०३ साउन २०८३, आइतबार

के छ सेनाले नियन्त्रणमा लिएका सहायक रथी प्रेम शाहीको अवस्था ?

माघ ८, २०७९
के छ सेनाले नियन्त्रणमा लिएका सहायक रथी प्रेम शाहीको अवस्था ?

नेपाली सेनाका सहायक रथी (जर्नेल) प्रेम शाही सैनिक हिरासतमा छन् । 

अवकाश थमाइएका जर्नेल शाहीलाई सेनाले आर्थिक अनियमितताको आरोपमा छानबिनका लागि भन्दै २० दिनदेखि नियन्त्रणमा राखेको हो । 

अहिले आम चासो छ, ‘सैनिक हिरासतमा रहेका उनको अवस्था कस्तो छ ? 

नेपाली सेनका प्रवक्ता सहायक रथी कृष्ण भण्डारी उनीमाथि छानबिन भइरहेको बताउँछन् ।

‘उहाँ (शाही) माथि छानबिन भइरहेको छ । छानबिन नसकिएकाले उहाँ हाम्रो नियन्त्रणमै हुनुहुन्छ,’ प्रवक्ता भण्डारीले भने । 

छानबिनकै क्रममा रहेकाले अहिले शाहीले आफ्नो कानूनी बचाउ गर्न पाएका छैनन् । छानबिन सकिएर मुद्दा प्रक्रियामा जाँदा कानून व्यवसायी राख्न पाउने प्रवक्ता भण्डारी बताउँछन् । 

‘अहिले छानबिनमा भएकाले कानून व्यवसायी राख्न पाउनुहुन्न, तर पछि भने सैनिक ऐनले पनि कानून व्यवसायी राख्न पाउने अधिकार दिएको छ,’ सहायक रथी भण्डारीले लोकान्तरसँग भने ।

तर, सामान्य प्रचलनमा भने सेनामा ‘कोर्ट अफ इन्क्वायरी’मा परेका कर्मचारीले कानून व्यवसायी राख्न पाउने गरेका छैनन् ।

पुस २० मा अवकाशमा जान लागेका शाहीले पुस ७ मा मात्र सर्वोच्चमा आफ्नो जन्ममिति २०२३ पुस २२ लाई कायम गर्न माग गर्दै रिट दायर गरेका थिए ।

सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले उनलाई तत्काल अवकाश नदिन अन्तरिम आदेश जारी गरेको थियो । मुद्दाको अन्तिम फैसलामा पनि सोही आधारमा आएमा उनले थप १ वर्ष जागिर खान पाउने थिए ।

सर्वोच्चको आदेशसहितको पत्र लिएर जङ्गी अड्डा पुगेका शाहीलाई सेनाले नियन्त्रणमा लिएको थियो । उजुरी परेकाले छानबिनका लागि नियन्त्रणमा लिइएको सेनाले जनाएको थियो ।

सेनाले आफ्नो अभिलेखमा २०२२ पुस २० गते जन्म मिति उल्लेख रहेको भन्दै जर्नेल शाहीलाई अवकाशको पत्र थमाएको थियो । सोही पत्रविरुद्ध शाही सर्वोच्च गएका थिए ।

शाहीलाई फौजमा शक्तिको दुरुपयोग गरेर आफ्नाविरोधी सैन्य अधिकारीहरूप्रति पूर्वाग्रह राखेको आरोप समेत सेनाले लगाएको छ ।

अनुसन्धानका लागि भन्दै सेनाले पुस २१ मा बूढानीलकण्ठ नगरपालिका– २, भंगालमा रहको शाहीको घरमा छापा समेत मारेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्