
साविक पश्चिमाञ्चलकै जेठो बुटवल बहुमुखी क्याम्पसका इतिहास विषयका प्राध्यापक प्रा.डा. सूर्यबहादुर जिसी हरेक दिन क्याम्पस पुग्छन् । तर, हाजिरी गरेर मात्र फर्किनु उनको दैनिकी बनेको छ ।
क्याम्पसमा इतिहास पढ्ने विद्यार्थी नहुँदा उनले पढाउन पाएका छैनन् । ४ वर्ष अगाडिसम्म त विद्यार्थी शून्य थिए । अहिले ‘ग्रेडिङ’ प्रणाली आएपछि ३/४ जना विद्यार्थी भर्ना भएका छन् । तीमध्ये कहिलेकाहीँ त कोही पनि आउँदैनन् । ७/८ वर्ष अघिसम्म उनले एउटा तहमा १ हजारभन्दा बढी विद्यार्थीसम्म पढाएका थिए ।
‘अहिले आंगिक क्याम्पसतर्फ विद्यार्थीको खडेरी जस्तै छ,’ प्रा.डा. जिसी भन्छन्, ‘अझै इतिहास, राजनीति शास्त्र, संस्कृति, भूगोलजस्ता विषय र समग्र मानविकी संकायतर्फ भर्ना शून्यजस्तै छ । बौद्धिक ज्ञान दिने विषय विद्यार्थीको रोजाइमा पर्न छाडे । फाइनान्सियल (आर्थिक) विषय विद्यार्थीको रोजाइमा छन् । अन्य विषय इतिहास बन्ने खतरा बढ्यो ।’
सेवानिवृत्त हुन एक वर्ष बाँकी रहेका प्रा.डा जिसीले थपे, ‘हामीलाई बौद्धिकहीनता भैरहेको छ । चाहेर पनि पढाउन पाएका छैनौं ।’
एकदशक अगाडिसम्म १२ हजार विद्यार्थी अध्ययन गर्ने क्यापसमा अहिले झण्डै ६ हजार विद्यार्थी मात्र भर्ना हुन्छन् । नियमित क्याम्पस जाने विद्यार्थीको संख्या त निकै न्यून छ ।

भैरहवा बहुमुखी क्याम्पसका सह–प्राध्यापक गणेश पाण्डेको समस्या पनि उही छ । क्याम्पसमा पढ्ने विद्यार्थी नभएपछि अवस्था यतिसम्म आएको थियो कि उनले प्राध्यापकका श्रीमतीहरू भर्ना गरेर भए पनि विद्यार्थीको संख्या बढाउने प्रस्ताव नै राखेका थिए ।
विद्यार्थी नहुँदा मानविकी संकायतर्फका प्राध्यापक पाण्डेले अहिले शिक्षा शास्त्र संकायमा पढाउन थालेका छन् । ‘त्रिभुवन विश्वविद्यालयको नीतिगत असफलताले देशको बौद्धिक ज्ञान खोक्रो भएको छ,’ पाण्डे भन्छन्, ‘अहिलको पढाइले जागिर त पाउलान्, तर राष्ट्रलाई आवश्यक पर्ने बौद्धिक ज्ञान भएको जनशक्ति शून्य जस्तै छ । ‘मास्टर’ पास छ, तर नेपालको सामान्य ज्ञान समेत विद्यार्थीमा छैन ।’
दुई/चार वर्ष अगाडिसम्म समाजशास्त्र तथा मानवशास्त्र र शिक्षाशास्त्र संकायतर्फ विद्यार्थीको चाप थियो । अहिले यी संकायमा विद्यार्थी न्यून छन् ।
इतिहास, भूगोल, राजनीतिशास्त्र र गृहविज्ञान जस्ता विषयमा विद्यार्थीको ज्ञान नहुँदा राष्ट्रियताप्रति नागरिकको चासो समेत हराउन थालेको पाण्डेको बुझाइ छ ।
भैरहवा क्याम्पसमा पनि विद्यार्थीको भर्नादर धेरै घटेको छ । क्याम्पसले पुराना विषयमा विद्यार्थी नभएपछि विद्यार्थी भर्ना लिन नै छाडेको छ ।
