०५ साउन २०८३, मंगलबार
राष्ट्रिय ध्वजावाहकको हविगत

वायुसेवा निगमको खस्किँदो छवि : नेतृत्वकै लापरवाहीले एकपछि अर्को गल्ती

चैत १७, २०७९
वायुसेवा निगमको खस्किँदो छवि : नेतृत्वकै लापरवाहीले एकपछि अर्को गल्ती
फाइल फोटो

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नेतृत्वबाट भएको गम्भीर लापरवाहीका कारण मंगलवारदेखि मलेसिया उडान प्रभावित बन्न पुग्यो । 

यात्रुहरूले टिकट काटिसकेको अवस्थामा नियमित उडान हुन नसकेपछि निगमले मंगलवारदेखि शनिवारसम्म चारवटा चार्टर उडान गर्न सोमवार अनुमति मागेको थियो ।

यात्रुले दुःख पाउने भएपछि हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले चार्टर उडानको अनुमति त दियो, सँगै निगमलाई स्पष्टीकरण पनि सोधियो ।

निगम नेतृत्वकै लापरवाही र गैरजिम्मेवारीका कारण काठमाडौं–मलेसिया नियमित उडान रोकिन पुगेको देखिन्छ ।

निगमले समयमा नै मलेसियाको नागरिक उड्डयन प्राधिकरणबाट फरेन एयर अपरेटर सर्टिफिकेट (एफएओसी) नवीकरण नगराएका कारण नियमित उडान हुन नसकेको हो ।

समयमा नै प्रक्रिया पूरा गरेर एफएओसी नवीकरण नगराउँदा मंगलवारपछिका सबै उडान ठप्प हुने अवस्था आयो । निगमले यो प्रक्रिया ६ महिनाअगाडि नै पूरा गरिसक्नुपर्ने देखिएको छ ।

निगमले कोरोनालाई कारण देखाएर ढिलासुस्तीको आरोपबाट उन्मुक्ति पाउन खोजेको छ ।

प्राधिकरण स्रोतका अनुसार मलेसियाको नागरिक उड्डयन प्राधिकरणले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई सम्पर्क गरेर एफएओसी नवीकरण गर्न पटक–पटक ताकेता गरेको पाइएको छ ।

तर, उनले प्रमाणपत्र नवीकरण गर्न ढिलासुस्ती गर्दा उडान रोकिने अवस्था आयो ।

एक साता अगाडि मात्र एमएओसी नवीकरणको प्रक्रिया शुरू गरेको थियो । प्रक्रिया पूरा हुन समय लाग्दा उडान प्रभावित बन्न पुगेको हो ।

निगमले २२ सय रिंगेट खर्चिएर प्रक्रिया अगाडि बढाए पनि अन्तिम डेटलाइन ‘मंगलवार’सम्ममा प्रक्रिया पूरा हुन सकेन ।

नेपाल र मलेसिया दुवैले सातामा २८ वटा उडान गर्न पाउने हवाई सम्झौता छ ।

निगमले हाल सातामा ५ उडान गर्दै आइरहेको थियो । तर, सोमवारपछि एफएओसी नवीकरण नभएका कारण काठमाडौं–क्वालालमपुर–काठमाडौं नियमित उडान अवरुद्ध भएको छ ।

निगमको कमजोरीका कारण चार्टर उडान गर्नुपर्दा नियमितभन्दा ५० प्रतिशत महंगो पर्न गयो ।

शेड्युल उडान दुई देशको हवाई सम्झौताअनुसार हुने गर्छ । दुवै देशको हवाई उड्डयन प्राधिकरणले एरोनटिकल चार्जमा छुट दिएको पनि हुन्छ । चार्टर उडान गर्दा भने हवाई सेवा सम्झौता आकर्षित नहुने र जुनसकुकै देशको वायुसेवाले जुनसुकै बेला उडान गर्न सक्ने प्रावधान हुन्छ ।

चार्टर उडान गर्दा प्रक्रिया लामो हुने, पूर्ण डकुमेन्ट हरेक उडानमा समावेश गरेर छुट्टाछुट्टै अनुमति लिनुपर्ने हुन्छ । चार्टर उडानमाजस्तो ६ महिनासम्मका लागि एकैपटक अनुमति पाउने व्यवस्था हुँदैन । जसले गर्दा वायुसेवाले अतिरिक्त शुल्क तिर्नुपर्ने नागरिक उड्डयन प्राधिरकणको भनाइ छ । 

