०३ साउन २०८३, आइतबार
धादिङ अदालतका फैसला

बलात्कारका आरोपितलाई धमाधम ‘क्लीन चिट’, २५ मुद्दामा फैसला हुँदा १६ मा सफाइ​ !

चैत ९, २०७९
बलात्कारका आरोपितलाई धमाधम ‘क्लीन चिट’, २५ मुद्दामा फैसला हुँदा १६ मा सफाइ​ !

जबरजस्ती करणीजस्तो गम्भीर फौजदारी मुद्दामा अभियुक्तले सफाइ पाउने सम्भावना ज्यादै कम हुन्छ ।

सामान्यतः मुद्दाका तथ्य र प्रमाणको मूल्यांकन गर्दा करीब दुईतिहाइ अभियुक्तमाथि कसुर ठहर हुने फैसला आउने गरेको छ । 

तर, धादिङ जिल्ला अदालतको फैसलालाई हेर्ने हो भने बलात्कारका करीब ७० प्रतिशत मुद्दामा प्रतिवादीलाई सफाइ दिएको पाइएको छ । 

आर्थिक वर्ष २०७९/०८० को माघ मसान्तसम्म जबरजस्ती करणीका १४ वटा मुद्दामा अभियुक्तलाई सफाइ दिइएको छ भने जम्मा ८ वटा मुद्दामा मात्रै कसुर ठहर गरिएको छ ।

माघ मसान्तसम्मको अवस्था हेर्दा बलात्कार तथा बलात्कार प्रयासको मुद्दा सङ्ख्या र कसुर कायम तथा सफाइको लगत हेर्दा करीब आधा–आधाजस्तै देखिए पनि फागुन महिना लागेपछि भने बलात्कार र बलात्कार प्रयासका कसुरमा मुछिएका धेरैले धमाधम सफाइ पाउन थालेका छन् ।

फागुनदेखि चैत ३ गतेसम्मको तथ्यांक हेर्दा ११ वटा मुद्दामा आदेश वा फैसला हुँदा सबैमा प्रतिवादीलाई सफाइ दिइएको छ ।

फागुन ३ गते पेशीमा चढेको हाडनाताको जबरजस्ती करणीसम्बन्धी मुद्दामा १५ महिना जेल बसेका अभियुक्तलाई बाल यौन दुराचारमा परिणत गरी बलात्कारको कसुरबाट ‘सफाइ’ दिइएको छ । त्यसैगरी सोही दिन भएको अर्को फैसलामा पनि २२ महिना जेल बसेका प्रतिवादीलाई यौन दुर्व्यवहारमा परिणत गर्दै ‘सहुलियत’ दिइएको छ । 

फागुन १० गते भएको बलात्कारका एक अभियुक्तसँग जम्मा १० हजार धरौटी माग गरी तारेखमा छाडिएको छ । 

त्यसपछि फागुन ११ गते भएको फैसलामा इलाका प्रहरी कार्यालय खानीखोलाका इन्स्पेक्टर अपूर्व ढुंगानालाई सफाइ दिइएको छ ।

प्रहरी कार्यालयभित्रै एक महिला प्रहरी जवानमाथि बलात्कारको प्रयास गरेको भनी आरोप लागेका ढुंगानालाई अदालतले ‘क्लीन चिट’ दिएको छ ।

सोही दिनको अर्को एक फैसलामा पनि हाडनातामा जबरजस्ती करणी गरेको अभियोगमा प्रतिवादीलाई साधारण तारेखमै छाडिएको छ । 

त्यसैगरी फागुन १७ गते भएको फैसलामा पनि बलात्कारको कसुरमा थुनामा रहेका प्रतिवादीलाई सफाइ दिइएको छ । कृष्णबहादुर गुरुङ प्रतिवादी रहेको जबरजस्ती करणी मुद्दामा ‘दाबी नपुग्ने’ फैसला गरिएको छ । 

त्यसपछि फागुन २८ गते भएको दुईवटा फैसलामा पनि प्रतिवादीलाई सफाइ दिइएको छ । ७ महिनादेखि थुनामा रहेका कृपेश सिलवाल प्रतिवादी रहेको जबरजस्ती करणीको मुद्दामा दाबी नपुग्ने भन्दै अभियुक्तलाई सफाइ दिइएको छ । सोही दिनको अर्को फैसलामा जबरजस्ती करणी उद्योगबाट प्रतिवादी मीनबहादुर गुरुङलाई सफाइ दिइएको छ ।

त्यसको भोलिपल्ट अर्थात् फागुन २९ गते आदेशमा बाल यौन दुराचारका प्रतिवादीलाई धरौटीमा छाडिएको छ । चन्द्रमान श्रेष्ठ प्रतिवादी रहेको बाल यौन दुराचारको मुद्दामा प्रतिवादीसँग धरौटी माग गरी छाडिएको छ । 

त्यसैगरी फागुन ३० गतेको फैसलामा ६ महिनादेखि थुनामा रहेका प्रतिवादीलाई जबरजस्ती करणी मुद्दाबाट सफाइ दिइएको छ । असोज ७ गते दर्ता भएको प्रतिवादी परिवर्तित नाम धादिङ २४(२१८) ०७९/८० रहेको जबरजस्ती करणी मुद्दामा अभियोग दाबी नपुग्ने भन्दै अभियुक्तलाई सफाइ दिइएको छ । 

त्यसैगरी चैत महिना लागेपछि भएको एउटा फैसलामा पनि प्रतिवादीलाई सफाइ दिइएको छ । चैत १ गते भएको फैसलामा प्रतिवादी जीतबहादुर तामाङले बलात्कारको मुद्दाबाट सफाइ पाएका छन् । करीब ७ महिनादेखि थुनामा रहेका तामाङलाई अदालतले दाबी नपुग्ने भन्दै सफाइ दिएको छ ।

धादिङ जिल्ला अदालतमा पछिल्लो समय फैसला भएका जबरजस्ती करणीका अधिकांश मुद्दामा प्रतिवादीले सफाइ पाएका छन् । 

फागुन महिना लागेपछि जबरजस्ती करणी र गम्भीर फौजदारी कसुरका आरोपितले धमाधम सफाइ वा सजायमा छुट पाउन थालेका हुन् । 

हेर्नुहोस्, तथ्यांक :

null

salt training

कमेन्ट गर्नुहोस्