१४ असार २०८३, आइतबार
सन्दर्भ : पृथ्वी जयन्ती

गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्री प्रचण्ड र आजको पृथ्वी जयन्ती

पुस २७, २०७९
गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्री प्रचण्ड र आजको पृथ्वी जयन्ती

२०७९ पुस २७ गतेको पहिलो दृश्य –

सिंहदरबारको पश्चिम गेट । थुप्रै २७ पुस पार भए । ठिङ्ग उभिएको त्यो शालिक ! औँला ठड्याएर सधैं उभिएको । लाखौं सवारीसाधन र पैदल यात्रीले देखिरहेका छन् ।

प्रधानमन्त्री, मन्त्री, उच्च ओहोदाका मान्यवरहरू पनि त्यहीँ शालिक हेर्दै फुट्ट सिंहदरबार प्रवेश र बहिर्गमन हुन्छन् ।

अहँ ! शालिक किन बनाइयो, त्यसको संरक्षण कसले गर्ने हो, कुन कलाकारको कृति हो ? कसैले वास्ता गर्दैन्थे । बरु एउटै व्यक्ति थिए त्यसको ‘संरक्षकत्व’ एउटा सेतो कुर्थामा विभिन्न नारा लेखेर सेतै फुलेका दाह्री पालेका वृद्ध । धेरै समय भयो उनी देखिएका छैनन् ।

सायद बुढ्यौलीले उनलाई च्याप्यो होला । सार्वजनिक समारोह, सिंहदरबारभित्र छिर्न सक्ने, सानो एउटा पोको बोक्ने ती वृद्ध कलंकीतिरका लक्ष्मण खड्का हुन् । अथाह ज्ञान भएका खड्का । सार्वजनिक कार्यक्रममा ‘ओई फलानो ? तैँले यसो गरेको होइनस् ?’ सिधै भन्न सक्ने आँट भएका । 

उनै लक्ष्मणले रंगरोगन गर्दै राखेको सिंहदरबार पश्चिम गेटको शालिकले पुनः सम्मान पाएको छ । यतिखेर भुपाल राई र श्रवण मुकारुङका कविता फिका भइसके । जेहोस्, त्यो पृथ्वीनारायण शाहको शालिकसँग जोडिएका ‘राष्ट्रिय पोशाक, नेपाल एकीकरण गरेकाले पृथ्वी जयन्ती’ फर्किएको छ ।

अब लावालस्कर लागेर प्रधानमन्त्री, मन्त्री, उच्च ओहोदाका व्यक्तिहरू फूलका माला, गुछा लिएर त्यही शालिकमा ‘हे राष्ट्रपिता !’ भनेर ढोग्न जाने छन् । दिउँसो राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आयोजना गरेको चियापानमा गएर नेपाल एकीकरणको गुनगान गाइने छ ।

इतिहासको निर्मम समीक्षा नहुँदाको पीडा सबैभन्दा बढी पोखरा पृथ्वीचोकमा राखिएको नेपालका प्रथम शहीद लखन थापामगरको शालिकको के हालत होला ? बागलुङको महेन्द्रको शालिकको ठाउँमा बसेको बाघको जंगल कहाँ होला ? यस्ता कैयन स्थानमा ‘शालिक फोड् अभियान’ चालिए । अहिले उही ठाउँमा फर्किनेको जिम्मेवार को भन्ने प्रश्न उब्जनु स्वाभाविक हो । 

एउटा प्रस्थान विन्दुको अन्त्यको कथा यहाँ औल्याउँः

‘२४० वर्ष लामो राजतन्त्रलाई परास्त गरी संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने संविधान निर्माण र त्यो संविधानअन्तर्गत रहेर स्थानीय, प्रादेशिक र संघीय निर्वाचन गराउन भोगिएका पेचिला परिघटना र संघर्षलाई प्रस्तुत पुस्तकले उजागर गरेको छ,’ पुष्पकमल दाहाल ‘प्रचण्ड’ – २०७७ । (गणतन्त्रको पहिलो दशक, संविधानसभा र संसद्मा व्यक्त विचार (२०६५–२०७५) भूमिकाबाट ।)

२०६५ जेठ १५ गते गोरखा दरबारमा प्रचण्ड

...