चार्टर उडान गर्दा पहिले नै शुल्क बुझाउनुपर्ने हुन्छ । साथै पटके निर्णय, लामो प्रक्रिया आदिका कारण ५० प्रतिशत महंगो पर्न जान्छ । वायुसेवा निगमले शेड्युल उडानका यात्रुलाई चार्टरमा लैजाँदा अतिरिक्त शुल्क लिन पाउँदैन । पहिले नै टिकट काटिसकेको यात्रु भएकाले अतिरिक्त शुल्क लिन नमिल्ने र सेवा दिनैपर्ने बाध्यताले गर्दा सम्बन्धित वायुसेवालाई घाटा हुने स्थिति आउँछ ।

निगम नेतृत्वको कमजोरी कारण यात्रुलाई सास्ती नहोस् भनेर मात्रै प्राधिकरणले चार्टर उडानको अनुमति दिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।

नेपाल वायुसेवा निगमका सहप्रवक्ता गणेशकुमार घिमिरेले भने निगमकै कमजोरीले सेड्युल उडानको तालिका नवीकरण हुन नसकेको स्वीकार गरे ।

उनले भने, ‘हवाई उडानमा सानोतिनो कमजोरी भइरहन्छ । नियमित प्रक्रिया पूरा गर्दागर्दै मलेसियाबाट अनुमति नआउँदा एक साताका लागि ४ वटा चार्टर उडान गरेर यात्रुलाई सेवा दिन खोजिएको हो ।’

घिमिरेका अनुसार काम गर्दागर्दै भएको कमजोरीले शेड्युल उडान प्रभावित हुने भएपछि चार्टर उडानको अनुमति मागिएको हो । निगमले चार्टर उडानको अनुमति पाइसकेको भएपनि मंगलवारै मलेसियाले नियमति उडान स्वीकृत गरेकाले अब भोलिपल्टबाट शेड्युल उडान सम्भव भएको उनको दाबी छ ।

घिमिरेले यात्रुबाट अतिरिक्त शुल्क नलिई, नियमित समयमा नै उडान गरेकाले केही फरक नपरेको जिकिर गरे । ‘हवाई उडानमा दैनिक काममा आउने समस्या र यसको समाधान भइरहने विषय हो । सानोतिनो समस्या भएपनि प्राधिकरणले मिडियाबाजी गरेका कारण ठूलो इस्यु बनेको जस्तो देखिएको हो,’ उनले भने ।

पटक–पटक गल्ती

वायुसेवा निगमले एक पछि अर्को गल्ती गर्दा हवाई उडानमा नै नकारात्मक छवि प्रवाह भइरहेको छ । हवाई उडानमा चलखेल हुने, विभिन्न काण्ड बाहिरिने तथा पटक–पटक विवादमा आउने गरेका कारण निगमको छवि राम्रो छैन । त्यसमा पनि जहाज थप गर्न नसक्ने, यात्रुलाई सेवा दिने कुरामा कमजोरी गर्ने, भएकै सेवा प्रभावकारी ढंगले दिन नसक्ने स्थितिका कारण निगमको छवि झन् धमिलो हुँदै गएको छ । 

६ चैतमा ताप्लेजुङबाट काठमाडौं उडान गरेको निगमकै जहाजमा तोकिएको भन्दा बढी तौल राखेको पाइएको थियो । उक्त उडानमा पुरुष यात्रुलाई महिला उल्लेख गरेको समेत पाइएको थियो । तौल बढी भएको विषय खोजी गर्दा पुरुषलाई महिला बनाएर यात्रा गराएको पाइएपछि नागरिक उड्यन प्राधिकरणले कारबाही प्रक्रिया अगाडि बढाएको थियो ।

उक्त घटनामा प्राधिकरणले चालक दलका सदस्य, परिचारिका, ताप्लेजुङ विमानस्थलका स्टेसन प्रमुख र काठमाडौं विमानस्थलमा खटिएका निगमका कर्मचारीसहित ७ जनालाई ग्राउन्डेड गरी अनुसन्धान थालेको  छ । यसको अनुसन्धान नसकिएकाले कारबाहीमा परेका चालक दलको निलम्बन फुकुवा भएको छैन ।

४ चैतमा निगमकै एक वाइडबडी जहाजको दाँयातर्फको ढोका खुला राखेको भन्दै निगमका दुईजना एरोनटिकल इन्जिनीयर निलम्बनमा परे । उक्त जहाजका दुई इन्जिनीयरलाई अर्को सूचना नभएसम्म काम गर्न नपाउने र वायुसेवा कम्पनीले सोको विषयमा अध्ययन रिपोर्ट दिनुपर्ने निर्णय उड्डयन प्राधिकरणले गरेको छ । यो विषयमा पनि अहिलेसम्म निर्णय नभएकाले इन्जिनीयर निलम्बनमै छन् । 

