२६ जेठ २०८३, मंगलबार

आजदेखि भक्तपुरमा बिस्का यात्रा मनाइँदै

आजदेखि भक्तपुरमा बिस्का यात्रा मनाइँदै
फाइल फोटो

तान्त्रिक विधिबाट ८ रात, ९ दिन मनाइने भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्त्व रहेको बिस्का जात्रा आजदेखि शुरू हुँदैछ ।

जात्रालाई शान्तिपूर्ण, मर्यादित र सुरक्षित ढंगले मनाउने सन्देश प्रवाह गर्दै आइतवार भक्तपुरमा सद्भाव र्‍याली आयोजना गरिएको छ । 

भक्तपुरमा आजदेखि शुरू हुने बिस्का जात्रालाई ढुंगा हानाहान नगरी शान्तिपूर्ण रूपमा भव्यसँग मनाउने सन्देश प्रवाह गर्दै आइतवार दत्तात्रय इनाय टोल र दूधपाटीबाट एकैसाथ शुरू भएको र्‍याली पाँचतले मन्दिर प्रांगण तौमढीमा पुगेर सभामा परिणत भएको थियो । 

‘बिस्केट जात्रा शान्तिपूर्ण रूपमा मनाऔं’ भन्ने नारा लगाउँदै भएको र्‍यालीमा सांसद प्रेम सुवाल, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, सहायक प्रजिअ माधवप्रसाद शर्मा, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, विभिन्न विद्यालय एवं क्याम्पसका विद्यार्थी, नेपाल स्काउट, क्लब, सहकारी, विभिन्न संघसंस्थाका सयौं व्यक्ति सहभागी र्‍याली तौमढी पुगेको थियो । 

सद्भाव सभामा सांसद सुवालले विश्व प्रसिद्ध यो जात्रालाई विकृतिरहित ढंगले शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आह्वान गर्दै जात्रालाई भड्किलो नबनाई मितव्ययिता बनाउन आग्रह गरेका छन् ।

भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिले बिस्का जात्रा भक्तपुरको गौरव बोकेको जात्रा भएको बताउँदै जात्राबारे सबैलाई जानकारी दिन स्थानीय पाठ्यक्रम निर्माण गरी भक्तपुरका ९२ वटै विद्यालयहरूमा यसको पढाइ भएको बताए ।

कार्यक्रममा भक्तपुरका प्रजिअ रिजालले बिस्का जात्रा भक्तपुरवासी र नेपालकै पहिचान र गौरव बोकेको जात्राका रूपमा रहेकाले यसलाई शान्तिपूर्ण बनाउन सबैले हातेमालो गर्नु आवश्यक रहेको बताए । उनले जात्रामा हुने अवाञ्छित र उच्छृंखल गतिविधिमाथि सीसी क्यामेराबाट निगरानी गरी कारबाही गरिने स्पष्ट पारेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्