उत्खनन्

गणतन्त्र स्थापनाका लागि मार्क्सवाद, लेनिनवाद, माओवाद/विचारधाराको मार्गदर्शन लिए पनि नेपालका कम्युनिस्टहरू अन्ततः ‘हिक’ हुन् । ‘हिक’ भन्नुको अर्थ नेपालका कम्युनिस्टहरु ‘हिन्दू कम्युनिस्ट’ हुन् । भलै नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेवार र मधेशी समुदायका व्यक्ति भए पनि ठूला वा भुरेटाकुरे कम्युनिस्टका नेताहरू सबै आर्य–खस समुदायकै छन् । अहिले पनि वर्चश्व उनीहरूकै छ ।

समाज नियाल्ने मुख्य दर्शन हो । अन्तत्वगत्व उनै आर्य–खसहरू सनातनी पूर्वीय दर्शनबाट दीक्षित छन् । प्रायः कम्युनिस्ट नेताहरूले आफ्नो दार्शनिकभन्दा महाभातरकालीन कथाका श्लोकबाट एकअर्काप्रति कटाक्ष गर्ने चलन छ । आर्य सभ्यतासँग जोडिएको सनातनी पूर्वीय दर्शनको मूल मियो राजसंस्थासँग जोडिन्छ ।

आर्य सभ्यताका सबैभन्दा बढी व्याख्या गरिएको दर्शन ऋग्वेद हो । जहाँ राज संस्था अनिवार्य जोडिएको छ । आर्य इतिहासबारे कुलचन्द्र कोइराला लेख्छन्, ‘आर्य संस्कृति र राजसंस्थाको इतिहास आर्य साहित्यको परिशीलनबाट मानव सृष्टिदेखि नै शुरू भएको मानिएकाले र सर्वप्राचीन मानिएको ऋग्वेदमा पनि राजा तथा राज्य व्यवस्थाको वर्णन पाइने हुनाले, राजा र राजा विनाको समाजको परिकल्पना पनि गर्न सकिँदैन । वैदिक सनातन धर्म, जति प्राचीन छ, राज संस्थाको इतिहास पनि त्यति नै पुरातन छ । आर्यहरूले राजा विनाको समाजको कहिल्यै परिकल्पना पनि गरेनन् । वैदिक सभ्यता र राजा, एवं हिन्दू संस्कृति र राजसंस्था सधैं अन्योन्याश्रित छन् ।’

नेपालको सांस्कृतिक परम्परा र राजमुकुट (वैदिक संस्कृति र राजसंस्थाः पृष्ठ ५६)

आर्य जाति उच्च हो । उनीहरूले आफ्नो दर्शनलाई माथि नै राखेर व्याख्या गरेको इतिहासमा पाइन्छ । जस्तो उदाहरणका लागि नारायणप्रसाद अधिकारी ‘आर्य–खसका १५००० वर्ष’ (नेपालमा आर्यहरूको विगत र वर्तमानः पृष्ठ–९) मा लेख्छन्– ‘आर्य’ गति अर्थ बुझाउने ‘ऋ’ धातुमा ‘ण्यत्’ प्रत्यय लागेर बनेको संस्कृत शब्द हो, जसको शब्द–संरचनागत अर्थ हुन्छ – गतिशील एवम् भ्रमणशील मानव । अनि भावसंरचनाले दिने अर्थ हुन्छ – शिष्ट, सभ्य, आदरणीय तथा कुलीन मानिस । शब्दकोश अनुसार आदिकालमै अरु मनुष्य जातिले भन्दा पहिले सभ्यताको झलक पाएको शिष्ट र गतिशील मानव जाति नै आर्य हुन् ।’

