
पार्टीनिकट पत्रकारहरूको संगठन प्रेस सेन्टर नेपालको पदाधिकारी बैठकलाई सम्बोधन गर्ने क्रममा आइतवार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एउटा कुरा चुहाए, माओवादीलाई सरकारबाहिर राख्नका लागि चलखेल भइरहेको छ ।
माओवादीलाई सत्ताबाहिर राखे पनि सदन र सडकबाट कसैले वञ्चित गर्न नसक्ने र माओवादी नयाँ शक्ति बनेर आउने उनले बताए ।
सोही कार्यक्रममा प्रचण्डले माओवादीसँग प्रतिनिधिसभामा ६० सीटको ‘कमान्ड’ रहेको स्मरण गराउँदै त्यति कमजोर शक्ति नभएको विश्लेषण पनि गरे ।
‘चुनावमा हामीले सोचेअनुसारको नतिजा आएन, तर हामी त्यति कमजोर पनि बनेका छैनौं कि जसलाई उपेक्षा गरेर राजनीति सहज ढंगले अगाडि बढोस्,’ प्रचण्डले भनेका थिए ।
माधव नेपाल नेतृत्वको नेकपा एस, उपेन्द्र यादव नेतृत्वको जसपा, रेशम चौधरीको नागरिक उन्मुक्ति र प्रभु साहसहित २ स्वतन्त्र सांसद समेत आफूहरूको कित्तामा उभिने भन्दै प्रचण्डले ६० सीटको हिसाब दिए ।
निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको अन्तिम नतिजा राष्ट्रपतिलाई दिने तयारी गरेपछि नयाँ सरकार गठनको कसरत शुरू भएको छ ।
प्रचण्डले गनेका रेशम चौधरीका ४ सांसद (एक स्वतन्त्रसहित)लाई आफ्नो पक्षमा पार्नका लागि शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले अध्यादेशमार्फत रेशमलाई जेलमुक्त गराउने तयारी शुरू गरेको छ ।
मंसिर १९ गते गठबन्धन दलका नेताले मिलेर सरकार बनाउने भनी विज्ञप्ति जारी गरे पनि सत्ताको रस्साकस्सी चलिरहेको छ ।
नेपाली कांग्रेसको एउटा कित्ता गैरकम्युनिस्ट सरकार बनाउनुपर्ने लबिङमा छ । राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, लोसपा लगायत गैरकम्युनिस्टको सरकार बनाउनुपर्ने उनीहरूको तर्क छ ।
अर्कातर्फ, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि ‘६०’ सीटको सामर्थ्य आफूसँग रहेको भन्दै पहिलो कार्यकालको प्रधानमन्त्री बन्नका लागि गठबन्धनमा बार्गेनिङ बढाइरहेका छन् ।
राष्ट्रपति र प्रधानमन्त्री दुवैमा कांग्रेसले दाबी गरेपछि प्रचण्डले आफूहरूसँग ६० सीटको कमाण्ड रहेको दाबी गरेका हुन् ।
संसदीय दलको निर्वाचन नभएसम्म पावर शेयरिङमा छलफल नगर्ने अडान लिएको कांग्रेसले प्रचण्डलाई पहिलो कार्यकालको प्रधानमन्त्री दिन नसकिने संकेत भने प्रस्ट रूपमा दिएको छ ।
दोस्रो कार्यकालको प्रधानमन्त्री दिने भन्दै कांग्रेसले तत्कालका लागि सभामुख लिएर राष्ट्रपतिमा दाबी नगर्न माओवादीसँग आग्रह गरेको स्रोतको दाबी छ ।
कसरी पुग्छ बहुमत ?
