०७ साउन २०८३, बिहीबार

प्रधानमन्त्री देउवासहित शीर्ष नेताहरूले कहाँबाट गर्दैछन् मतदान ?

प्रधानमन्त्री देउवासहित शीर्ष नेताहरूले कहाँबाट गर्दैछन् मतदान ?

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज (आइतवार) हुने निर्वाचनमा डडेलधुरा गन्यापधुरा गाउँपालिका–१ रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्रमा मतदान गर्दैछन् । यसका लागि देउवा केही दिनदेखि डडेलधुरामा छन् ।

प्रधानमन्त्री देउवाले बिहान ९ बजे मतदान गर्ने जनाइएको छ ।
 
विक्रम संवत् २०४८ सालदेखि लगातार निर्वाचित प्रधानमन्त्री देउवा पुनः सोही निर्वाचन क्षेत्रबाट उम्मेदवार छन् । प्रधानमन्त्री देउवाका कानूनविज्ञ अधिवक्ता केशवराज जोशीका अनुसार प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवाले पनि सोही मतदान केन्द्रबाट मतदान गर्नेछिन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बराह क्षेत्र नगरपालिका–१० प्रकाशपुरस्थित मतदान केन्द्रमा मतदान गर्ने उनका स्वकीय सचिव रामजी थापाले जानकारी दिए । कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका मन्त्री कार्की सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छन् ।

गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देहीको तिलोत्तमा–८ स्थित ज्योति आधारभूत विद्यालयमा मतदान गर्नेछन् । उनी रुपन्देहीको ३ नम्बर निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् ।

प्रतिनिधिसभा तथा प्रदेशसभाअन्तर्गत आइतवार हुन गइरहेको निर्वाचनमा प्रमुख दलका सबैजसो शीर्ष नेताले मतदान गर्दैछन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आ–आफ्नो मतदाता नामावली भएको मतदान केन्द्रमा पुगी मतदान गर्नेछन् ।
    
अध्यक्ष दाहाल आफ्नो मताधिकार प्रयोग गर्न शनिवारै अपराह्न चितवन पुगिसकेका उनका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । उनले भरतपुर महानगरपालिका–१४ शिवनगरस्थित मतदान केन्द्रमा मतदान गर्दैछन् ।
  
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गौर नगरपालिका–२ स्थित रामजानकी कन्या प्राथमिक विद्यालय भवनमा मतदान गर्दैछन् । सोही पार्टीका नेता झलनाथ खनालले आफैं उम्मेदवार रहेको इलामको सूर्योदय नगरपालिका–९ को राष्ट्रिय निमावि फिक्कल, रामफोक मतदान केन्द्रमा मतदान गर्नेछन् ।
     
लोकतान्तिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले सर्लाहीको बलरा नगरपालिका–१ मा मतदान गर्नेछन् । अध्यक्ष ठाकुर महोत्तरी–३ का प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छन् । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले विराटनगर–१४ स्थित डिग्री क्याम्पसमा रहेको मतदान केन्द्रमा मतदान गर्दैछन् ।

उनी सप्तरीको २ नम्बर निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छन् । 

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको व्यास–२ सत्यवादी माध्यमिक विद्यालयस्थित केन्द्रबाट मतदान गर्दैछन् । कांग्रेस महामन्त्री गगनकुमार थापाले काठमाडौं–३० मैतीदेवी मन्दिरस्थित मतदान केन्द्रमा मतदान गर्दैछन् ।

अर्का महामन्त्री विश्वप्रकाश शर्माले झापाको मेचीनगर नगरपालिका–९ को कविशिरोमणि मतदान केन्द्रमा मतदान गर्नेछन् ।
 
कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं–१६ पकनाजोलस्थित नेपाल युवक माविको मतदान केन्द्रमा मतदान गर्नेछन् । कांग्रेस नेता शेखर कोइरालाले विराटनगर–७ को आर्दश विद्यालयमा मतदान गर्नेछन् ।   

जसपाका संघीय परिषद् अध्यक्ष अशोक राई सुनसरीबाट मतदान गर्दैछन् । उनी सुनसरीको १ नम्बर निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका छन् । जसपाका नेता राजेन्द्र श्रेष्ठले क्षेत्रपाटी ढल्कुस्थित मतदान केन्द्रमा मतदान गर्नेछन् । श्रेष्ठ काठमाडौं क्षेत्र नम्बर ७ का उम्मेदवार हुन् ।

जसपाका प्रवक्ता मनिस सुमनले राजविराज–३ स्थित केएएमबी माविबाट मतदान गर्दैछन् । लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले सर्लाही चन्द्रनगर–२ दुर्गा खोभारी जनता मावि केन्द्रमा मतदान गर्दैछन् । महतो सर्लाही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देल, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत नेताले आफ्नै निर्वाचन क्षेत्रको मतदान केन्द्रमा मतदान गर्ने जनाइएको छ ।
   
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले भक्तपुर दरबार स्क्वायरको विद्यार्थी निकेतन उच्च मावि मतदान केन्द्रबाट मतदान गर्नुहुनेछ ।  माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गोरखाको सिरानचोक गाउँपालिका–८ जौबारीस्थित मतदान केन्द्रमा मतदान गर्दैछन् ।

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखाको पालुङटार नपास्थित अन्नपूर्ण मावि मतदान केन्द्रमा मतदान गर्नेछन् । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि काठमाडौं–५ स्थित टोखा–६ स्काइलार्क स्कुल धापासी केन्द्रबाट आफैंलाई मतदान गर्दैछन् ।

एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले बुटवल–८ स्थित पश्चिमाञ्चल डिभिजन सडक कार्यालयमा मतदान गर्दैछन् । एमाले महासचिव शंकर पोखरेलले तुलसीपुर– १९ जनता विद्यापीठ केन्द्र बिजौरीबाट मतदान गर्नेछन् ।

संविधानसभा अध्यक्ष सुभासचन्द्र नेम्वाङले इलाम–७ बालमन्दिर आधारभूत विद्यालय हाकिमटोलमा मतदान गर्नेछन् । एमाले नेता रामबहादुर थापाले भरतपुर–१० नारायणी नमूना माविमा मतदान गर्नेछन् । अर्का नेता टोपबहादुर रायमाझीले अर्घाखाँचीको सन्धिखर्क–९ अर्घा रजस्थल मावि रासीचौरमा मतदान गर्नेछन् ।
     
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिका–७ राम्जास्थित पशुपति माविमा रहेको मतदान केन्द्रमा मतदान गर्नेछन् । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले मध्यबानेश्वरमा रहेको मतदान केन्द्रमा मतदान गर्नेछन् ।

salt training

कमेन्ट गर्नुहोस्