोचक प्रतिस्पर्धा 

एमाले महासचिव शंकर पोखरेल र शर्माको यो पहिलो चुनावी भेट हो । यही क्षेत्रबाट सिफारिश भए पनि अन्तिममा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महराले चुनाव नउठ्ने घोषणा गरेसँगै शर्माले प्रत्यक्ष चुनाव लड्ने अवसर पाएकी हुन् । 

शर्मालाई नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चासहितका दलको साथ छ भने एमालेका उम्मेदवार पोखरेललाई राप्रपा जसपा लगायतका दलको साथ रहनेछ । 

‘हेभीवेट’ पोखरेलसँग विगतमा सामान्य प्रशासन मन्त्रालयको नेतृत्व गरेकी नेता शर्माबीच प्रतिस्पर्धा पेचिलो हुने देखिन्छ । २०५१ पछि पोखरेल प्रत्यक्ष निर्वाचन लडेर प्रतिनिधिसभा सदस्य बन्ने दाउमा छन् । 

माओवादी जिल्ला इञ्चार्ज निर्मल आचार्यले गठबन्धनले यो क्षेत्रमा जीत निकाल्ने दाबी गर्छन् । ‘एमालेले प्रदेशको राजधानी बुटवलबाट दाङ ल्याएको बताउँदै आएको छ,’ आचार्यले भने, ‘शंकर पोखरेलले मात्र होइन, तत्कालीन नेकपा हुँदा आएको हो । त्यो राजधानीको नेकपाको हो ।’

एमाले दाङका अध्यक्ष हुकुम बस्नेतले महासचिव पोखरेलसँग कसैको प्रतिस्पर्धा हुनै नसक्ने बताए । यो क्षेत्रमा पर्ने घोराही र तुलसीपुर उपमहानगरपालिका एमालेले जितेको थियो । पालिका निर्वाचनमा गठबन्धनबीच असन्तुष्टिले त्यस्तो भएको भन्दै अबको निर्वाचनमा त्यो अवस्था नदोहोरिने माओवादीको दाबी छ ।

अर्घाखाँचीमा टोपबहादुर र पुष्पाको जम्काभेट 

एउटा मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा एमाले सचिव टोपबहादुर रायमाझी र कांग्रेस नेत्री पुष्पा भुसालबीच रोचक प्रतिस्पर्धा हुँदैछ ।

गठबन्धनकी साझा उम्मेदवार एवं संघीय संसद्को निवर्तमान उपसभामुख भुसाल र सचिव रायमाझी दुवै जिल्लाका पुराना नेता हुन् । 

२०६४ सालको चुनावमा तत्कालीन क्षेत्र नम्बर १ बाट रायमाझी माओवादी र २ बाट भुसाल कांग्रेसबाट निर्वाचित भएका थिए । १५ वर्षको अवधिमा दुवैजना सत्ता बागडोरको नेतृत्व तहमा पुगे । तर, प्रत्यक्ष चुनावी जम्काभेट भने पहिलो हो ।

दुवैले मनोनयन दर्तापछि आफ्नो जीत सुनिश्चित रहेको दाबी गरे । रायमाझीले २०६४ र ०७० मा माओवादी केन्द्रबाट चुनाव जितेका थिए भने २०७४ मा एमालेका साथमा माओवादीबाटै चुनाव जिते । पहिलोपटक एमालेबाट चुनावी प्रतिस्पर्धा गर्न लागेका रायमाझी र भुसालबीचको भिडन्त रोचक हुने देखिन्छ ।

२०६४ सालको पहिलो संविधानसभा चुनावमा पुष्पाले तत्कालीन निर्वाचन क्षेत्र २ बाट चुनाव जितेकी थिइन् । त्यति बेला रायमाझीले माओवादीबाट चुनाव जितेका थिए । दोस्रो संविधानसभामा पनि दुवैजना उम्मेदवार बने । रायमाझीले जिते । तर, पुष्पा एमालेका उम्मेदवार डा. दुमन थापासँग पराजित भइन् ।

संघीयतापछिको २०७४ को चुनावमा पुष्पा समानुपातिक उम्मेदवार बनिन् । संघीय संसद्की उपसभामुख उनी अहिले गठबन्धनको सहयोगमा एमाले सचिव रायमाझीसँग भिड्दैछिन् । 

स्थानीय तहको मत परिणाम हेर्दा जिल्लामा एमाले बलियो देखिन्छ । एमालेले ४८ हजार २६०, कांग्रेसले ३७ हजार ९२५, माओवादीले ७ हजार ७९०, राष्ट्रिय जनमोर्चाले ४ हजार २९४ र नेकपा एसले ३ हजार ७६३ मत पाएका छन् ।

