
इजरायलमा दक्षिणपन्थी नेता बेन्जामिन नेतान्याहु पुनः एकपटक प्रधानमन्त्री बनेका छन् र यसपालि उनले उग्रदक्षिणपन्थीहरूलाई सत्ता साझेदार बनाएका छन् ।
प्यालेस्टाइनीहरूलाई निमिट्यान्न पार्नका लागि अन्तिम युद्ध लड्नुपर्ने भनी उत्तेजनात्मक अभिव्यक्ति दिने उग्रदक्षिणपन्थी नेताहरूले सत्ता चलाउन थाल्दा छिमेकका अरब मुलुकहरूसँग इजरायलको सम्बन्ध कस्तो बन्ला भनी अनुमान गर्न थालिएका छन् ।
सन् २०२० मा अमेरिकाको तत्कालीन ट्रम्प प्रशासनले इजरायल र अरबी मुलुकहरूबीच अब्राहम एकर्ड्स नामक सम्झौता गराएको थियो । उक्त सम्झौताले अरबीहरूलाई इजरायलसँग कूटनीतिक सम्बन्ध कायम गर्न सघाउनुका साथै आर्थिक तथा सुरक्षा साझेदारीको ढोका पनि खोलिदिएको थियो । सम्झौतापछि इजरायलले व्यापक संख्यामा अरबीहरूलाई हातहतियार बेचेको थियो ।
शुरूमा संयुक्त अबर इमिरेट्स (यूएई) र बहराइनले उक्त सम्झौतामा हस्ताक्षर गरेकोमा पछि सुडान र मोरक्को पनि थपिएका थिए । बाइडन प्रशासनले अब्राहम एकर्ड्सलाई नर्मलाइजेसन अग्रीमेन्ट भन्ने गरेको छ ।
तर रिलिजियस जायनिजम र जुइस पावर जस्ता उग्रदक्षिणपन्थी दलहरूले नेतान्याहुको मध्यमार्गी दक्षिणपन्थी दलसँगको सहकार्यमा सरकार बनाएपछि मुसलमानहरूप्रति कठोर नीति अपनाउने संकेत देखाएको छ ।
जुइस पावरका नेता इटामार बेन–ग्विर राष्ट्रिय सुरक्षामन्त्री बनेलगत्तै मंगलवार विवादास्पद अल–अक्सा मस्जिदको भ्रमण गरेका थिए । यहुदीहरूले टेम्पल माउन्ट भन्ने गरेको उक्त मस्जिदमा गैरमुसलमानहरूले अनुमतिविना प्रवेश पाउँदैनन् जबकि बेन–ग्विरले कसैसँग अनुमति लिएका थिएनन् ।
सन् १९९४ मा भएको सम्झौताबमोजिम जोर्डनले इजरायलमा रहेका यहुदी, मुसलमान र क्रिस्चियन धार्मिक स्थलहरूको अभिभावकत्व ग्रहण गरेको छ । जोर्डनलाई जानकारी नदिइकन बेन–ग्विर अल–अक्सा पुगेकाले अरबीहरू आक्रोशित भएका छन् । संयुक्त अरब इमिरेट्स (यूएई) ले यस विषयमा चर्चाका लागि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्लाई आह्वान गरेको छ ।
बेन–ग्विरले यसअघि पनि धेरैपटक अरबीहरूलाई चिढ्याउने काम गरिसकेका छन् । उनलाई अरबीहरूका विरुद्ध जातिद्वेषी कुरा गरेको अनि आतंकको समर्थन गरेको अभियोग छ । उनले सन् १९९४ मा २९ जना प्यालेस्टाइनीहरूको सामूहिक हत्या गर्ने एक इजरायली व्यक्तिको तस्वीर आफ्नो घरमा झुण्ड्याएको पाइएपछि विवाद उठेको थियो ।
अनि गत अक्टोबर महिनामा जेरुसेलमको शेख जर्रा टोलमा इजरायली र प्यालेस्टाइनीहरूबीच तनाव बढेको बेलामा बेन–ग्विरले बन्दूक निकालेर माहोल थप खराब बनाएका थिए । यहुदीहरूमाथि ढुंगा फ्याँक्ने अरबीहरूलाई गोली हान्नका लागि उनले चिच्याउँदै प्रहरीलाई भड्काएका थिए ।
अनि नयाँ अर्थमन्त्री बेजालेल स्मोट्रिच रिलिजियस जायनिस्ट पार्टीका नेता हुन् र उनी प्यालेस्टाइनलाई छुट्टै राज्य दिन नहुने धारणा राख्छन् । जोर्डन नदीको पश्चिमी किनारमा बसिरहेका प्यालेस्टानीहरूलाई लखेटेर त्यहाँ यहुदी बस्ती बसाउनुपर्ने पक्षमा उनी उभिएका छन् ।
यस्ता उग्रवादी व्यक्तिहरू सत्तामा आउँदा इजरायलसँग सुमधुर सम्बन्ध बनाउँदै लगेका अरब मुलुकहरूलाई असहज स्थितिको सामना गर्नुपरेको छ ।
