
रामेछाप जिल्ला चिनाउने पुस्तक बजारमा आएको छ।
रामेछापका थातथलोका कथाहरूमा पुस्तौंदेखि चल्दै आएका रीतिरिवाज र सुनिँदै र भनिँदै आएका प्राचीन कहानीहरूलाई समेटेर पहिलोपटक पुस्तकको रूप दिइएको छ ।
पूर्वसांसद तथा नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य देवशंकर पौडेलले संकलन गरेका प्राचीन कुराहरूको सँगालोलाई पुस्तकका रूपमा प्रकाशन गरिएको हो ।
‘थातथलोका कथाहरू’ नाम दिइएको पुस्तकको शुक्रबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सार्वजनिक गर्दै परापूर्वदेखि चल्दै आएका प्रचलन र थातथलोहरूबारे भावी पुस्तालाई जानकारी दिन यस्ता संकलन ऐतिहासिक दस्तावेज हुने बताए ।

रामेछाप जिल्लाका ६४ वटै वडामा रहेको अधिकांश सबै टोल र बस्तीहरूमा पुग्ने एकमात्र नेताका रुपमा चिनिँदै आएका पौडेलले राजनीतिक जीवनमा जिल्लाका अधिकांश स्थानमा पुगेर पुराना कुराहरू उधिनेर नयाँ जानकारी संकलन गरेका थिए । पौडेलले पुस्तकमा विभिन्न गाउँमा पुग्दा त्यस समयका बुढापाकाहरूसँगको कुराकानी र खोज अनुसन्धानबाट प्राप्त भएका ऐतिहासिक जानकारीहरूलाई संकलन गरेर राखेका थिए ।
कतिपय जानकारी नयाँ पुस्ताको जानकारीका लागि उनले आफ्नो फेसबुक वालमा सार्वजनिकसमेत गर्दै आएका थिए । पुस्तकमा विभिन्न गाउँ तथा टोलको नाम कसरी रहन गए भन्नेदेखि विभिन्न जातिहरूको उत्पत्ति र पलायनसम्मका जानकारी समेटिएको छ ।
लेखक पौडेलले भावी पुस्ताका लागि जानकारी होस् भनेर आफूले सकेसम्म सही जानकारीहरू समेटेर पुस्तकमा समावेश गरेको बताए । नेपाल एक्सप्लोर्स मिडिया प्रालिले प्रकाशन गरेको सो पुस्तकमा रामेछाप जिल्लाभित्रका विभिन्न ठाउँको नाम कसरी रहन गयो भन्ने जानकारी बढी समेटिएको छ ।