शिक्षा, स्वास्थ्य, पर्यटनदेखि समग्र अर्घाखाँचीको विकासको लागि यो पटक जनताले आफूलाई जिताउने दाबी गर्छिन् । 

पूर्व सहकर्मी विष्ट र झाँक्रीको भीडन्त 

गुल्मी– २ बाट योपटक एमाले सचिव गोकर्ण विष्टले आफ्नै पूर्व सहकर्मी रामकुमारी झाँक्रीसँग प्रतिस्पर्धा गर्दैछन् । 

गठबन्धनबाट नेकपा एसकी सचिव झाँक्री र एमाले सचिव विष्टको प्रतिस्पर्धालाई जिल्लामा रोचक रूपमा लिइएको छ । बलियो संगठन भएको एमालेका विष्टसँग प्रतिस्पर्धा गर्न झाँक्रीलाई गठबन्धनकै पूर्ण भर पर्नुपर्ने अवस्था देखिन्छ ।

सरल नेताका पहिचान बनाएका विष्ट आफ्नो जीतलाई निरन्तरता दिने गरी चुनावी अभियानमा छन् भने योपटक गठबन्धनको बलमा विष्टलाई रोक्ने झाँक्रीको दाउ देखिन्छ । झाँक्रीले गुल्मीमा योपटक जनताले आफूसहित सत्तारुढ गठबन्धनलाई खोजेको बताउँछिन् । 

तर, एमाले गुल्मीका सचिव गणेश श्रीपालीले विष्टको जीत रोक्न संगठन नै नभएकी झाँक्रीलाई सम्भव नभएको दाबी गर्छन् ।

यो क्षेत्रमा २०५६ देखि निरन्तर विष्ट उम्मेदवार छन् । जसमध्ये उनी २०६४ मा पराजित भए पनि अन्य सबै चुनावमा विजयी भएका छन् । विष्टको शालीन स्वभाव र झाँक्रीको आक्रामक पहिचान छ । 

स्थानीय तहको मत परिणामले यो क्षेत्रमा एमालेभन्दा गठबन्धन अगाडि देखिन्छ । नेकपा एसका जिल्ला उपाध्यक्ष राम मल्ल ठकुरीले गठबन्धन र एमालेको असन्तुष्ट मतलाई क्यास गरेर आफूहरूले जीत निकाल्ने दाबी गरे ।

एमालेले भने पार्टीको बलियो संगठन र विष्टको लोकप्रिय मत चुनाव जित्नका लागि पर्याप्त हुने दाबी गर्दै आएको छ ।

दाङ– १ मा शान्ता चौधरी र मेटमणि चौधरी 

दाङ– १ मा नेकपा एकीकृत समाजवादीका नेता एवं शहरी विकासमन्त्री मेटमणि चौधरी र एमाले नेत्री शान्ता चौधरीको प्रतिस्पर्धा पनि रोचक हुने देखिन्छ । 

शान्ता र मेटमणि पूर्व सहकर्मी हुन् । मेटमणि २०७४ मा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए । शान्ता २०६४ र २०७४ मा समानुपातिक सांसद बनेकी थिइन् । 

उनी २०७० मा साविक क्षेत्र नम्बर २ बाट कांग्रेसकी सुशीला चौधरीसँग पराजित भएकी थिइन् । 

हाल दाङ क्षेत्र नम्बर १ मा लमही नगरपालिका, गढवा, राप्ती र राजपुर गाउँपालिका तथा घोराही उपमहानगरपालिकाका ४ वटा वडा पर्छन् । 

गएको पालिका निर्वाचनमा लमही र राजपुर कांग्रेस तथा गढवा र राप्ती माओवादी केन्द्रले जितेका छन् । घोराहीमा एमालेले जितेको छ ।

एमालेभन्दा यो क्षेत्रमा गठबन्धन धेरै बलियो भएकाले आफूले सहज चुनाव जित्ने मेटमणिको दाबी छ । तर, शान्ता चौधरी कमैया पृष्ठभूमिबाट आएर पनि राष्ट्रिय राजनीतिमा आफ्नो छवि बनाइसकेकी नेत्री हुन् ।

उनलाई पनि यो क्षेत्रको बलियो उम्मेदवारका रूपमा हेरिएको छ ।

दाङ–३ मा दीपक गिरी र कोमल वली

दाङको क्षेत्र नम्बर ३ मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका दीपक गिरी र एमाले नेत्री कोमल वलीबीच प्रतिस्पर्धा हुँदैछ ।

पूर्वमन्त्री समेत रहेका गिरी यसअगाडि पनि उम्मेदवार थिए । यो क्षेत्रबाट यसअगाडि तत्कालीन एमालेबाट हिराचन्द्र केसी विजयी भएका थिए । 

केसी अहिले नेकपा एकीकृत समाजवादीमा छन् । केसी ४० हजार २८७ मतका साथ विजयी हुँदा गिरीले ३३ हजार ७३० मत ल्याएका थिए । 