तर विगतमा अब्राहम एकर्ड्सपछि यूएई र बहराइनले आयोजना गरेको राष्ट्रिय दिवस समारोहमा बेन–ग्विरलाई आमन्त्रित गरिएको थियो र अरबीहरूले उनीसँग आत्मीय व्यवहार गरेका थिए । त्यसो त बेन–ग्विरले सत्तामा रहुन्जेल प्यालेस्टाइनीहरूका विरुद्ध अनेकौं कदम चाल्न सक्ने भए पनि अरबीहरूले इजरायलसँगको सम्बन्ध कायम राख्नुपर्ने बाध्यता छ ।
विशेषगरी अमेरिकाले खाडी तथा पश्चिम एसियाको सुरक्षामा चासो घटाउँदै लगेपछि इजरायलसँगको सम्झौताका लागि उत्प्रेरित भएका अरबीहरूले प्यालेस्टाइनीहरूको हितका खातिर इजरायलसँगको सम्बन्धलाई दाउमा नराख्ने देखिन्छ ।
तर लोकलाजका लागि भए पनि अरबीहरूले प्यालेस्टाइनीहरूप्रति सहानुभूति देखाइरहेको सीएनएन डट्कममा अब्बास अल–लावती लेख्छन् । अघिल्लो शुक्रवार (३० डिसेम्बर) अब्राहम एकर्ड्समा जोडिएका चार अरब राष्ट्रहरूले संयुक्त राष्ट्रसंघको साधारणसभामा प्यालेस्टाइनीहरूलाई समर्थन गर्ने पक्षमा मतदान गरेका थिए । प्यालेस्टाइनी भूभागमा इजरायलले गरेको कब्जाका विषयमा अन्तर्राष्ट्रिय फौजदारी अदालतको राय लिने विषयमा उक्त मतदान गराइएको थियो । इजरायली प्रधानमन्त्री नेतान्याहुले उक्त मतदानलाई निन्दनीय भनेका थिए ।
अब्राहम एकर्ड्सका कारण इजरायलसँग आर्थिक सम्बन्ध राखेर राम्रो व्यापारको मौका पाएकाले अरबी सरकारहरू यसलाई कायम राख्ने पक्षमा छन् । द वाशिङटन इन्स्टिच्युट फर नीयर ईस्ट पोलिसी नामक संस्थाले सन् २०२२ को जुलाई महिनामा गरेको सर्वेक्षणमा साउदी अरब (उसले अब्राहम एकर्ड्समा हस्ताक्षर गरेको छैन), यूएई र बहराइनका ४० प्रतिशत जनताले इजरायलसँग व्यापारिक र खेलकुद सम्बन्ध कायम राख्नुपर्ने अभिमत जाहेर गरेका थिए । यसको अर्थ सबै अरबी जनता यसको पक्षमा छन् भन्ने हैन जसको चर्चा तल गरिनेछ ।
हुन त अरबीहरूलाई इजरायलीहरूसँग गरेका अब्राहम एकर्ड्स पाच्य बनाउनका लागि नेतान्याहुले जोर्डन नदीको पश्चिमी किनारालाई इजरायलमा नमिसाउने प्रतिज्ञा गरेका थिए । तर अहिले नेतान्याहुले सरकार बनाउनका लागि सत्ता साझेदारी गरेका बेन–ग्विर र स्मोट्रिच जस्ता उग्रदक्षिणपन्थीहरू पश्चिमी किनारालाई इजरायलमा मिसाउनुपर्छ भनिरहेका छन् ।
नेतान्याहुलाई उग्रदक्षिणपन्थीहरूसँग सहकार्य गराउनका लागि मध्यस्थता गर्ने येशा काउन्सिलले जुडिया र समारिया (पश्चिमी किनारको इजरायली नाम) मा पूर्वाधार निर्माणको काम अघि बढाउन ईश्वरको कृपाका साथ नयाँ सरकारले काम थाल्ने आशा व्यक्त गरेको छ । पश्चिमी किनारमा अहिले प्यालेस्टाइनियन अथोरिटीले शासन चलाउने गरेको छ र अब त्यहाँ इजरायली कानून लागू गर्नुपर्ने अर्को यहुदी समूह कार्नेई शोमरोनले सुझाव दिएको पत्रकार रे हानानिया लेख्छन् ।
त्यसैले अब्राहम एकर्ड्समा प्रश्न उठ्ने सम्भावना देखिएको छ । हुन पनि यो सम्झौता अरबी शासकहरूले गरेका हुन् र यसमा सबै अरबी जनता सहमत भएका पनि हैनन् ।
अरबी जनतामा इजरायलप्रति कति असन्तुष्टि छ भन्ने कुरा कतारमा आयोजित विश्वकप फूटबल प्रतियोगितामै देखियो । इजरायली पत्रकारहरूले आफूहरूमाथि कतारमा चिसो व्यवहारको गुनासो गरेको सीएनएन डट्कममा हदास गोल्ड लेख्छिन् ।
