१४ असार २०८३, आइतबार
प्रतिनिधिसभा निर्वाचन

प्रभु साहलाई छाड्दिनँ, बरु मलाई सहयोग गरेर प्रायश्चित्त गर्नुपर्छ– पटेल, माओवादी उम्मेदवार [कुराकानी]

असोज २८, २०७९
प्रभु साहलाई छाड्दिनँ, बरु मलाई सहयोग गरेर प्रायश्चित्त गर्नुपर्छ– पटेल, माओवादी उम्मेदवार [कुराकानी]

प्रतिनिधिसभा सदस्य पदका लागि रौतहट- ३ मा नेकपा (माओवादी केन्द्र)का तर्फबाट धीरज पटेलले उम्मेदवारी मनोनयन दर्ता गराएका थिए । प्रदेशसभामा रौतहट- ३ (१) मा  नेकपा एसका नागेन्द्र यादव र ३(२) मा नेपाली कांग्रेसका सुनिल यादव सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । 

सत्ता गठबन्धनकै आधिकारिक उम्मेदवार पटेलले निर्वाचन कार्यालयबाट आधिकारिक चुनाव चिह्न हँसिया हथौडा समेत पाइसकेका छन् । तर, उनलाई आफ्नो उम्मेदवारी फिर्ता लिएर स्वतन्त्रबाट लडेका निवर्तमान सांसद प्रभु साहलाई समर्थन गर्नका लागि केन्द्रबाट दबाब छ  । केन्द्रबाट पार्टीका शीर्ष नेताहरूले उनलाई तीब्र दबाब दिन थालेका छन् ।

माओवादी छाडेर नेकपा एमाले प्रवेश गरेका साहले भने उम्मेदवारी मनोनयनका दिन अन्तिम समयमा एमालेको टिकट छोडेर स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए । अहिले उनी सत्ता गठबन्धनको समर्थन खोजिरेहका छन् ।

माओवादी पार्टीका नेता वर्षमान पुनले साहलाई सत्ता गठबन्धनले समर्थन गर्ने अभिव्यक्ति दिएका छन् । तर, रौतहट- ३ का माओवादी उम्मेदवार पटेल भने कुनैपनि हालतमा उम्मेदवारी फिर्ता नलिने बताइरहेका छन् । बरू प्रभु साहले आफूलाई समर्थन गर्नुपर्ने उनको जिकिर छ । पटेलसँग लोकान्तरकर्मी अजय अनुरागीले कुराकानी गरेका छन् । प्रस्तुत छ उनीसँग गरिएको कुराकानीको सम्पादित अंश उनकै शब्दमा :

म सत्ता गठबन्धनबाट प्रतिनिधिसभाका लागि रौतहट- ३ मा नेकपा माओवादी केन्द्रको आधिकारिक उम्मेदवार हो । नेकपा माओवादी केन्द्रबाट टिकट पाइसकेपछि निर्वाचन आयोगमा आधिकारिक रूपमा नै उम्मेदवारी मनोनयन दर्ता गरेको थिएँ । निर्वाचन कार्यालयबाट समेत हँसिया हथौडा चिह्न प्राप्त गरिसकेको छु । त्यति मात्र होइन, सत्ता गठबन्धनकै आधिकारिक उम्मेदवार हो । त्यही चुनाव चिह्न लिएर जनतामा गइरहेको छु ।

पार्टीले मलाई चुनाव लड्नकै लागि टिकट दिएको हो । त्यसैले स्वतन्त्र उम्मेदवार प्रभु साहलाई मैले समर्थन गर्नुपर्ने कुरै छैन । आफ्नो उम्मेदवारी फिर्ता लिएर प्रभु साहलाई समर्थन गर्नेगरी विज्ञप्ति निकाल्नु भनेको मैले आफ्नो मृत्युपत्रमा हस्ताक्षर गर्नु नै हुन्छ । त्यो काम हुन सक्दैन । म जनतामा गइसकेको छु । जनताले जे फैसला गर्छन्, त्यही मान्य हुन्छ ।

म २८ वर्षदेखि निरन्तर माओवादीमै छु । म २०५१ सालमा ८ कक्षा पढ्दाखेरि नै विद्यार्थी संगठनबाट माओवादी राजनीतिमा जोडिएँ । आफू पढ्दै गरेको विद्यालयको इकाइ अध्यक्ष भएको थिएँ । २०५३ सालमा १० कक्षामा पढ्दाखेरि पार्टीको सदस्यता लिएको थिएँ ।

२०५५ सालदेखि पार्टीको पूर्णकालीन कार्यकर्ता भएर हालसम्म काम गर्दै आएको छु ।  २०५५ सालमै म पनि भूमिगत भएको थिएँ । जनयुद्धमा लडाकु भएर पनि काम गरें । संगठनको पनि काम गरें । जनयुद्धकालमा बारा, रौतहट, सिन्धुलीमा पनि काम गरें । जिल्ला सेक्रेटरी भएर पनि काम गरें ।  पार्टीको केन्द्रीय सदस्य हुँदै अहिले प्रदेश कमिटीमा छु ।

