
चितवन जिल्लाका २ पालिकामा १३९ अपाङ्गता भएका बालबालिका विद्यालय बाहिर छन् ।
समावेशी शिक्षा परियोजनाले आइतवार आयोजना गरेको सञ्चारकर्मीसँग छलफलका क्रममा तथ्यांक सार्वजनिक गरिएको हो ।
भरतपुर महानगरपालिका र कालिका नगरपालिकामा रहेका २८९ अपाङ्ग बालबालिकामध्ये १३९ विद्यालय जान नपाएका हुन् । भरतपुरमा अपाङ्गता भएका बालबालिका १०२ र कालिकामा ३७ विद्यालय बाहिर छन् ।
भरतपुरभित्र ५० र कालिकामा १९ बालबालिका जटिल प्रकारको अपाङ्गता भएको पाइएको कार्यक्रममा राष्ट्रिय बहिरा महासंघकी शर्मिला तामाङले जानकारी दिइन् । उनीहरूलाई घरमा नै गएर सेवा दिइँदै आएको उनले बताइन् ।
इन क्लुसिभ फिउर्चस परियोजनाले २ पालिकामा २ वटा स्रोत केन्द्र सञ्चालन गर्दै आएको छ । भरतपुरको बालकुमारी माध्यमिक विद्यालय र कालिकाको रेडक्रस चोकमा केन्द्र सञ्चालन गर्दै आएको छ । भरतपुरमा अहिले ३ र कालिकामा ९ बालबालिका केन्द्रमा छन् ।
अटिजम केयर चितवन सोसाइटीकी प्रमिला न्यौपानले जिल्लामा अटिजम भएका ५०० भन्दा बढी बालबालिकाका अभिभावक सम्पर्कमा आएका जानकारी दिइन् । उनीहरूमध्ये ३०० हाराहारी भरतपुरभित्रका छन् ।
विश्वमा जन्मिने ४४ बालबालिकामध्ये १ जनामा अटिजमको समस्या देखिने गरेको उनले जानकारी दिइन् । भरतपुरले सञ्चालन गरेको अटिजम विद्यालयमा अहिले ३१ बालबालिका अध्ययन गर्दै आएका छन् ।