
आर्थिक संकटका विषयलाई लिए र अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबीच सवाल जवाफ भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा गर्भनर अधिकारीले अर्थतन्त्र संकटमै भएको बताएपछि अर्थमन्त्री शर्माले कहाँ छ अर्थतन्त्र संकट भन्दै प्रश्न गरेका हुन् ।
अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रमा सुधार भइरहेको र संकटमा नभएको बताए । उनले अर्थतन्त्र सुधारमा नै गएको बताए । गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र संकटमै रहेको र अझै सुधार नभएको बताएपछि शर्माले भने सुधार भएको बताए ।
नेपाल आर्थिक पत्रकार समाज सेजनको २६औँ स्थापना दिवसको अवसरमा राजधानीमा बिहीवार आयोजित एक कार्यक्रममा शर्माले भने, ‘अर्थतन्त्र सुधारतर्फ गएको छ । कतिपयले श्रीलंकासँग जोडेका थिए । अहिले सुधार भएको छ । कहाँ छ अर्थतन्त्रमा संकट ?’
कार्यक्रममा शर्माले अर्थतन्त्रमा गरिएको हल्ला र नकारात्मक टिप्पणीप्रति सकारात्मक सन्देश अर्थत्रन्त्रले दिएको बताए । उनले अब नेपाल इन्धन आयात मात्रै होइन ऊर्जा निर्यात गर्ने मुलुक हुने बताए । उनले बिजुली निर्यातबाटै देशले ऊर्जा आयात कम गर्दै जाने बताए ।
नेपालले सबै साधन स्रोतको सदुपयोग गरेर जाने र मुलुकलाई समृद्ध बनाउने बताए । अहिले पनि नेपालको विदेशी डलर सञ्चिति ९ अर्ब ५४ करोड रहेको जानकारी दिँदै अर्थमन्त्री शर्माले भने, ‘यसले ८ महिनाको आयात धान्ने भएकोले पनि अर्थतन्त्रमा सकारात्मक सूचक नै रहेको छ ।’