प्रभु साहलाई मैले नै २०५६ सालमा माओवादी पार्टीको सदस्यता दिएको हो । उहाँको घर पतौरा गाविसमै पुगेर उहाँलाई पार्टीको सदस्यता दिएको थिएँ । उहाँलाई पार्टीको सदस्यता दिएर उहाँसहित पतौरा गाविसको तीन सदस्यीय सेल कमिटी मैले नै बनाएको थिएँ ।

उहाँ पनि माओवादीमा काम गर्नुभयो । २०६४ सालमा उहाँ संविधान सभाको चुनाव लड्दा पनि म नै जिल्ला सेक्रेटरी थिएँ । त्यतिबेला जिल्ला सेक्रेटरी नै कार्यकारी थियो । मैले उहाँलाई त्यतिबेला पनि चुनाव जिताएँ ।

२०७० सालमा पनि लड्नुभयो, फेरि जिताएँ । २०७४ सालमा पनि लड्नुभयो र हामीले जितायौं । हजारौं शहीदको रगत, बलिदान, त्याग र तपस्या सहितबाट बनेको संविधानविपरीत केपी ओलीले संसद विघटन गरेपछि प्रतिगमनको मतियार बन्न उहाँ एमालेमा जानुभयो । 

माओवादीको आधिकारिक उम्मेदवार म नै हो । मैले उहाँ (प्रभु साह)लाई समर्थन गर्न सक्दिनँ । बरु उहाँलाई कम्युनिष्ट आन्दोलनको एक रत्ती पनि गुन छ भने उहाँले प्रेस विज्ञप्ति जारी गरेर मलाई समर्थन गर्नुपर्छ ।

माओवादी पार्टीले उहाँलाई के दिएन? सबथोक दियो । पार्टीले उहाँलाई तीनपटक मन्त्री बनायो । कानून मन्त्री बनायो । भूमि सुधार मन्त्री बनायो । शहरी विकास मन्त्री बनायो । तर, केपी ओलीले संसद् विघटन गरिसकेपछि मन्त्री पद खानकै लागि उहाँ एमालेमा लाग्नु भयो । महान शहीदहरूको बलिदानलाई बिर्सँदै प्रतिगमनकारी केपी ओलीको मतियार बन्न पुग्नुभयो । केका लागि भने फेरि पनि शहरी विकास मन्त्री पद खानका लागि ।    

त्यसो त शुरूमा प्रभु साहले प्रेस विज्ञप्ति नै जारी गरेर संसद् विघटन गरी केपी ओलीले प्रतिगमन गर्‍यो भन्नुभएको थियो । तर, मन्त्री पद पाएपछि प्रतिगमन पनि उहाँले बिर्सनुभयो । एमालेमा हुँदा प्रचण्डमुक्त रौतहट जिल्ला बनाउँछु भनेर भाषण गर्नुहुन्थ्यो । माधव नेपालमुक्त रौतहट बनाउँछु भनेर भन्नुहुन्थ्यो ।

ओलीको महानता बखान गर्नुहुन्थ्यो । फेरि एमालेमा जब उहाँको भागबण्डा मिलेन, उहाँका नातेदार, कुटुम्ब, जातिका मानिसलाई भाग मिलेन तब एमालेमा बितण्डा मच्चाउन शुरू गर्नुभयो । एमालेले कारवाही गरिसकेपछि स्वतन्त्ररूपमा उम्मेदवारी दिनुभयो ।

स्वतन्त्रबाट लड्दा हार्ने निश्चित भइसकेपछि उहाँ काठमाडौं पुगेर हाम्रो पार्टीका शीर्ष नेताकोमा चाकडी गर्न थाल्नुभएको छ । गठबन्धनका नेता माधवकुमार नेपाललाई समेत भेटेर सत्ता गठबन्धनबाट समर्थनका लागि हारगुहार गर्नुभयो । त्यतिले नपुगेपछि अहिले काठमाडौंमा हाम्रो पार्टीको शीर्ष नेतालाई भेटेर दबाब दिइरहनुभएको छ ।  

मलाई अहिलेसम्म आधिकारिकरूपमा आदरणीय पार्टी अध्यक्ष प्रचण्डले उम्मेदवारी फिर्ता लिन भन्नुभएको छैन । तर, जिल्ला नेतृत्वले भने माथिको आदेश भन्दै आफ्नो उम्मेदवारी फिर्ता लिएर प्रभु साहलाई समर्थन गर्न भन्नुभएको छ । प्रभु साहलाई नै समर्थन गर्नु थियो भने पार्टीले प्रभु साहलाई नै टिकट दिएको भए हुन्थ्यो नि, मलाई किन टिकट दियो त भनेर मैले पनि उहाँहरूलाई जवाफ दिइसकेको छु ।

