
लिम्बू समुदायको महान चाड चासोक तङनाम (उधौली पर्व) को अवसरमा मोरंङको उर्लाबारी ९ आम्बारीमा सांस्कृतिक कार्यक्रमको तयारी थालिएको छ । किरात याक्थुङ चुम्लुङ उर्लाबारीको आयोजनामा मङ्सिर २२ देिख २४ गतेसम्म भव्यरुपमा चासोक तङनाम मनाउने तयारी गरिएको हो ।
विहान ७ बजेदेखि साँझसम्म विभिन्न कार्यक्रमसहित चासोकलाई उत्सवका साथ मनाइने तयारी गरिएको किरात याक्थुङ चुम्लुङ उर्लाबारीका अध्यक्ष बानु सुब्बाले बताए । उनका अनुसार यस वर्ष पनि विगतमाजस्तै न्वागी पूजा, प्रसाद वितरणसहित लोक संस्कृतिमूलक केलाङ च्याब्रुङ नाच, येवा लाङ, माङलाक प्रदर्शनी, धाननाचको प्रदर्शनी, लिम्बु नृत्य प्रस्तुत हुनेछन् ।
चासोकको अवसरमा लिम्बू संस्कृतिमा आधारित छेलो, डोरी तान्ने, हाइजम्प, लङजम्प प्रतियोगिता हुने आयोजकले जनाएको छ । नयाँ पुस्ताले मौलिक संस्कृति बिर्संदै गएको भन्दै चुम्लुङले व्यबस्थित र सामुहिक रुपमा चासोक तङ्नाम मनाउने र नयाँ पुस्तालाई जानकारी दिने लक्ष्य लिएको छ । यस्तो कार्यक्रमले सांस्कृतिक पुस्तान्तरणमा सहयोग पुग्ने अध्यक्ष सुब्बाको बुझाइ छ ।
खेतवारीमा छरपोख गरेर अन्नवाली उव्जाएपछि इष्टदेव तागेरा निङ्वाफुमाङलाई अर्पण गरेर मात्र आफुले खाएर मनाउने खुशियालीको अवसरमा चासोक तङनाम मनाइने गरिएको प्रकाश कन्दङ्वाले बताए । सो अवसरमा तन्नेरीहरु च्याब्रुङ बजाएर नाच्दै साइनो नलाग्ने युवायुवती एकापसमा हात समाएर पालाम गाउँदै धान नाच्ने गर्छन् । चाडलाई लिम्बु समुदायले एकअर्का बीचमा एकता र मेलमिलापको रुपमा लिने गर्छन् ।
लिम्बु भाषामा ‘चासोक’ को अर्थ न्वागी र ‘तङनाम’ को अर्थ उत्सव हुन्छ । परम्परादेखि चासोक तङनाम मनाइँदै आए पनि पछिल्लो समय यसलाई लिम्बुलगायत चार किरातीले आफ्नै शैलीमा सामूहिक रुपमा मनाउने गर्छन् । चाडले जातीय पहिचान र सांस्कृतिक गौरव बढाउनुका साथैं सामाजिक सदभाव, एकता र पारस्परिक सहयोगको भावना विकास गर्ने सो समुदायले विश्वास गर्छन् ।