३२ असार २०८३, बिहीबार
प्रतिनिधि सभा निर्वाचन २०७९

ओखलढुङ्गाको रोचक चुनावी प्रतिस्पर्धा– रामहरि र यज्ञराज को बलियो ?

कात्तिक १५, २०७९
ओखलढुङ्गाको रोचक चुनावी प्रतिस्पर्धा– रामहरि र यज्ञराज को बलियो ?

केन्द्रमा स्थापित दुई युवा नेताको चुनावी प्रतिस्पर्धाले ओखलढुङ्गाको चुनावी रौनक बढाएको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडा साझा उम्मेदवार छन् । नेकपा एमालेबाट निवर्तमान सांसद यज्ञराज सुनुवार चुनावी प्रतिस्पर्धाको मैदानमा छन् । 

खतिवडा र सुनुवारबीच प्रतिनिधि सभाको चुनावी ब्याटलमा यो दोस्रो भेट हो । २०७४ सालको निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार सुनुवार खतिवडालाई पराजित गर्दै प्रतिनिधि सभामा आएका थिए । २०७० सालको संविधान सभामा भने खतिवडा र सुनुवार दुवै सांसद थिए । सुनुवारको प्यानलबाट प्रदेश (क)मा अम्बिरबाबु गुरूङ र (ख)मा ज्ञानबहादुर खड्का उम्मेदवार छन् । 

खतिवडाको प्यानलबाट प्रदेश सभा (क) मा कांग्रेसका प्रदीपकुमार सुनुवार र (ख) मा माओवादीका बाबुराम गौतम उम्मेदवार छन् । ओखलढुङ्गा माओवादीको पनि प्रभाव भएको क्षेत्र हो । केहीदिन अघि बाथरुममा लडेर मृत्यु भएका बालकृष्ण ढुंगेल २०६४ सालको संविधान सभा निर्वाचनमा विजयी भएका थिए । 

चुनाव जित्नेमा दुवै उम्मेदवार ढुक्क ! 

तीव्र प्रतिस्पर्धा हुने ठानिएको ओखलढुङ्गाको चुनावमा भिडेका कांग्रेस र एमालेका दुवै उम्मेदवार चुनाव जित्नेमा ढुक्क छन् । पाँच वर्षको समयमा गरेको कामका कारण मतदाताले फेरि चुनाव जिताउने यज्ञराजको विश्वास छ । चुनाव हारे पनि आफू निरन्तर जनतासँगको सम्पर्कमा रहेका कारण यसपटक मतदाताले आफूलाई रोज्ने खतिवडाको विश्वास छ । 

‘मतदाताबाट एकदमै राम्रो प्रतिक्रिया पाएको छु, अघिल्लो चुनाव हारे पनि जिल्लाको विकास र हाम्रो दुःख सुखमासँगै रहेकोले तपाईंलाई भोट दिन्छौँ भन्नुभएको छ’, चुनावी अभियानमा जिल्लामा रहेका खतिवडाले लोकान्तरसँग भने ।

प्रतिनिधि सभामा नभए पनि जितेको सांसदले भन्दा आफूले कम काम नगरेको खतिवडाको दाबी छ । ‘कोरोनाको समयमा म गाउँ-गाउँमा पुगेको थिए, काठमाडौंमा समस्यामा परेकालाई सहयोग गर्न मैले कुनै कञ्जुस्याइँ गरेको थिइनँ’, खतिवडाले भने । 

निवर्तमान सांसद रहेका सुनुवारले चुनाव जितेपछि गरेको कामका कारण आफूलाई मतदाताले विश्वास गरेको बताए । ‘यहाँका मतदाताले शिर निहुर्‍याउनु पर्ने गरी मैले केही काम गरेको छैन, जे जति गर्नसके जिल्लाको विकासका लागि गरें’, आफ्नो कार्यकालको समीक्षा गर्दै सुनुवारले भने । जनताबाट पाएको प्रतिक्रियाले आफू उत्साहित रहेको सुनुवारले बताए ।

‘जिल्लामा एमाले र जनताको गठबन्धन बनेको छ, केन्द्रमा नेताले गरेको गठबन्धनको प्रभाव यहाँ पर्दैन’, सुनुवारले लोकान्तरसँगभने । 

जिल्लाका उम्मेदवारसँग स्थानीय एक रेडियोले सोमवार सदरमुकाममा अन्तरक्रिया गरेको थियो, जहाँ खतिवडा र सुनुवार एउटै मञ्चमा बसेर मतदाताका प्रश्नको जवाफ दिएका थिए । दुवैले जिल्लाको विकासका लागि आफ्ना एजेण्डा पेश गरेका थिए ।

यस्तो छ अंकगणित

२०७४ सालको प्रतिनिधि सभामा एमाले र माओवादीको गठबन्धनबाट साझा उम्मेदवार सुनुवार विजयी भएका थिए । सुनुवारले ३२ हजार ५ सय ८० मत पाउँदा खतिवडाले २७ हजार ३ सय २७ मत पाएका थिए । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस चारवटा स्थानीय तह निर्वाचनमा विजयी हुँदा एमाले, माओवादी र जसपाले एक–एक पालिका जितेका थिए । एउटा गाउँपालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए । 

वडा तहमा पाएको मतको आधारमा नेपाली कांग्रेस पहिलो स्थानमा छ । कांग्रेसले ३२ हजार २८८ मत पाउँदा एमालेले २९ हजार ५९१ मत पाएको छ । नेकपा माओवादीले ६ हजार ९१६ मत पाउँदा जसपाले २ हजार १०४ तथा नेकपा एसले ५ सय २१ मत पाएका थिए । 

स्थानीय तह निर्वाचनको मत विश्लेषणका आधारमा सत्ता गठबन्धनको मत धेरै छ । तर, स्थानीय तहको चुनाव र प्रतिनिधि सभाको चुनावको सन्दर्भ फरक हुने भएकोले स्थानीय तहको मत कति रुपान्तरण हुन्छ यसै भन्न सकिने अवस्था भने छैन ।

salt training

कमेन्ट गर्नुहोस्