प्रत्यक्षमा ५७ र समानुपातिकमा ३२ सहित प्रतिनिधिसभामा ८९ सीट रहेको कांग्रेसका लागि सामान्य बहुमत पुर्याउन थप ४९ सीट आवश्यक पर्छ ।
८९ मध्ये पनि मनाङबाट निर्वाचित टेकबहादुर गुरुङविरुद्ध भ्रष्टाचार मुद्दा विचाराधीन रहेकाले उनले प्रतिनिधिसभामा विश्वासको मत दिन पाउँदैनन् । त्यसकारण कांग्रेसलाई प्राविधिक रूपमा अर्को एक सांसद पनि चाहिन्छ, अर्थात् ५० सांसदको साथ जरुरी पर्छ ।
सत्ता गठबन्धनबाट नभई गैरकम्युनिस्ट सरकार बनाउने अवस्थामा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० र राप्रपाका १४, लोसपाका ४ र जनमत पार्टीका ६ सीट गर्दा १ सय ३३ सीट पुग्छ ।
बल्लबल्ल बहुमत पुर्याउन रेशम चौधरीका ४ र कांग्रेसकै आधिकारिक उम्मेदवारविरुद्ध बागी उठेर चुनाव जितेका अमरेशकुमार सिंहलाई पनि समेट्न जरुरी हुन्छ । यति गर्दा मुस्किलले १३८ पुग्छ । तर, हालैको कुराकानीमा अमरेशले देउवा नेतृत्वमा छँदासम्म कांग्रेसमा नजाने र देउवालाई प्रधानमन्त्री बन्न कुनै हालतमा नसघाउने बताएका छन् ।
अझ यो हिसाबमा टेकबहादुर गुरुङ समेत समावेश छन्, त्यसैले थप एक सांसदको समर्थन पनि चाहिन्छ । यो सरकार बनाउनका लागि कसैले आँट गरिहाल्ने किसिमको अंक गणित हैन ।
यो अवस्थामा एमालेसँग चुनावी तालमेल गरेको जसपालाई आकर्षित गर्न सक्यो भने यो गठबन्धनले १५० पुर्याउन सक्छ ।

प्रचण्डले ६० सीटको सामर्थ्य भनेर जोडेका जसपाका १२ सांसद गैरवामपन्थी सरकार बनाउन निर्णायक बन्न सक्छन् ।
विगतमा वामपन्थी राजनीतिको पृष्ठभूमिबाट आएको र यसपटक पनि एमालेसँग तालमेल गरेका कारण निर्णायक अवस्थामा उपेन्द्र यादव आफूहरूको कित्तामा उभिने प्रचण्डको विश्वास छ ।
गैरकम्युनिस्ट सरकारको लबिङमा रहेका नेताहरू १५० को अंक गणित पूरा गर्दा स्वतन्त्र जितेका अन्य ३ (प्रभु साह, किरण साह र योगेन्द्र मण्डल) पनि कम्युनिस्ट दलको ह्वीप बाहिर रहने भएकाले १५३ पुग्न सक्ने तर्क गर्छन् ।
यस्तो अवस्थामा अर्कातर्फ एमालेका ७८, माओवादीका ३२, नेकपा एसका १० र राष्ट्रिय जनमोर्चा तथा नेमकिपाका १–१ गरी १२२ सांसद बाहिर रहने उनीहरूको हिसाब छ । तर, प्रभु साह, किरण साह र योगेन्द्र मण्डल दलीय ह्वीप बाहिर भए पनि कम्युनिस्ट नै हुन् ।
वामपन्थी गठबन्धन– भ्यागुताको धार्नी
अर्कातर्फ मधुरो स्वरमा वामपन्थी गठबन्धनको गीत पनि गुञ्जिन खोज्दैछ, नेपाली राजनीतिको रंगमञ्चमा ।
७८ सीट जितेको नेकपा एमाले र ३२ सीट जितेको माओवादी मिलेर वामपन्थी सरकार बनाउन थप २८ सीट आवश्यक पर्छ । वामपन्थी गठबन्धन भन्न सजिलो भए पनि मिलाउन भ्यागुताको धार्नी पुर्याउनुसरह मुस्किल छ ।