लुम्बिनी प्रदेशमा रहेका त्रिभुवन विश्वविद्यालय (त्रिवि) का पाँचवटा आंगिक क्याम्पसमा इतिहास, भूगोल, संस्कृति, नेपालीलगायतका विषयका प्राध्यापकले विगत ४/५ वर्षदेखि यस्तै दिनचर्या बिताइरहेका छन् ।
यी विषयमा अध्ययन गर्ने विद्यार्थी नभएपछि प्राध्यापकहरूलाई क्याम्पसमा दिन कटाउन पनि धौ–धौ परिरहेको छ ।

पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पस (टीएमसी)मा स्नातक र स्नातकोत्तर तहका विभिन्न विषयमा जम्मा २ हजार ६०० विद्यार्थी भर्ना भएका छन् । ब्याचलर र मास्टर डिग्रीमा मानविकी, व्यवस्थापन, विज्ञान र शिक्षा शास्त्र संकायमा विभिन्न विषयमा क्याम्पसमा पढाइ हुन्छ ।
क्याम्पस प्रमुख टंकप्रसाद भट्टराई निरन्तर विद्यार्थीको संख्या ओरालो लाग्दा खिन्नता महसूस हुने गरेको बताउँछन् । ‘टीयूले हरेक वर्षमा १० जनाभन्दा कम विद्यार्थी भए भर्ना नलिई अन्यत्र शिफ्ट गर्नु भन्छ,’ उनी भन्छन्, ‘सबै विषयमा विद्यार्थी संख्या त्यस्तै ८/१० जनाको रेसियोमा छ । क्याम्पस चलाउने कि विद्यार्थी अन्यत्र पठाउने, बडो समस्या भएको छ ।’
उनले थपे, ‘अहिले १२ पास गरेका विद्यार्थी नेपालमा पढ्नै नचाहेको देखिन्छ । क्याम्पसमा भन्दा विदेश पठाउने कन्सल्टेन्सी र इन्स्टिच्युटमा थामिनसक्नु भीड छ । यसले देश खोक्रो बन्दै गएको संकेत गरेको छ । यसतर्फ त्रिवि र राज्यले सोच्न सकेनन् । यसबाट देशले पछि ठूलो समस्या भोग्न बाध्य हुनेछ ।’
दशक अगाडिसम्म त्रिभुवन बहुमुखी क्याम्पसमा १० हजारसम्म विद्यार्थी पढ्थे । विद्यार्थीको अभाव भएपछि दाङ, बाँके लगायतका जिल्लामा रहेका त्रिविका क्याम्पसमा प्राध्यापकहरू कामविहीन हुँदैछन् ।
त्रिविको केन्द्रीय प्रशासनले विद्यार्थीको अभावका कारण प्राध्यापक तथा शिक्षकहरू कामबिहीन अवस्थामा आइपुगेमा विषयका आधारमा अन्य कार्यक्षेत्रमा समायोजन गर्न सकिने नीति बनाएको छ । तर, प्रभावकारी कार्ययोजना र राजनीतिक झमेलामा परी यो नीति प्रभावकारी हुन सकेको देखिँदैन ।
कामविहीन भए पनि प्राध्यापक तथा शिक्षकहरूले तलब सुविधा भने लिइरहेका छन् । क्याम्पसका प्राध्यापकहरूको तलब सुविधाको व्यवस्थापन त्रिवि केन्द्रीय प्रशासनले गर्छ ।
हाल प्राध्यापक, सहप्राध्यापक, उपप्राध्यापक र शिक्षक सहायकले क्रमशः सचिव, सहसचिव, उपसचिव र अधिकृत स्तरको तलब सुविधा पाउने गर्छन् । त्रिविले आफ्नो शैक्षिक क्यालेन्डर चुस्तदुरुस्त राख्न नसक्दा स्नातक पढ्न युवा विदेशिने गरेको विज्ञहरू बताउँछन् । प्राध्यापकहरूको दरबन्दी मिलान वा कटान गर्ने अधिकार आंगिक क्याम्पसलाई नभएको महेन्द्र बहुमुखी क्याम्पस दाङका क्याम्पस प्रमुख भरतराज न्यौपानेले लोकान्तरलाई बताए ।
