२७ जेठ २०८३, बुधबार

चैतेदशैंमा सोमेश्वरगढी र गोद्धकमा भक्तजनको घुइँचो

चैतेदशैंमा सोमेश्वरगढी र गोद्धकमा भक्तजनको घुइँचो

चितवनका धार्मिक तथा पर्यटकीयस्थल विक्रमबाबा, सोमेश्वरगढी र गोद्धकमा बुधवार बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैंको अवसरमा यी शक्तिपीठमा भक्तजनको घुइँचो लागेको हो । 

चैतेदेशैंको नवरात्र शुरू भएदेखि नै यहाँ नेपालका विभिन्न जिल्ला र भारतबाट समेत भक्तजन आएका छन् । हरेक वर्ष चैतेदशैंमा मनाइने विक्रमबाबा मेला १ हप्ताअघिदेखि शुरू भएको हो ।

भरतपुर महानगरपालिका–२३ को कार्यालय, निकुञ्ज प्रशासन, निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र पूजा व्यवस्थापन समितिले विक्रमबाबाको मन्दिरमा १ हप्ताअघि पूजा गरेपछि मेला शुरू भएको थियो ।

भरतपुर महानगरको वडा नम्बर २३ का वडाध्यक्ष दीपक दबाडीका अनुसार मेला चैत २३ गतेसम्म सञ्चालन हुनेछ । उनले यस वर्ष हजारौं भक्तजन विक्रमबाबा मेलामा आएको बताए ।

राप्ती पुलबाट करीब २ किलोमिटर निकुञ्जभित्र विक्रमबाबाको दर्शन तथा पूजापाठ गर्ने गरिन्छ । विक्रमबाबाको पूजा परापूर्वकालदेखि थारू जातिले गर्ने भए पनि पछिल्लो समय सबै समुदायले पूजा गर्न थालेका छन् । सन्तान प्राप्ति र सुखलगायत मनोकांक्षा पूरा हुने विश्वासका साथ विक्रमबाबाको पूजा गर्ने प्रचलन छ ।

माडीको गोद्धक मेलामा पनि भक्तजनको घुइँचो लागेको छ । धार्मिक एवं पुरातात्विक महत्त्व बोकेको माडी नगरपालिका–१ मा रहेको गोद्धकमा गोद्धक राम चरित्रकथा यज्ञ एवं गोद्धक मेला १ हप्ताअघिदेखि शुरू भएको हो । चैत १७ गतेसम्म मेलासँगै यज्ञ सञ्चालन हुनेछ । 

मेलामा गुरु चैतन्य कृष्णले राम कथावाचन गरेका छन् । यज्ञसँगै गोद्धक मेलामा हरेक दिन सांस्कृतिक कार्यक्रम, ठेलो फाल्ने प्रतियोगिता, भलिबल प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ । गोद्धक क्षेत्र विकास संस्थाका अध्यक्ष तुलसिंह गुरुङले यहाँ रहेका ४ धामको अवलोकन गरी धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यले मेला आयोजना गरिएको बताए ।

गोद्धक क्षेत्रबारे महाभारत तथा रामायणमा रोचक कथा समेटिएका छन् । यहाँ गोद्धकनाथ बाबा मन्दिर, शिवमन्दिर, सीता गुफा, परशुराम कुण्ड, द्रौपती कुण्ड, कुकुरनाथ, बिरालोनाथ लगायत प्राचीन एवं धार्मिक महत्त्व बोकेका ठाउँ गोद्धक क्षेत्रमा प्रशस्तै छन् । गोद्धकमा पाँचपाण्डवले तपस्या गर्थे भन्ने विश्वास छ । 

प्राचीन किंवदन्तीअनुसार यहाँ परशुरामले तपस्या गरेका थिए । परशुराम ऋषिले आफ्नै आमाको हत्या गरेर पाप मोक्ष (पाप पखाल्न) गर्न गोद्धक क्षेत्रमा रहेको देउता खोलाको सिरानको कुण्ड (परशुराम कुण्ड)मा पुगी स्नान गरेकोे धार्मिक विश्वास रहेको छ । धार्मिक पुरातात्विक महत्वका मूर्ति, इनार, कुण्ड अवलोकन गर्न र विशेष पर्वमा मठमन्दिरमा स्वदेशी तथा विदेशी भक्तजनको घुइँचो लाग्ने गर्छ ।

माडीको सोमेश्वरगढीस्थित कालिका मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । कालिका मन्दिरमा प्रत्येक वर्ष चैत शुक्ल प्रतिपदादेखि चैत शुक्ल नवमीसम्म विशेष पूजाआजासहित भव्य मेला लाग्ने गर्छ । नेपाल र भारतको सीमाक्षेत्रमा रहेको सो मन्दिर परिसरमा हरेक वर्ष चैतेदशैंको अवसर पारेर हुने मेलामा ९ दिनसम्म पूजाआजा हुने परम्परा छ ।

मेलामा पूजा गर्न दैनिक दशौं हजारको संख्यामा नेपाली र भारतीय भक्तजन आउने गरेका छन् ।

सोमेश्वरगढी पुग्ने पर्यटक तथा भक्तजनको सहजतालाई मध्यनजर गर्दै माडी नगरपालिकाका निर्माण साधन प्रयोग गरी सडकको मर्मत गरिएको र मन्दिरस्थल सरसफाइ, पिउने पानीको व्यवस्था र अन्य आधारभूत काम गरिएको सोमेश्वर क्षेत्र पूजा व्यवस्थापन समितिका अध्यक्ष पीताम्बर पोखरेलले बताए । उनले यस वर्ष भारतबाट हजारौं भक्तजन सोमेश्वरमा आएका बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले घोषणा गरेको १०० पर्यटकीय गन्तव्यस्थलमध्ये चितवनको सोमेश्वरगढी पनि एक हो ।

salt training

कमेन्ट गर्नुहोस्