यसअघि १२ फागुनमा नेपाल वायुसेवा निगमका पाइलटले आकाशमै विमान परिचारिका (एयर होस्टेस)लाई काखमा राखेर ल्याएको पाइएपछि दुई पाइलट निलम्बनमा परे । दुबईबाट काठमाडौं आउँदै गरेको जहाजको चालक दलका सदस्यले आकाशमै एयर होस्टेसलाई दुव्र्यवहार गरेको उजुरी परेपछि निलम्बनमा राखिएको हो । उनीहरूका विषयमा निगमले थप अध्ययन गरेर प्रतिवेदन नदिएसम्म कुनै निर्णय नहुने प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । 

दुई साता अगाडि काठमाडौंबाट दिल्ली उडानका क्रममा निगमकै कर्मचारीले एक उच्च सरकारी कर्मचारीको ब्यागेज फुटाएको घटना बाहिरिएको थियो । निगम यो घटनामा जिम्मेवारी लिनुको साटो यात्रुले सामान धेरै खाँदेर ब्यागेज फुटेको प्रतिक्रिया दिएर पन्छियो ।

दुई साता अगाडि मात्रै वायुसेवा निगमकै कार्यकारी अध्यक्ष युवराज अधिकारीले नै उड्डयन प्राधिकरणले विमानस्थल क्षेत्रभित्र तोकेको नियम पालना नगरेको भन्दै स्पष्टीकरण सोधेको थियो । प्राधिकरणका अनुसार अधिकारीले निषेधित क्षेत्रमा सुरक्षा ज्याकेट नलगाएको र पास समेत नभएको पाइएपछि उनीमाथि स्पष्टीकरण सोधिएको हो । 

सरकारी कम्पनी निगमका कर्मचारी नै एकतर्फ जिम्मेवार नहुने अर्कातिर राजनीतिक हस्ताक्षेपको केन्द्र बन्ने गरेका कारण पटक–पटक विवादमा पनि आउने गरेको छ । निगमका कर्मचारी जिम्मेवार हुन नसक्दा र नेतृत्वले जिम्मेवारी लिन नसक्दा एक पछि अर्को कमजोरी छताछुल्ल हुने गरेको छ ।

सानातिना कमजोरी भइरहन्छ, सुधार गर्दै जाने हो– अधिकारी

वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी भने उड्डयमा सानातिनो कमजोरी हुनुलाई स्वभाविक रूपमा लिनुपर्ने तर्क गर्छन् । निगमले तालुक मन्त्रालयसँग समन्वय गरेर काम गरिरहेको उनको भनाइ छ । आन्तरिक उडानमा जहाज थप गर्ने, चिनियाँ जहाज बिक्री गर्ने, जहाजको किस्ता तिर्ने, दीर्घकालीन योजना बनाएर काम अगाडि बढाउने तयारी भइरहेको उनको भनाइ छ ।

अधिकारीले निगमका तर्फबाट कुनै कमजोरी नभएको जिकिर गर्दै प्रश्न उठेका आन्तरिक तथा प्राविधिक विषयको मूल्यांकन भइरहेको बताए । ‘नियमित उडान हुन नसक्दा चार्टर उडानको अनुमति लिनु, उडानका दौरानमा केही सानातिना घटना हुनु र नियामकले सचेत गराउनु सामान्य विषय हो । यस्ता घटनालाई निगमको गैरजिम्मेवारी भन्न मिल्दैन,’ अधिकारीले जिकिर गरे ।

निगमले उडान गर्न छोडेको करीब ३ वर्षसम्म चिनियाँ जहाज न भाडामा लगाउन सक्यो न त बिक्री गर्न नै । दुईपटक भाडामा लगाउने प्रयास गरेर थाती राखेको ५ चिनियाँ जहाज बिक्री गर्न भर्खर मूल्यांकन गराउँदै छ । निगमले गरेको ढिलाइ र निर्णय क्षमताको अभावले जहाजको मूल्य घट्दै गइरहेको छ । जति ढिलो गरेर निर्णय गर्‍यो उति नै जहाजको मूल्यांकन कम हुन्छ । यसमा पनि निगम नेतृत्वकै कमजोरी रहेको पर्यटन मन्त्रालयका एक उच्च अधिकारीले बताए । मन्त्रालयले जहाज उडाउने, भाडामा लगाउने वा बेच्ने जिम्मेवारी करीब ३ अगाडि नै निगमलाई दिएको थियो ।

तर, निगमले यस विषयमा समयमै जिम्मेवारी पूरा नगर्दा घाटा चुलिँदो छ ।

salt training

कमेन्ट गर्नुहोस्