एकांकी पक्षको दर्शन हेरेर मात्रै दलिल पेश गरी आरोप लगाउनु त्यति उचित हुँदैन । विश्वलाई हेर्ने दृष्टिकोण आ–आफ्ना छन् । दृष्टिकोण निश्चय नै दर्शनले निर्धारण गर्दछ । नेपाली कम्युनिस्ट आन्दोलनमा मार्क्सवादी दर्शन व्याख्याको पिता मानिने स्वयं मोहन वैद्य ‘किरण’ पनि ऋग्वेदबाटै प्रभावित देखिन्छन् । उनको दार्शनिक व्याख्या हेरौं –

‘हिमाली उपमहाद्वीमा वेदमा भौतिकवादका बीजाणु फेला पर्दछन् । वेदमा विद्यमान भौतिकवाद आद्य भौतिकवाद हो र यसप्रकारको भौतिकवादलाई प्राकृतिक भौतिकवादको रूपमा ग्रहण गर्नुपर्दछ । ऋग्वेदमा सृष्टिको पहिलो तत्वको रूपमा पानीलाई लिइएको छ । 

ऋग्वेदमा भनिएको छः 
आपो ह यद् बृहतीर्विश्वमागन्गर्भ दधाना जनयन्तीरग्निम् ।
ततो देवानां समवर्ततासुरेकः कस्मै देवाय हविषा विधेम ।।९

अर्थात्, सृष्टिका प्रारम्भमा आप् वा जल तत्वले सम्पूर्ण विश्व ढाकेको थियो । त्यसले गर्भधारण गरेर महान् अग्नि र आकाश आदि उत्पन्न भए, त्यसपछि देवतामध्ये अद्विती प्राण उत्पत्ति भयो । उनी को हुन् ? हामी हविद्वारा विधिपूर्वक उनैको अर्चना गर्दछौं । यहाँ आप् अर्थात् जसलाई प्राथमिक सथनमा राखिएको छ र जलबाट अग्नि, आकाश आदि उत्पत्ति भएको कुरा दर्शाइएको छ । यो स्वतःस्फूर्त भौतिकवादी चिन्तन हो ।’

‘हिमाली दर्शन’ (वेदमा भौतिकवाद र आदर्शवादः पृष्ठ ३३)े

पृथ्वीनारायण शाहको दरबारमा लोकतान्त्रिक गणतन्त्रको साइन बोर्ड लोकार्पण

...

फरक मत

२०५१ साउन ७ गते कृषि आयोजना सेवा केन्द्र काठमाडौंमा एउटा सनसनी विचार–गोष्ठीको आयोजना गरियो । माओवादीले सशस्त्र संघर्ष नगरेकाले त्यसबेलाको ‘एक नम्बरी क्रान्तिकारी’ मसाल आफूलाई स्वघोषणा गरेको थियो । मसालकै जातीय संगठन अखिल नेपाल जनजाति सम्मेलनले त्यो गोष्ठीको आयोजना गरेको थियो । सायद राजनीतिक दलहरूमा जातीय संगठन निर्माण गर्ने नेकपा (मसाल) पहिलो हो ।

गोष्ठीको विषय थियोः ‘नेपालमा जनजाति समस्याको समाधानः राष्ट्रिय आत्मनिर्णयको अधिकार वा स्थानीय स्थानीय स्वशासन’ । जुन गोष्ठीमा मसाल र माओवादी जनजाति नेताहरूसँगै अन्य अगुवाले हिन्दू राज्यको विरोधसँगै आदिवासी जनजातिको विकासक्रमलाई रोक्ने बाधक हिन्दू धर्म र ‘ब्राह्मणवाद’ भनिएको थियो ।