‘क्याम्पसहरू कोरा सर्टिफिकेट मात्र दिने बन्दा विद्यार्थी सकिँदै गए,’ उनी भन्छन्, ‘हरेक पढाइ रोजगारीसँग जोडिएको हुन्छ । पुराना विषय पढ्ने धेरै भए रोजगार नहुँदा विद्यार्थीले पढ्न छाडे । अब त्रिविले हरेक विषय जोडिनुपर्छ । रोजगार छैन, उत्पादन धेरै भएपछि विद्यार्थी पढाइ छाडेर बाहिर जान थाले ।’

हरेक विषयको महत्त्वका हिसाबले कमी नभए पनि उत्पादन जनशक्तिलाई राज्यले ग्रहण गर्न नसक्दा अहिलेको अवस्था आएको हो ।
अहिले सकेसम्म अध्ययनको बहानामा विदेशिने तिरै अधिकांशको ध्यान छ । ‘एक समय अध्ययन गर्न निकै प्रतिस्पर्धा हुने विश्वविद्यालय र क्याम्पसमा कोटा पूरा हुन हम्मेहम्मे पर्नुले हाम्रो शैक्षिक जनशक्तिको पलायनलाई उदांगो पारेको छ,’ बुटवल बहुमुखी क्याम्पस प्रमुख डा. खिमानन्द न्यौपानेले लोकान्तरसँग भने ।
आंगिक क्याम्पसमा हरेक वर्ष १५ देखि २० प्रतिशतका दरले विद्यार्थी घटेका छन् ।
प्राविधिक धारका बाहेक अन्य विषय अहिले ओझेलमा पर्दै गएका छन् । सरकारले व्यवसायीकरण गर्न चुकेका कारण यी विषयप्रति विद्यार्थीको वितृष्णा जागेको संस्कृतिविद् समेत रहेका न्यौपानेको भनाइ छ ।
इतिहास, संस्कृति, भूगोल तथा राजनीति शास्त्र जस्ता विषयमा विद्यार्थी टिकाइराख्न यी विषयलाई व्यावसायिक बनाइएको छैन । त्यसैले विद्यार्थीहरू अन्य धारका विषयमा पलायन भएको देखिन्छ ।
पाठ्यक्रमको समयानुसार विकास नगरी पुरातनवादी सैद्धाान्तिक पाठ्यक्रममै आधारित अध्यापन भइरहेको छ । प्राविधिकबाहेक अन्य विषयको सिकाइ पनि सैद्धान्तिक मात्र नभई अनुसन्धानात्मक हुनुपर्ने हो । त्यसमा सरकारको लगानी नभएका कारण विद्यार्थीहरू यसपछि रुचि हराएको देखिन्छ ।
विद्यार्थीलाई सानैदेखि यी विषयमा रुचि जगाउने खालका कार्यक्रम नभएकाले यस्तो समस्या आएको हो । सामाजिक शिक्षाका रूपमा राखे पनि विषयगत रूपमा इतिहास, संस्कृति, भूगोल तथा राजनीति शास्त्रलाई पाठ्यक्रममा समावेश गर्न नसक्दा विद्यार्थीहरूको रुचि अन्य विषयतिर नै केन्द्रित हुने गरेको उनको भनाइ छ ।
हरेक वर्ष ३ लाख भन्दा बढी विद्यार्थी एसईई उत्तीर्ण हुन्छन् । तीमध्ये कक्षा ११ र १२ पास गरेपछि अधिकांशको पहिलो रोजाइ विदेश जानेमा हुन्छ । अन्तिममा केही नलागेपछि मात्र नेपालमा पढ्ने स्थिति आएको छ । यसले पनि त्रिविको शिक्षा अधोगतितर्फ धकेलिएको संकेत गर्छ ।
