०२ साउन २०८३, शनिबार
बिलखबन्दमा सत्ता गठबन्धन दल

निर्वाचन आयोगका कारण सत्ता गठबन्धनलाई तनावः उपराष्ट्रपति चिप्लने डरले तीन उम्मेदवार !

फागुन २७, २०७९
निर्वाचन आयोगका कारण सत्ता गठबन्धनलाई तनावः उपराष्ट्रपति चिप्लने डरले तीन उम्मेदवार !

निर्वाचन आयोगले उपराष्ट्रपति पुरुष हुन नसक्ने आशयको विज्ञप्ति जारी गरेपछि सत्ता गठबन्धनमा आबद्ध दललाई एउटा मात्रै उम्मेदवार अगाडि सार्न सकस परेको छ ।

उपराष्ट्रपतिमा उम्मेदवार मनोनयन गर्नुअघि बसेको सत्ता गठबन्धनको बैठकमा आयोगको व्याख्यामा एकरूपता नदेखिएपछि यसको कानुनी व्याख्यामा थप छलफल गर्ने तयारी भएको लोसपाका नेता शरतसिंह भण्डारीले जानकारी दिए । 

‘आज २ बजेसम्म उपराष्ट्रपतिमा उम्मेदवारी दिने समय छ । तर निर्वाचन आयोगले राष्ट्रपति पुरुष भएपछि उपराष्ट्रपति महिला हुनुपर्ने वा पुरुष नै भए पनि हुने भन्नेमा छिनछिनमा फरक व्याख्या गर्दा समस्या भयो’, भण्डारीले लोकान्तरसँग भने, ‘संविधानले राष्ट्रपति र उपराष्ट्रपति फरक फरक लिंग वा समुदायका हुने भनेको छ । तर आयोगले फरक व्याख्या गरेपछि यसको कानुनी व्याख्याबारे हामी छलफल गर्दैछौं । छलफलपछि दिउसोसम्म एउटा टुंगोमा पुग्छौं ।’

निर्वाचन आयोगको यही व्याख्यापछि एमालेले चलाखलीपूर्ण रूपमा अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएको छ ।

यसपछि सत्ता गठबन्धनका दल झन् अप्ठ्यारोमा परेका हुन् । निर्वाचन आयोगले पुरुष उम्मेदवारको मनोनयन दर्ता नगर्दा उपराष्ट्रपति नै चिप्लिन सक्ने डर सत्ता गठबन्धनमा देखिएको छ । यसैले उनीहरूले उपराष्ट्रपतिमा तीन जना उम्मेदवारलाई अगाडि सार्ने तयारी गरेका छन् ।

तीन उम्मेदवारले नै उम्मेदवारी दर्ता गरे पनि अन्तिममा एउटा मात्रै उम्मेदवारी कायम गरेर जाने पक्षमा सत्ता गठबन्धनमा आबद्ध दल पुगेका हुन् ।

‘अन्योलका बीच सत्ता गठबन्धनमा तीन जना उपराष्ट्रपतिको उम्मेदवारको प्रस्ताव आएको छ । महिला नै हुनुपर्ने भए एउटै मात्र अगाडि सार्छौँ’, भण्डारीले भने, ‘यसैले जनमतले ममता झा र जसपाबाट रामसहायप्रसाद यावद र अर्को एक जना महिला उम्मेदवारको नाम अगाडि सारेका छन् ।'

उम्मेदवारी दिनु अगावै कानुनी विषय टुंगिए एक जना मात्रै उम्मेदवार हुने नभए महिला नै उम्मेदवार कायम राख्न फरकफरक दलबाट फरक लिंगका उम्मेदवार अघि सार्न सत्ता गठबन्धनलाई बाध्यता आइलागेको हो । 

‘बैठकपछि जनमत पार्टीका अध्यक्ष सीके राउतले आफ्नो दलबाट ममता झा उम्मेदवार हुने र जसपाले पनि दुई जना उम्मेदवार उठाउने जानकारी दिए । 

‘१० दलको बैठक बस्यौं । उपराष्ट्रपतिको उम्मेदवारबारे छलफल  भयो । निर्वाचन आयोगले नै महिला उम्मेदवार उठाउनुपर्छ भनेको छ । हामीले पनि महिला उठाउनुपर्छ भनेपछि रिस्क नलिने भएका हौं ।  निर्वाचन आयोगले संविधानको ३८ (४) लाई कोट गरेको छ’, राउतले भने, ‘राष्ट्रपति पुरुष भएपछि उपराष्ट्रपति महिला हुनुपर्छ भनेको छ । यसैले जनमतले ममता झालाई उम्मेदवार बनाउँछ । उम्मेदवार दर्ता गर्छ । जसपाले पनि दुई जनालाई उम्मेदवार बनाउने कुरा छ । भोलिसम्ममा यसबाट निष्कर्ष निस्केर एउटा मात्रै उम्मेदवार कायम हुनेछ ।’

के भनेका छ आयोगले ? 

आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै नवनिर्वाचित राष्ट्रपतिको लिंग वा समुदायभन्दा फरक हुने गरी उपराष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिएको थियो ।

‘उपराष्ट्रपति पदको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ताका सन्दर्भमा उम्मेदवारको योग्यताबारे थप स्पष्टतासहित नवनिर्वाचित सम्माननीय राष्ट्रपतिको लिंग वा समुदायभन्दा फरक हुने गरी उपराष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको छ,’ आयोगले विज्ञप्ति जारी गर्दै भनेको छ ।

तर एउटै विज्ञप्तिमा थप व्याख्या गर्दै फरक समुदायको हुन सक्ने आशयको व्याख्या पनि आयोगले गर्दा दलहरूलाई अप्ठ्यारो परेको हो ।

‘संविधानले राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग वा समुदायको हुनुपर्छ भनेको छ । यस्तोमा अब दलहरूले खस आर्यभन्दा फरक लिंग (महिला वा अन्य) वा फरक समुदायका रुपमा दलित, आदिवासी जनजाति, मधेशी, थारू वा मुस्लिम समुदायका व्यक्तिको मनोनयनपत्र मात्र आयोगले दर्ता गर्नेछ,’ आयोगले थप व्याख्या गर्दै भनेको थियो ।

संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपति फरकफरक लिंग वा समुदायको हुने व्याख्या गर्दै भनेको छ– ‘यस संविधानबमोजिम राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक फरक लिंग वा समुदायको प्रतिनिधित्व हने गरी गरी गर्नुपर्नेछ ।’

बिहीबार राष्ट्रपतिमा खस आर्यका पुरुष रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका थिए । 

संविधानमा भएको व्यवस्थालाई अन्योलपूर्ण देखाउँदै आयोगले विवादास्पद व्याख्या गरेपछि दलहरू अन्योलमा देखिएका हुन् ।

यता सत्ता गठबन्धनका तर्फबाट जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने तयारी थियो ।

तर आयोगले व्याख्यापछि उपराष्ट्रपतिको उम्मेदवार महिला नै बनाउनुपर्ने  हो कि धर्मसंकटमा दलहरू पुगेका हुन् ।

यादवलाई उपराष्ट्रपति बनाएपछि उनले जितेको बारा २ बाट जसपाका अध्यक्ष उपेन्द्र यादव उपचुनाव लडेर आउन तयारीमा लागेका छन् । तर महिला नै उम्मेदवार  उठाउनुपर्ने अवस्था आए यादवको महत्वकांक्षा पूरा नहुने देखिएको छ ।

यादव गत निर्वाचनमा सप्तरीबाट राउतसँग पराजित भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्