आदिवासी जनजातिका निम्ति माओवादीका तर्फबाट सुरेश आलेले आत्मनिर्णयको अधिकार र तत्कालीन मसालका परी थापाले स्थानीय स्वशासन चाहिनेमा वकालत गरेका थिए । सोही गोष्ठीबाटै थापासहित आधा दर्जन जनजाति नेताहरूलाई प्रहरीले पक्राउ गरी ‘राज्य विरुद्धको अपराध’ मुद्दा लगाएको थियो । त्यसलगत्तै दशैं बहिष्कारको अभियान चालियो । जसको सबैभन्दा खरो वक्ता तत्कालीन समयमा मगर नेता गोरेबहादुर खपाङ्गी देखिए । आदिवासी जनजातिमा यसै त मगर बहुमत अर्थात् कूल जनसंख्याको तेस्रो स्थान, खपाङ्गीको प्रभाव देशैभर हुनु स्वाभाविक हो । यद्यपी पश्चिमभन्दा पूर्वमा त्यसको प्रभाव पर्‍यो । अभियानले धेरथोर माओवादीको सशस्त्र संघर्षलाई पनि मलजल गर्‍यो ।

अन्ततः २०५९ असोज १८ गतेको शाही घोषणाबाट खपाङ्गी शाही शासनकालका मन्त्री बने । उनले दशैंमा राजा ज्ञानेन्द्रको हातबाट रातो टीका लगाएपछि यो अभियान पनि छिन्नभिन्न भयो । एउटा खोजमूलक पुस्तक लेखे दुर्गाहाङ याख्खा राईले । सबैभन्दा बढी बाहुनवादको विरोध गरेको सोही पुस्तकमा हो ।

२०६५ मा गोरखामा प्रचण्ड

‘आर्य जाति’ नेपालमा आप्रवासी हुन् र पृथ्वीनारायणको राज्य विस्तार सँगसँगै त्यस जातिको हालिमुहाली पनि मुलुकभर कायम भयो,’ याख्खा राईले भनेका छन्, ‘तथाकथित् ‘आर्य’को सामन्ती शोषण र जातिभेदवादी प्रकोप पृथ्वीनारायण शाहको कथित् नेपाल एकीकरण अभियान पश्चात् मात्र नेपालव्यापी फैलन गएकोमा इतिहासकार एवं समाजशास्त्रीहरू एकमत छन् ।’

ब्राह्मणवादविरुद्ध जनजाति, उत्पीडित वर्ग (आर्य (बाहुन–क्षेत्री) जाति परिचयः पृष्ठ २)

आजबाट लगभग एउटा अध्यायमा बहस शुरू भएको छ । इतिहास निर्माण एक व्यक्तिको पहलबाट हुन सक्ला तर उ एक्लै सक्दैन । अन्य योगदान दिनेहरूको पनि कदर गरेर इतिहास पुनर्लेखन हुन जरुरी छ तर सधैं आङ्काजी शेर्पाहरूले कीर्तिपुरमा गएर ‘नाक काटिएको’ ठाउँ भन्दै थुक्नु नपरोस् ।

आङ्काजीले किन न थुकून् त ? इतिहास पढे । साँच्चिकै नाक काटिएको इतिहासलाई कसैले खण्डन गर्न सक्दैन भने सिल्भाँ लेभीले (‘नेपाल हिन्दू अधिराज्यको इतिहास (दोस्रो खण्ड) पृथ्वीनारायण शाह र गोरखा वंश–पृष्ठ १८७’) लेखेका छन्ः

