
व्यापारीको अवरोधका कारण सर्लाहीको हरिवनमा शनिबार बजार अनुगमन प्रभावित भएको छ।
अवरोध भएपछि अनुगमन नै स्थगित भएको छ।
वीरगञ्जको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयबाट निमित्ति कार्यालय प्रमुख सुरेश रेग्मीको नेतृत्वमा अनुगमन टोली शनिबार बिहान सर्लाहीको हरिवन बजार आएको थियो। टोलीले बजार अनुगमन क्रममा हरिवन बजारका ४ वटा पसल अनुगमन गरेको थियो। ती चार वटै पसल अवैध रहेको पाइएपछि ५ हजार रुपैयाँका दरले जरिवाना गरिएको थियो।
तर जरिवानापछि असन्तुष्ट व्यापारीले पूर्वपश्चिम राजमार्गमा टायर बालेर प्रदर्शन गर्दै अनुगमनमा अवरोध गरेका थिए। बजारका व्यापारी पसल बन्द गरी सडकमा निस्किएर प्रदर्शन गर्न थालेपछि अनुगमन टोली अनुगमन नै रोकेर फर्किएको हो ।
अनुगमनमा इलाका प्रशासन कार्यालय हरिवनका निमित्त प्रमुख रञ्जित साह, उद्योग वाणिज्य संघ हरिवनका अध्यक्ष मोहनलाल श्रेष्ठसहित अन्य सरोकारवाला र सुरक्षाकर्मी खटिएका थिए ।
४ वटा पसलको अनुगमन सकेर पाँचौँ पसलमा जाँदा व्यापारीहरू प्रदर्शनमा उत्रिएका थिए।
व्यापारीहरूले कोरोनापछि व्यापार, व्यवसाय तङ्ग्रिन नपाउँदै अनुगमनको नाममा जरिवाना गराएर तर्साउने काम भएको बताए। अनुगमन टोली फर्किएपछि प्रहरीले आक्रोशित व्यापारीलाई सम्झाइबुझाई राजमार्ग सुचारु गराएको थियो ।
वीरगञ्जमा रहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले मधेश प्रदेशका ८ जिल्लासहित मकवानपुर र चितवन जिल्लाको बजार अनुगमन गर्ने जिम्मेवारी पाएको छ ।