जिल्ला अध्यक्ष देवेन्द्र पटेल, जिल्ला इञ्चार्ज युवराज भट्टराई 'समिर'जीले उम्मेदवारी फिर्ता लिन भन्नुभएको छ । प्रभुजीलाई समर्थन गर्ने भनेर माथिको आदेश छ, तपाईं एउटा प्रेस विज्ञप्ति जारी गरेर आफ्नो उम्मेदवारी फिर्ता लिँदै प्रभुजीलाई समर्थन गरेको भन्नुस् भनेर उहाँहरूले भन्नुभएको छ ।

मैले पनि पार्टीमा २८ वर्ष इमान्दारीपूर्वक लगानी गरेको छु । जनतामा गइसकेको छु । पार्टीले टिकट नै नदिएको भए हुन्थ्यो तर अब दिइसकेपछि फिर्ता हुन्नँ भनेर उहाँहरूलाई पनि मैले स्पष्ट जवाफ दिइसकेको छु । गठबन्धनका उम्मेदवारसँगै अहिले पनि जनताको घरदैलोमा मत मागिरहेको छु । जनताका बीचमा गइसकेको अवस्थामा पनि आफ्नो उम्मेदवारी फिर्ता लिनु भनेको मेरो हत्या नै हुन्छ । म आफ्नो मृत्युपत्रमा हस्ताक्षर गर्दिनँ ।

मैले उम्मेदवारी फिर्ता नलिए पार्टीले बढीभन्दा बढी मलाई सांगठनिक कारवाही गर्न सक्छ । निर्वाचन आयोगले मलाई दिएको चुनाव चिह्न हँसिया हथौडा अब खोस्न सक्दैन ।

प्रभु साह माओवादी पार्टीबाट १५ वर्षसम्म सांसद बन्नुभयो ३ पटक मन्त्री बन्नुभयो । पद र पावरमा हुँदा माओवादी आन्दोलनमा लागेका क्रान्तिकारीहरूलाई पार्टीबाट पाखा लगाउने काम गर्नुभयो ।

आफ्ना जातका, नातागोताका तथा चैते माओवादीलाई मात्र बोक्ने काम गर्नुभयो । उहाँमा परिवारवाद, जातिवाद, भ्रष्टाचारवाद, तानाशाहवाद मात्र छ । उहाँले जहिल्यै पनि निषेधको राजनीति गर्नुभयो । जातपातको राजनीति गर्नुभयो । ती कुराहरूलाई मार्क्सवाद र कम्युनिष्ट आइडियोलोजीले स्वीकार्दैन ।

त्यसैले उहाँ माओवादी पार्टीको उम्मेदवार होइन । माओवादीको आधिकारिक उम्मेदवार म नै हो । मैले उहाँलाई समर्थन गर्न सक्दिनँ । बरु उहाँलाई कम्युनिष्ट आन्दोलनको एक रत्ती पनि गुण छ भने उहाँले प्रेस विज्ञप्ति जारी गरेर मलाई समर्थन गर्नुपर्छ ।

कम्युनिष्ट आन्दोलन छाडेर मैले गल्ती गरें । अपराध गरें भनेर जनताका बीचमा प्रायश्चित गर्नका लागि पनि उहाँले विज्ञप्ति जारी गरेर मलाई समर्थन गर्नुपर्छ ।  रौतहट जिल्लामा मात्रै माओवादीका १८४ जना शहीद भएका छन् । देशभरमा १४ हजार जना शहीद छन् ।

शहीदको रगतबाट हँसिया हथौडा चिह्न आएको हो । त्यो चिह्नलाई प्रभु साहले समर्थन गरेर आफ्नो पाप र अपराधको प्रायश्चित गर्नुपर्छ । प्रभु साह सांसद बन्नु अघिसम्म एकदम सामान्य आर्थिक हैसियत भएका मानिस थिए । तर, अहिले उनीसँग अर्बौं अर्बको सम्पत्ति छ । त्यो कहाँबाट आयो ?

उहाँ नेपाल ल क्याम्पस पढ्दाखेरि बस चढेर जान टिकट समेतको पैसा थिएन । उहाँलाई दुईवटा विषयमा ब्याक लागेको थियो । त्यतिबेला पनि मैले नै २०५७ सालमा उहाँलाई ५ सय रुपैयाँ खल्तीमा राखेर काठमाडौं पठाएको हो । किनभने त्यतिबेला म उहाँको कमान्डर थिएँ, उहाँ मेरो सिपाही हुनुहुन्थ्यो । तर, अहिले रौतहट आउनुस्, म देखाइदिन्छु कसरी उहाँले राजारजौटाको जीवनशैली जिउनुहुन्छ । गाउँमा घर पनि थिएन । तर अहिले महल ठड्याउनु भएको छ ।

त्यत्रा ठूल्ठूला महल कहाँबाट आए ? राजनीति गर्ने मान्छेको त सम्पत्ति घट्छ नि तर उहाँको बढेकोबढ्यै छ । अर्बौं सम्पत्तिको मालिक हुनुका साथै कालोधनको पनि मालिक बन्नुभएको छ ।

salt training

कमेन्ट गर्नुहोस्