‘पृथ्वीनारायण आफ्नो पूरा जत्था लिएर दरबारमा पसे । ३ जनै मल्ल राजाहरूलाई त्यहाँ देखेर पृथ्वीनारायण खित्का छोडी हाँस्न थाले । गम्भीर जयप्रकाशले पृथ्वीनारायणलाई भने, ‘आफ्ना नोकरहरूको धोकाले गर्दा सबै भयो, नत्र तिम्रो केही लाग्ने थिएन ।’ गोर्खालीहरू चुप भए । पृथ्वीनारायण आदर भाव देखाई रणजिततिर गए र उनलाई आफ्नो राज्य राख्न प्राथना गरे । रणजितले भगवान्को इच्छा यस्तै रहेछ अब मलाई परमेश्वरले वनारस जाने अनुमति दिनुभएको छ भनि जवाफ दिए । ७ भाइको देशद्रोही काम देख्दा उनी संसारबाट वाक्क भइसकेका थिए । उनी चन्द्रागिरि हुँदै भारत गए । चन्द्रागिरि डाँडाबाट एकचोटी आफ्नो राज्यपट्टि फर्केर हेरे र ७ बाहल्यहरूलाई र उनीहरूका सन्तानलाई पनि सराप दिए । अनि तुलजा, पशुपति र गृह्येश्वरीलाई नमस्कार गर्दै डाँडा ओर्लेर गंगातर्फ लागे । पृथ्वीनारायणले ७ देशद्रोहीहरूलाई जनताको सामु राखी उनीहरूको कर्तुत बयान गरे, नाक काटे र सम्पत्ति पनि सर्वस्व गरे ।’

यी अनेकन घटना इतिहास हुन् । जहाँबाट पाठ सिक्नुबाहेक अर्को विकल्प छैन । यतिखेर हिजो पृथ्वीनारायण शाहको एकीकरण गलत थियो भन्नेहरूको स्वर पनि सनहईको बिग्रेको पिपरा जस्तो भएको छ । न राग छ, न ताल छ । एक प्रकारको सन्नाटा छ । संयोग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गोर्खाली जनताले नै जिताए । उनको सशस्त्र संघर्षको पहिलो शहीद पनि दिलबहादुर रम्तेल गोरखाकै हुन् । 

२०६५ जेठ १५ गते गोरखा दरबार संग्रहालयलाई गणतन्त्र संग्रहालय बनाउने पार्टीको घोषणा थियो । उनको पीएओ रसद दुलाल थिए । उकालो चढेर रोट पोल्ने गेटनिर पुग्दा गोरखनाथका अनुयायीहरूसँग प्रचण्ड आमनेसामने भएका थिए । कान चिरेर ठूला सिसाका जस्ता रिङ्ग गोरखनाथहरूले लगाउने गर्छन् । किन हो त्यति कुरा सुन्न चाहेनन् ? प्रचण्ड अलिक हच्किए ।

कान चिरुवा गोरखनाथका अगुवासँग आमनेसामने

पृथ्वी नारायण शाहको शयन कक्ष

बरु उनी पृथ्वीनारायण शाहको शयन कक्ष, लडाइँमा प्रयोग भएका भरुवा बन्दुक, गोरखाबाट नुवाकोट हुँदै काठमाडौं कब्जाबारे संग्रहालयमा राखेका पेन्टिङ कलाहरू हेरे । उनले फ्यास्स हाँस्दै सिसाभित्र राखिएको पृथ्वीनारायण शाहको चिना हेर्दै भने, ‘सबैभन्दा लामो चिना पृथ्वीनारायण शाहको भनेको होइन ?’

पृग्वी नारायण शाहको लामो चिना हेर्दै प्रचण्ड

इतिहासलाई सिंहावलोकन गर्दा नेपाल बनेपछि प्रकृति २ पटक हल्लियो, ९० र ७२ सालको भूकम्पले । यी २ को हल्लाईबाट पुनर्निर्माण भयो । एकपटक पृथ्वीनारायण शाहले एकीकरण गर्दा नेपाल हल्लिएकै हो तर त्यतिबेला के कति निर्माण गरियो इतिहास अपूरो छ । माओवादीले भत्कायो । ध्वस्त पार्न सकेन तर भत्केको र चर्केकोलाई पूरा रूपले पुनर्निर्माण गर्न नसक्दा पुरातनशैलीको लयमा फर्किनु स्वाभाविक हो । यसकारण प्रचण्ड गणतन्त्र र ‘पृथ्वी जयन्ती पुनरागमन गराउने’ पहिलो प्रधानमन्त्री बन्न सफल भएका छन् । ३०१ औं पृथ्वी जयन्ती शुभम् ... ।

salt training

कमेन्ट गर्नुहोस्