प्रचण्डले भनेको ६० शब्दको अर्थ छ, एमालेको ७८ मा प्रचण्डले दाबी गरेको ६० सीट जोड्दा १३८ पुग्छ । शायद प्रचण्डले यसैतर्फ संकेत गरेका हुन् ।
तर, वामपन्थी गठबन्धन कसको नेतृत्वमा भन्ने कुरा निकै जटिल छ । केपी ओलीको नेतृत्वमा सरकार बनाउन प्रचण्ड नै तयार छैनन् । एमाले विभाजनको तिक्तताका कारण माधव नेपाल समेत ओलीको नाम पनि सुन्न राजी छैनन् ।
प्रचण्ड या एमालेकै दोस्रो व्यक्तिको नेतृत्वमा सरकार बन्ने अवस्थामा यो गठबन्धनले पनि मुस्किलले बहुमत पुर्याउन सक्छ । यो गठबन्धनले बहुमत पुर्याउने अवस्थामा ६ सीट रहेको जनमत पार्टी पनि आकर्षित हुन सक्छ ।
राष्ट्रिय जनमोर्चा र नेमकिपाका एक–एक सांसद तथा मोरङ ५ बाट प्रतिपक्षी गठबन्धनका जसपा उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएर चुनाव जितेका स्वतन्त्र योगेन्द्र मण्डल समेत गर्दा सहज बहुमत पुग्न सक्छ । यो समीकरणको कुल योगफल १४५ पुग्छ ।
त्यसो त एमालेमा पनि एक सांसद तत्काल संसदमा उपस्थित हुने र मताधिकार प्रयोग गर्ने अवस्थामा छैनन् । महोत्तरी– १ बाट निर्वाचित लक्ष्मी महतो कोइरी प्रहरीका असई थमन विक हत्या प्रकरणमा फरार सूचीमा छन् ।
पछिल्ला दिनमा नेकपा एमालेका तेस्रो पुस्ताका नेताहरूले पनि वामपन्थी गठबन्धनका लागि पार्टीभित्र दबाब दिइरहेका छन् ।
कांग्रेस एमालेको 'बतासे सरकार'
माओवादीलाई ‘परजीवी’ शक्ति भन्दै आएको नेपाली कांग्रेस र एमालेको एउटा तप्का माओवादीबेगरको सरकार बनाउनु पर्ने लबिङमा छ ।
एमालेको समर्थनमा कांग्रेसको सरकार बनाउने र माओवादीलाई सत्ता बाहिर राख्ने प्रयासमा दुवै दलका केही नेताहरू लागिपरेका छन् ।
प्रतिनिधिसभा निर्वाचनपछि कांग्रेस नेता प्रकाशमान सिंह र अजुननरसिंह केसीले औपचारिक रूपमै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।
कतिपय नेताहरूले गोप्य ढंगले छलफल गरिरहेका छन् ।

‘हाम्रो समर्थनमा कांग्रेसको सरकार बनाउने विषयमा बाहिर चर्चा भएजस्तो त्यस्तो गम्भीर छलफल भएको छैन, त्यति सहज कुरा होइन,’ नेकपा एमालेका एक प्रभावशाली नेताले लोकान्तरसँग भने ।
राजनीतिका परस्परविरोधी दुई दल मिलेर सरकार गठन गर्नु अनैतिक हुने ती नेताले विश्लेषण गरे ।
‘एमाले देखाएर कांग्रेससँग बार्गेनिङ गर्ने र कांग्रेस देखाएर हामीहरूसँग ब्ल्याकमेलिङ गर्ने प्रचण्ड प्रवृत्तिलाई निरुत्साहित गरौं भन्नेमा चाहिँ हाम्रो साझा धारणा छ,’ एमालेका ती नेताले भने ।
कांग्रेस र एमाले मिलेर सरकार बनाउने अवस्थामा भने अन्य दलहरू जोडजाड गरिरहनै पर्दैन । ८९ र ७८ गरी कुल १६७ सीटको सहज बहुमत हुन्छ ।
पढ्नुहोस् यो पनि :