
मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि रुपन्देही २ मा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलविरुद्ध सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका राजु गुरुङ र हाम्रो नेपाली पार्टीका उम्मेदवार डा. कमल भुसालको उम्मेदवारी खारेज भएको छ ।
उम्मेदवार हुन अयोग्य देखिएको भन्दै मंगलवार निर्वाचन अधिकृतको कार्यालयले उनीहरुको उम्मेदवारी खारेज गरेको हो । हाम्रो नेपाल पार्टीको चुनाव चिन्ह लिएर उम्मेदवारी दिएका निकोलस भनिने कमल भुसालले आफूलाई स्वतन्त्र उम्मेदवार भनेर प्रचार गरेका थिए ।
सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले मंगलवार साझ एक सूचना प्रकाशित गरी गुरुङ र भुसालको उम्मेदवारी खारेज भएको जानकारी गराएका हुन् । गुरुङको उम्मेदवारी खारेजी भएसँगै रुपन्देही २ मा सत्ता गठबन्धन उम्मेदवार बिहिन बनेको छ ।
चिकित्सा शास्त्र अध्ययन संस्थानमा सरकारी छात्रवृत्तिमा अध्ययनरत भुसाल चुनाव लड्न पाउँदैनन् ।
गुरुङलाई प्रतिनिधि सभा निर्वाचन ऐन २०७४ को दफा १३ को खण्ड (ज) तथा प्रतिनिधि सभा निर्वाचन निर्देशिका २०७९ को दफा १६ (ज) अनुसार उम्मेदवार हुन अयोग्य देखिएकोले उम्मेदवारको मनोनयन खारेज हुने निर्णय भएको व्यहोरा आयोगको सूचनामा उल्लेख छ ।

गुरुङ गठबन्धनको तर्फबाट नेकपा एसका उम्मेदवार थिए । सरकारी छात्रवृत्तिमा अध्ययन गरिरहेका भुसाल र गुरुङविरुद्ध आयोगमा उजुरी परेको थियो ।
हेर्नुहोस आयोगको सूचना