मोआव भार्डी नामक पत्रकारलाई ‘स्वागत छैन, जाऊ, प्यालेस्टाइन मात्र छ, इजरायल भन्ने देशै छैन, इजरायलको अस्तित्व छैन’ भनी कतारमा अरबी फूटबल प्रशंसकहरूले दिनदिनै भनेको गोल्डले उद्धृत गरेकी छन् । अनि इजरायलसँग अब्राहम एकर्ड्सअन्तर्गत सम्झौता गरेको मोरक्कोका खेलाडीहरूले विश्वकपमा खेल जितेपिच्छे प्यालेस्टाइनको झण्डा फहर्याउने गरेका थिए ।
माथि उल्लेख गरिएको सर्वेक्षणले पनि खाडी मुलुकमा अब्राहम एकर्ड्सप्रति आम जनताको धारणा नकारात्मक रहेको देखाएको छ । यस सम्झौतामा सबभन्दा पहिले हस्ताक्षर गर्ने यूएई र बहराइनमा समेत ७० प्रतिशत जनताले आफ्नो समर्थन नरहेको अभिव्यक्ति दिएबाटै यसको अलोकप्रियता देखिएको छ । इजरायलको नयाँ सरकारमा भएका उग्रदक्षिणपन्थीहरूको क्रियाकलापले अरबीहरूको त्यस धारणालाई थप बलियो बनाउने देखिन्छ ।
तर पश्चिम एसियामा विकसित भइरहेको नयाँ भूरणनीतिक चुनौतीको सामना गर्न इजरायल र अरब मुलुकहरूबीच सहकार्य जरूरी हुन्छ । अमेरिकाले रुसको जोखिमबाट बचाउनका लागि युरोपमा अनि चीनसँगको प्रतिस्पर्धा चर्किंदै जाँदा पूर्वी एसियामा आफ्नो ध्यान केन्द्रित गर्नुपरेको छ । त्यसैले अहिलेसम्म सुरक्षा दिँदै आएको भए पनि अबउप्रान्त पश्चिमी एसियामा दीर्घकालीन उपस्थिति कायम गर्न अमेरिकाले नसक्ने जोखिम व्यवस्थापन परामर्श समूह आरएएनई नेटवर्कका भूराजनीतिक विज्ञ लियोन हदरले द नेसनल इन्टरेस्ट पत्रिकामा प्रकाशित लेखमा तर्क गरेका छन् ।
हुन त अमेरिकाका राष्ट्रपति जो बाइडनले गर्मी याममा साउदी अरबको भ्रमण गर्दा ‘अमेरिका मध्यपूर्वलाई छोडेर कतै जाँदैन’ भने तर रुस र चीनसँगको प्रतिस्पर्धामा केन्द्रित हुनुपर्ने बेलामा अमेरिका मध्यपूर्वमा अल्झेर बस्ने सम्भावना छैन । यस्तो परिस्थिति निर्माण भएको सन्दर्भमा इरानले तेर्स्याउने जोखिमबाट इजरायल र अरबीहरू दुवै त्रस्त रहेकाले अब्राहम एकर्ड्सलाई पालन गर्नुपर्ने हुन्छ ।
इरानले आणविक बम बनाएछ भने पनि अमेरिकाले उसविरुद्ध युद्ध गर्ने सम्भावना नरहेकाले अब्राहम एकर्ड्स अन्तर्गत अरब र इजरायलबीच सहकार्य जरूरी हुन्छ ।
अझ, इजरायलले त अब्राहम एकर्ड्सकै आधारमा नेटोको जस्तै द्रुत परिचालन गर्न मिल्ने सैन्यबल सिर्जना गर्न सकिन्छ भनी आशा गरेको हदर लेख्छन् । त्यस सैन्यबलमा इजरायली र अरबी दुवैथरी सैनिकहरू रहने परिकल्पना छ । अनि क्वाड जस्तै कुनै संरचना बनाउन सकिन्छ कि भनेर पनि इजरायलले सोधखोज गरिरहेको छ ।
तर इरानले तेर्स्याउन सक्ने जोखिम घटाउनका लागि साउदी अरब र अन्य खाडी मुलुकहरूले इरानसँग कूटनीतिक सम्बन्धलाई अघि बढाउन खोजेको पनि यथार्थ हो । त्यसलाई पनि मद्देनजर गर्दा इजरायलले अरबीहरूलाई चिढ्याउँदा सुरक्षा चुनौती खडा हुन सक्ने विषयमा आकलन गरेको हुनुपर्छ ।
इजरायलको नयाँ सरकारका उग्रदक्षिणपन्थी मन्त्रीहरूले अरबीहरूसँगको सम्बन्धमा तिक्तता ल्याउने अभिव्यक्ति दिएमा र गतिविधि गरेमा अब्राहम एकर्ड्सको भविष्य अन्योलमा पर्न सक्छ । त्यस्तो परिस्थिति विकसित हुँदा पश्चिम एसिया कालान्तरसम्म अस्थिर रहिरहनेछ ।