निवर्तमान राष्ट्रियसभा सदस्य वली पहिलोपटक चुनावमा उम्मेदवार बनेकी हुन् । कलाकारिता क्षेत्रबाट केही वर्ष अगाडि मात्रै एमालेमा प्रवेश गरेकी उनलाई पार्टीले अगाडि सारेको हो । 

यो क्षेत्रमा तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान मेयर घनश्याम पाण्डे दाबेदार रहे पनि उनलाई प्रदेशमा झारेर वलीलाई टिकट दिइएको हो ।

क्षेत्र नम्बर ३ मा बबई, शान्तिनगर र दंगीशरण गाउँपालिका तथा तुलसीपुर उपमहानगरका १५ वटा वडा पर्छन् । 

तुलसीपुरबाहेक तीनवटै पालिकामा कांग्रेसले जितेको छ । 

प्यूठानमा दुर्गा र थापा आमनेसामने

प्यूठानमा एमालेका पोलिटब्युरो सदस्य सूर्य थापा र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलबीच प्रतिस्पर्धा हुँदैछ ।

पौडेल यसअगाडि पनि यहीँ क्षेत्रबाट निर्वाचित भएकी थिइन् भने थापा पहिलोपटक संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् ।

यसअगाडि एमाले र माओवादी केन्द्रको बलमा चुनाव जितेकी पौडेललाई अहिले पनि सत्तारुढ गठबन्धनले सघाएको छ । 

जिल्लाको पालिकाको निर्वाचनको मत हेर्दा गठबन्धन अगाडि देखिन्छ । तर, विपक्षीप्रति कडा शब्दमा उत्रिन सक्ने थापा आफूले चुनाव जित्ने दाबी गर्छन् ।  

विनोद चौधरी, हृदयेश र सिन्धु जलेसाबीच त्रिपक्षीय प्रतिस्पर्धा 

पश्चिम नवलपरासी क्षेत्र नम्बर १ मा यसपटक प्रतिष्ठित उद्योगी विनोद चौधरी गठबन्धनका तर्फबाट कांग्रेसको उम्मेदवार बनेका छन् ।

यही क्षेत्रमा निवर्तमान सांसद हृदयेश त्रिपाठी र एमालेकी सिन्धु जलेसा पनि प्रतिस्पर्धामा छन् । विनोद चौधरीको उम्मेदवारीले यहाँ चुनावी प्रतिस्पर्धा कडा हुने देखिएको छ । 

त्रिपाठीले २०४८ देखि निरन्तर यही क्षेत्रमा निर्वाचन लड्दै आएका छन्, जसमध्ये २०७० बाहेक अन्य सबै निर्वाचनमा उनले यही क्षेत्रबाट जितेका छन् । 

गएको निर्वाचनमा एमालेको सूर्य चुनाव चिह्न लिएर जितेका त्रिपाठीले यो पटक आफ्नै पार्टीको चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्दैछन् ।

उनले सूर्य चिह्नबाट उम्मेदवारी दिन नमानेपछि एमाले उनलाई समर्थन नगरी महिला नेत्री जलेसालाई अगाडि सारेको हो ।

यो क्षेत्रमा अब विनोद चौधरी, जलेसा र त्रिपाठीको त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ । जलेसा २०७० को संविधानसभामा एमालेबाट समानुपातिक सांसद थिइन् । 

चौधरीको उम्मेदवारीले फेरि जिल्लामा खुशीयाली छ । विकासका लागि चौधरी आउनुपर्ने जिल्लाबासीले बताउँदै आएका थिए । आफूले जिल्लामा जनताको विश्वासलाई खेर जान नदिने चौधरी बताउँछन् ।

‘हिजो पनि जनता माझ थिएँ । तर, आजदेखि फरक भूमिका लिएर प्रत्यक्ष रूपमा नवलपरासी– १ का जनतामा आएर यहाँहरूका दुःख समस्यालाई सम्बोधन गर्न सांसद पदमा उम्मेदवार छु । यो क्षेत्रका जनताको विश्वासलाई खेर जान दिने छैन,’ चौधरी भन्छन् । 

यो क्षेत्रमा कांग्रेस एक्लै पनि बलियो छ । त्यसमाथि माओवादी र नेकपा एसको मत जोडिँदा चौधरीलाई सहज हुने देखिन्छ ।

यस क्षेत्रबाट कांग्रेसले ३० हजार ३४२, एमालेले २६ हजार ७७९, राप्रपाले ६ हजार ६८७, माओवादीले ५ हजार ३४७, जसपाले ३ हजार ५५९, नेकपा एसले १ हजार १४१ र लोसपा १०० मत स्थानीय तह निर्वाचनमा पाएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्